छिमेकी मित्रराष्ट्र चीनको वुहानबाट गत डिसेम्वरमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमणको महामारीले विश्वव्यापी रुप लिएको छ । यो संक्रमणले महाशक्तिशाली राष्टूहरु चीन, अमेरिका, इटली, स्पेन, फ्रान्स, बेलायत, इरान जस्ता विकसित लगायत २०२ देशहरुलाई आतँकित तुल्याइरहेकोछ । विश्व स्वास्थ्य संगठनले हरेक चौविस घण्टामा सार्वजनिक गरिरहेको विश्वभरको ताजा तथ्याङ्क हेर्ने हो भने सोमवार विहानसम्म कोरोना संक्रमित संख्या २१ लाख २१ हजार ६७५ पुगेको छ भने एक लाख ४२ हजार २९९ जना मानिसले ज्यान गुमाइसकेका छन् भने ५ लाख ७९ हजार २१२ जना निको भएर घर फर्केका छन् ।
यस्तो अवस्थामा दक्षिण एशियाको सानो, विपन्न र पिछडिएको मुलुक नेपाल यो समस्याबाट अछुट रहने कुरै भएन । स्वास्थ्य सेवा लगायत सम्पूर्ण सुविधा सम्पन्न अत्यन्तै विकसित देशका नागरिकले त कोरोना कोभिड–१९ को संक्रमणबाट मुक्त हुन गा¥हो भइरहेको अवस्था छ । यो संक्रमण फैलियो भने स्वास्थ्य सेवामा पर्याप्त पहुँच नभएको, विपन्न, चेतनाको कमि भएको देश नेपालको के हालत होला ? अनुमान पनि लगाउन गा¥हो छ । यद्यपि अहिलेसम्म कोरोना पोजेटिभ देखिएका व्यक्तिका परिवारको नमूना परीक्षण गर्दा सबैको नेगेटिभ देखिएको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले आज सोमवार विहानसम्म देशभर देखिएको संक्रमणको शंकास्पद ८ हजार ८१ जनाको स्वाव परीक्षण गर्दा ८ हजार ५० जनाको नेगेटिभ आएको देखाएकोछ भने ३१ जना पोजेटिभ देखिएकोमा ४ जना निको भएर घर फर्किएका छन् । देशभर २७ जना आइसोलेसनमा उपचाररत छन् र उनीहरुको अवस्था सुधारोन्मुख छ भने १०३ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म यो संक्रमणबाट मृत्यू हुनेको संख्या शून्य रहेको छ । हाम्रो लागि यो सुखद पक्ष हो । तर, ढुक्क भएर सुरक्षित छौं भन्ने अवस्था भने अवश्य छैन ।
पूर्व सतर्कता, सरकार र स्थानीय सरकारको तयारी तथा व्यवस्थापन ः
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकालको घोषणा गरेपछि मात्र नेपाल सरकारले चैत्र ११, २०७६ देखि एक साताको लागि गरेको देशभर लक डाउनको घोषणालाई निरन्तरता दिंदै यही वैशाख १५ गतेसम्मको लागि थपेकोछ । अझ कति थपिंदै जाने हो कसैले पनि अनुमान गर्न सक्ने अवस्था छैन । सरकारले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आव्हान गरेको छ ।
प्रदेश नं. ५ सरकारको अग्रसरतामा खजुरा स्थित नेपाल क्यान्सर अस्पताल र नेपालगन्ज स्थित लायन्स क्लव डेन्टल अस्पताललाई सुविधा सम्पन्न आइसोलेसन वार्ड बनाइएको छ । महेन्द्र बहुमुखी क्याम्पस र गाउँपालिकाहरुमा आआफ्नै ढङ्गबाट क्वारेन्टाइनको व्यवस्था गरिएका छन् । नेपालगन्ज उपमहानगरपालिका, स्थानीय प्रहरी प्रशासन र नेपाली सेनाको पहलमा नेपाल भारत सिमानाको जमुनाहा नजिकको दश गजामा अस्थाई क्वारेन्टाइनको व्यवस्था गरेर भारतबाट आउने नेपालीहरुलाई राखेर खानपानको समेत व्यवस्था गरिएको छ । भारतबाट आएका १८३ जना नेपालीहरु दशगजामै अलपत्र गरेपछि अस्थाई रुपमा बनाइएको क्यारेन्टाइनको समाचारले राष्ट्रिय अखवारहरुमा प्रमुखता पायो । अर्कोतिर १४ दिनको क्यारेन्टाइनमा बस्नु पर्ने वाध्यता पश्चात् नेपालगन्ज उपमहानगरपालिकाको पहलमा सम्बन्धित जिल्लामा पठाउने अन्तिम तयारीमा गृह मन्त्रालयले रोकेको कारण आन्दोलित भएको घटना पनि सबैजसो छापा माध्यमहरुमा प्रमुख समाचार बन्न पुग्यो ।
छिमेकी मुलुक भारत लगायत संक्रमित मुलुकहरुमा स्थिति नियन्त्रणमा आउन नसकेको देखेर सरकारले लक डाउनको समय थप्दै गएको छ । अप्रेल १५ सम्मका लागि सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ । नेपालका सबै आन्तरिक उडानहरु र सार्वजनिक यातायात बन्द छन् । सडकमा मात्र एम्बुलेन्स, खानेपानी लगायतका दैनिक उपभोग्य वस्तुहरु ओसार्ने गाडी, रेक्साहरु गुडीरहेका छन् । आकाशमा नेपाली सेना र राष्टिूय ध्वजावाहक नेपाल एयर लाइन्सका विमान मात्र अत्यावश्यक कामका लागि उडिरहेका छन् । नीजि विमानहरु सबै बन्द छन् । सबै किसिका सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्था, उद्योग व्यवसाय, स्कुल कलेज र विश्वविद्यालय बन्द छन् । साना ठुला नीजि अस्पताल र स्वास्थ्य संस्थाहरु बन्द गरिएकाछन् ।
अवरुद्ध सञ्चारमाध्यम ः
अपवादको रुपमा औंलामा गन्न सकिने बाहेक धेरैजसो राष्टिूय स्तरका समाचार पत्र र सबै स्थानीय अखवारहरु बन्द छन् । नेपालगन्जमा कान्तिपुर, अन्नपूर्ण दैनिकले पेज घटाएर भए पनि आफ्ना प्रकाशन र वितरणलाई सुचारु गरेका छन् । स्थानीय अखवारको सन्दर्भमा सबैको प्रकाशन बन्द थिए । तर, बाँकेको पत्रकारितामा अलग पहिचान बनाउन सफल र प्रदेश नं. ५ को अगुवा अखवारको रुपमा पहिचान दिने प्रयासमा रहेको रंगीन कलेवर र ठुलो आकारमा प्रकाशित हुने दैनिक नेपालगन्जले श्याम स्वेतमा भएपनि वैशाख ७ गते आइतवारदेखि प्रकाशन शुरु गरेको छ भने कोहलपुरबाट प्रकाशित हुने मिसन टू डे लकडाउनको अवधिमा ३÷४ अङ्क बजारमा देखियो । तर, अरु प्रकाशनहरु भने बन्द नै छन् । विद्युतीय सञ्चार माध्यमहरु रेडियो, टेलिभीजन र अनलाइन खबरहरु भने सुचारु छन् । जनशक्ति बढी नचाहिने र एक्लै पनि सञ्चालन गर्न सकिने भएर पनि अनलाइन न्यूज पोर्टलहरुले सुरक्षाका उपायहरु अपनाएर भए पनि दैनिक समाचार सम्प्रेषण गरिरहेका छन् । उनीहरुले यस्तो जोखिमपूर्ण अवस्थामा पनि जनतालाई सुसूचित गर्ने आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
सचेतनाको लागि पहल ः
महामारीको चपेटामा नराम्ररी फसेको बेला सही सूचनाको प्रवाहले महत्वपूर्ण काम गरेको हुन्छ । सचेतनाको अभावले सर्वसाधारण नागरिकले आफुलाई बढी असुरक्षित महसुस गरिरहेका हुन्छन् । सरकारले आफ्ना नागरिकको रक्षाका लागि सकेसम्मको प्रयास गरिरहेको छ । लक डाउनमा घर भित्रै बस्न र सुरक्षित रहन चेतनामूलक सन्देशहरु प्रसारण गर्दैछ । सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकम र टेलिफोन मोवाइल सेवा प्रदायक संस्थाहरुले त हरेक व्यक्तिले प्रयोग गर्ने मोवाइल र टेलिफोनको रिङ टोनमै सचेतनामूलक सन्देश राखेको छ । यसले पनि नागरिकलाई आधारभूत सतर्कता अपनाउन सचेत गराएको छ । विद्युतीय सञ्चारमाध्यम, अनलाइन न्यूज र सामाजिक सञ्जालहरुमा गीत, म्यूजिक भिडियो आदि मार्फत् सचेतनामूलक, उत्साहवद्र्धक र सकारात्मक सन्देशहरु प्रसारण भइरहेका छन् ।
सर्वसाधारण नागरिक र मजदुरहरुले भोग्नु परेको समस्या ः
विश्वव्यापी रुपमा व्याप्त र त्रस्त बनाइरहेको महामारीले दैनिक मजदुरी गरेर साँझ विहानको छाक टार्ने वर्ग सबभन्दा बढी मारमा परिरहेका छन् । उनीहरुलाई रोग लाग्नु भन्दा आफु र आफ्नो परिवारको भोक कसरी मेटाउने भन्ने चिन्ता बढी छ । गरीब मजदुरसंग दैनिक उपभोग्य वस्तुहरु किन्नका लागि पैसा पनि त छैन । सर्वसाधारण नागरिक र मजदुरहरुले भोग्नु परेको समस्याको समाधानका लागि सरकार र स्थानीय तहले सक्दो प्रयास त गर्दैछन् । तर, सीमित साधन स्रोत भएको देशमा यस्को उचित मापदण्डको अभावमा र व्यवस्थापन गर्न पनि त्यति सजिलो छैन ।
चिकित्साकर्मी बाहेक नेपालीहरुले स्यानिटाइज र मास्क कहिल्यै प्रयोग गर्न जानेनन् । स्यानिटाइजर र मास्क त विपन्न समुदायका लागि टाढाको कुरा हो । नेपाली बजारमा स्यानिटाइजर र मास्क समेत पर्याप्त मात्रामा उपलब्ध छैनन् । भएका पसलेहरुले पनि बढी मूल्यमा विक्री गरेका समाचार बाहिर आइरहेका छन् । यस्तो अवस्थामा मध्यम वर्गीय नागरिकका लागि पनि जीवन धान्न कठिन छ ।
राहत वितरण र सस्तो लोकप्रियताको शौख ः
स्थानीय तहमा रहेका वडा कार्यालयहरुले दैनिक उपभोग्य वस्तुहरु वडामै उपलब्ध गराउने योजना बनाएर वितरण गरिरहेका छन् । त्यो पनि त्यति सन्तोषजनक रुपमा देखिएको छैन । कतिपय वडामा त वडावासीहरुले ताला नै लगाइ दिएर असन्तोष व्यक्त गरेका छन् । लक डाउन कति दिन लम्बिने हो थाहा छैन । सँधै निःशुल्क उपलब्ध गराउनका लागि पनि कसरी र कहाँबाट उपलब्ध गराउने ? संघीय सरकारले खाद्यान्न पर्याप्त भण्डारण गरिएको छ भने तापनि केन्द्र र स्थानीय तहसम्म उपलब्ध गराउने र त्यसको वितरण प्रणाली भने सून्य छ ।
राहत विरतरणको नाममा स्थनीय स्तरमा सस्तो लोकप्रियता कमाउनकै लागि खानै नमिल्ने कुहिएको खाद्यान्न वितरण गरिएको, २÷४ किलो चामल, १०÷२० वटा मास्क र स्यानीटाइजर वितरण गरेर फोटो खिच्ने र सामाजिक सञ्जालमा प्रचार गर्ने जस्ता सस्तो लोकप्रियता कमाउने शौखिनहरु पनि देखिएका छन् । यसरी सस्तो लोकप्रियताकै लागि राहत वितरण गरेको फोटो नखिच्न राप्ती सोनारी गाउँपालिकाले त सूचना नै जारी गर्यो ।
खुल्ला सिमानाले निम्त्याएको समस्या ः
दक्षिणको खुल्ला सिमानासंग जोडिएको देश नेपालबाट हुने निर्वाध आवागमनले नेपाल झन् जोखिममा छ । हामी त्यसैमा हामी बढी चिन्तित छौं । लक डाउन गरेको एक सातासम्म त भारतबाट दैनिक हजारौं र सयौंको संख्यामा आफ्नो घर जान नेपालगन्जको नाकाबाट भित्रिए । आजभोलि पनि नेपालीहरु फाटफुट आइरहेका छन् । उनीहरुलाई प्रहरी प्रशासनले रेस्क्यू गर्देछ ।
कतिपय नागरिकलाई सिधै क्वारेन्टाइनमा राखिएको छ । नेपालगन्ज नाकाबाट मात्रै शुरुको एक सातामा झण्डै ५० हजार नेपाली भारतबाट घर आएका छ्न् । उनिहरु प्रदेश नं. ५ र कर्णाली प्रदेशका गाउँ(गाउँ पसेका छ्न् । हाम्रो लागि यो पनि कोरोनाको अति जोखिम स्थिति हो । यति मात्र होइन, नेपाली त आफ्ना घरमा फर्किने नै भए । घरमा आएर आफ्नै परिवारसंग बस्नका लागि स्वदेश फर्कनु स्वाभाविक हो । तर, भारतीय नागरिकहरु नेपालमा आफ्ना नातेदारहरुलाई खोज्दै नेपाल आउनु अर्को ठुलो समस्याको रुपमा देखिएको छ ।
अदूरदर्शी राजनीतिले थपिएको बोझ ः
नेपालमा माओवादीको सशस्त्र द्वन्द पछि राजनीतिक दलहरुको दवावमा भारतीय मूलका करीब ४२ लाख जनालाई नयाँ नागरिकता वितरण गरियो । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना पछि बनेको अन्तरिम संविधानले नैं यो सुविधा उपलब्ध गराएको थियो । यो संख्यामा करीब १२ लाख पुस्तौंदेखि बसेका भारतीय मूलका नागरिकहरु पनि पर्छन् । तर, बाँकी सबै नागरिकता वितरणको उदार नीतिका कारण भारतीयहरुले मौकाको फाइदा उठाएर नागरिकता लिएका छन् ।
१७०० किलोमीटर लामो खुल्ला सिमानासंग जोडिएको तराई क्षेत्रमा करीब ३० लाख जना गैरनागरिकले नागरिकता लिन सफल भएका थिए । भोटको राजनीति र राजनीतिक स्वार्थसंग जोडिएकोले नेपालका अधिकाँश राजनीतिक दलहरुले उनीहरुलाई साथ दिएका थिए । भविष्यमा देशले भोग्नु पर्ने नकारात्मक परिणाम र बोक्नु पर्ने बोझको बारेमा उनीहरुको ध्यान गएन ।
नीति निर्माणको तह र निर्णायक भूमिकामा रहेका राजनीति दलहरुको अदूरदर्शीताले पनि राष्टूले ठुलो समस्या भोग्नु परिरहेको हुन्छ । हामी नेपालीसंग यसका लागि पश्चाताप गर्नु भन्दा अर्को विकल्प छैन । अहिलेको विषम परिस्थितिमा यो पनि एकदमै ठुलो चुनौती र समस्या हो ।
यद्यपि नेपाल र भारतका नागरिक वीच युगौंदेखि स्थापित साँस्कृतिक, वैवाहिक र पारिवारिक सम्बन्ध भएकै कारण पनि नातेदारहरुको आवागमन सहज रुपमा हुनु स्वाभाविक हो । हरेक दृष्टिकोणबाट सुरक्षित हुने विश्वासमा पनि उनीहरु नेपाल आउन रुचाउँछन् । यसरी निर्वाध रुपमा विदेशीलाई नागरिकता दिन स्वर्गीय राजा वीरेन्द्र कठोर भएका थिए । र संसद्मा पेश गरिएको विधेयक पनि फिर्ता गरिएको थियो ।
मन्दिर र मस्जीद पनि बन्द ः
धर्म र धार्मिक आस्थासंग जोडिने कतिपय सवालमा एकार्का वीच ठुला(ठुला विवाद, झैझगडा र द्वन्द्व हुने गर्दछ हाम्रो समाजमा । तर सद्भावको शहरको रुपमा आफ्नो पहिचान बनाउँदै आएको पश्चिम नेपालको प्राचीन शहर नेपालगन्जमा लकडाउनको बेला विभिन्न धर्मावलम्वीहरुले राम्रो नमूना प्रस्तुत गरेका छन् । वास्तवमा भनिन्छ, सबै धर्मको एउटै उद्देश्य हो मानव कल्याण र विश्व कल्याण । नागरिकको जीवन रक्षाको लागि सरकारद्वारा गरिएको लकडाउनको घोषणा प्रति उनीहरुले ऐक्यवद्धता जनायो ।
नेपालगन्ज स्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको मूल द्वारामा ताला नै लगाइएको छ । दैनिक हजारौं दर्शनार्थी र विशेष गरेर वडा दशैं र चैते दशैको नौ दिनसम्म नेपाल र भारतका हजारौं श्रद्धालु भक्तजनको घुइँचो लाग्ने प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर लकडाउनका कारण सुनसान रह्यो । नित्य पूजापाठ र सरसफाई बाहेक भक्तजनहरुबाट गरिने पूजा आराधना र धार्मिक गतिविधिहरु बन्द गरिएका छन् ।
यस्तै इस्लाम धर्मावलम्वीहरुले आफ्नो धार्मिक केन्द्रमारहेको मस्जीदमा दैनिक रुपमा गरिने सामूहिक नमाज घर भित्रै सीमित राखेका छन् । दारुल उलुम फैजुन्नव, जामा मस्जिद ईदगाह संचालक समितिले गत चैत्र १३ गते अपिल नै जारी सरकारले गरेको लकडाउनको पालना गरेर कोरोना भाइरस संक्रमणबाट बच्नका लागि घरघरमा बसेर नमाज गढ्न आग्रह गरेको थियो । सोही अनुसार दिनको पाँच पटकसम्म नमाज पढ्ने उनीहरुले घरमै नमाज पढेर मानव रक्षा अभियानमा साथ दिएका छन् ।
इसाई धर्मावलम्वीहरुले पनि हरेक चर्चमा भेला भएर गरिने सामूहिक प्रार्थनाको परम्परालाई तोड्दै कोरोनाबाट बच्न र बचाउने काम गरेका छन् भने वौद्ध धर्मावलम्वीहरुले पनि आफ्नो धार्मिक आस्थाको केन्द्र गुम्वामा जमघट हुने, पूजा आराधना गर्ने कामलाई स्थगन गरेका छन् ।
चेतनाको कमिले झन् ठुलो समस्या र जोखिम ः
सरकारले घोषणा गरेको लकडाउन नागरिकको सुरक्षाको लागि हो । तर, चेतनाको कमिको कारण अत्यावश्यक वस्तुको किनमेलका लागि साँझ प्रशासनबाट खुकुलो गरिने समयमा भीडभाड हुने गरेका छन् । दिनभर सडकमा सन्नाटा छाएपनि मानिसहरु साँझ भने सडकमा विभिन्न बहानामा हिंडडुल गर्छन् । तरकारी बजार र खाद्यान्नका पसलहरुमा बढी भीड हुने गरेको छ । यो संक्रमणबाट बच्नका लागि एक मात्र विकल्प सामाजिक दुरी कायम राख्नु र घर भित्रै बस्नु नै हो । चेतनाको कमिकै कारण यस्तो दृश्य देखिन्छन् यहाँ । शुरुमा नेपालगन्जमा पनि यस्तो दृश्य देखियो । यसरी लकडाउन उल्लँघन हुन थालेपछि प्रहरी प्रशासनले कडाई गर्न थालेको छ । तापनि यो कडाई नागरिककै जीवन रक्षाका लागि हो भन्ने बुझ्दैनन् । नेपालगन्ज र तराईका बजारमा यस्तो समस्या बढी देखिनुले जोखिम अझै बढीरहेकोछ ।
अन्यौलपूर्ण भविष्य ः
कोरोना भाइरसको संक्रमणबाट यसबेला केही मुलुकलाई अपवादको रुपमा छोडेर विश्वका सबैजसो मुलुक प्रभावित भएका छन् । सम्भावित संक्रमणबाट नागरिकको जीवन रक्षाका लागि अहिलेको अवस्थामा लकडाउन (घर भित्रै बस्नु) को विकल्प छैन । सबैले यसको परिपालना गर्नु अनिवार्य छ । तर, लकडाउनले गर्दा मानिसको भौतिक उपस्थिति अनिवार्य हुने आर्थिक गतिविधिहरू अवरुद्ध भएका छन् ।
नेपाल जस्तो विकोसोन्मुख मुलुकको समग्र अर्थतन्त्र र जनजीविकालाई दीर्घकालीन असर पार्ने निश्चित छ । यो अवस्था लम्बिंदै गयो भने नेपालीहरुको कहालीलाग्दो भविष्यको बारेमा कल्पना समेत गर्न असम्भव छ । तर, यसबारे पर्याप्त चर्चा र बहस जरुरी छ । नयाँ ज्ञान र सूचनाको आधारमा कृषि क्षेत्र, कृषिजन्य उद्योग, औद्योगिक व्यवसायलाई बचाउन र अघि बढाउन संघीय, प्रान्तीय र स्थानीय सरकारबाट दीर्घकालीन गुरु योजना तर्जूमा गर्नु आवश्यक देखिन्छ । नागरिक समाजको पनि दवावमूलक भूमिका आवश्यक छ ।
आज देशमा व्याप्त अनिश्चिततालाई चिर्दै भोलिको बाटो समाउनु आवश्यक छ । अनेकौं चिन्ता, शंका उपशंका र अन्यौलताले ग्रस्त आजको अवस्थामा राष्टिूय आर्थिक जीवन र ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन कठिन परिश्रम त गर्नै पर्छ । दीर्घकालीन मार्ग चित्र त कोर्नै पर्छ । राज्यले नागरिकलाई भोलिको आशाको उज्यालो किरणको भरोसायुक्त सन्देश दिनु पर्दछ ।
जेहोस्,विश्वकै इतिहासमा कोराना जस्तो अदृश्य शक्ति माथि विजय हाँसिल गर्नका लागि अत्यावश्यक काम बाहेकको समय घर भित्रै बसेर, सामाजिक दुरी कायम गरेर आफु बाँचौं, परिवारलाई बचाऔं र सम्पूर्ण मानव जातिलाई बचाउन योगदान दिनुको विकल्प छैनभन्ने कुरालाई मनन् र संकल्प गरौं । ०००








