सरकारले गत चैत्र ११ गते देखि लकडाउन गरेको छ । लकडाउनका कारण आपूर्ति व्यवस्था असहज बनेको छ । जसको प्रत्यक्ष प्रभाव बजारमा देखिन थालेको छ । लामो समयदेखि चलेको लकडाउनका कारण नेपालगन्जमा मालसामानको मूल्य वृद्धि भएको छ । सरकार लकडाउन सुरु हुँदा नै आपूर्ति सहज बनाउन घुम्ति तथा सुपथ पसलहरु सञ्चालन गर्ने निर्णय गरेपनि बाँकेमा भने कार्यान्वयनमा नै आएन ।
गृह मन्त्रालयले भने लकडाउनको अवधीमा जनताका घरघरमै आपूर्ति हुने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । उक्त निर्णय जिल्लामा भने कार्यान्वयनमा आएको छैन । ‘जिल्लामा कुनै सुपथ मूल्यका पसल सञ्चालनमा आएका छैनन्’, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का भन्छन्, ‘खाद्यान्नका पसल भने सञ्चालनमा रहेका छन् ।’
अनलाइनमार्फत् अर्डर लिएर ‘डेलिभरी भ्यान’बाट घर–घरमै आपूर्ति गर्न गृहले भनेको थियो । सरकारले पटक–पटक आपूर्ति व्यवस्थापन सहज बनाउने दाबी गर्दै आएको छ । तर, सामान पाइए पनि महंगी भने बढेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पटक–पटक ९ महिनालाई पुग्ने खाद्यान्न तथा नुन र तीन महिना बढीलाई पुग्ने दाल तथा तेलहनलगायतका वस्तु मौज्दात रहेको दाबी गर्दै आएको छ । तर, ती खाद्य सामग्री उपभोक्तासम्म भने सही मूल्यमा पुग्न सकेका छैनन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडको मोबाइल भ्यानबाट अत्यावश्यक वस्तुको ढुवानी गर्ने निर्णय भएको थियो । तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जका प्रमुख भरत खनियाँले त्यस अनुसारको परिपत्र कम्पनीमा नआएको बताउँछन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जका प्रमुख भरत खनियाँ चामल कम भएका ठाउँमा पठाउने काम भैरहेको बताउँछन् । ‘स्थानीय तहबाट माग भए अनुसारको चामल उपलब्ध गराइरहेका छौं’, उनले भने, ‘त्यसका लागि मूल्य भने केन्द्रले तोकेर पठाएको छ ।’
कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ हुँदा बजारमा तरकारी, फलफूल तथा खाद्यान्नको मूल्य वृद्धि भएको छ । व्यवसायीले तरकारी र फलफूल धेरै नभित्रिएको तथा ढुवानी खर्च बढी लागेको जनाउँदै यसको मूल्य बढाएका हुन् । ‘लकडाउन’ जारी रहँदा नेपालगन्जमा चामल, दाललगायतका खाद्यान्न पनि तोकिएको भन्दा बढी मूल्यमा बिक्री हुन थालेको हो ।
पर्याप्त अनुगमन नगरेकाले व्यवसायीले ताकिएको भन्दा बढी मूल्यमा खाद्यान्न बेच्ने गरेका हुन् । खुद्रा व्यवसायीहरुले थोक मूल्यमा नै सामानको मूल्य बढेपछि आफुहरुले बढाउन बाध्य भएको बताएका छन् । आपूर्ति सहज अवस्थामा नरहेकाले पनि खाद्यान्नको मूल्य मनपरी बढिरहेको हो ।
साँझ र बिहानको समयमा मात्रै खाद्यान्न पसल खुल्दा बजारमा यी समयमा भीडभाड हुने गरेको छ । व्यापारीलाई मास्क, पञ्जालगायतका स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गर्न र दूरी कायम गरेर मात्रै सामान दिन भनिए पनि पूर्णरुपमा पालना भइरहेको पाइँदैन । त्यसैले साँझमा हुने भीडलाई कम गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबारदेखि साँझ ४ बजेपछि औषधी बाहेकका पसल सञ्चालनमा रोक लगाएको छ ।
बजारमा अहिले तरकारी र फलफूल नपाउने समस्याभन्दा पनि महँगो पर्नु उपभोक्ताका लागि समस्या भएको हो । नेपालगन्जमा खाद्यान्न चामल, चिनी, दाल, तेलमा प्रति केजी लिटर ५ रुपैयाँ देखि १० रुपैयाँ सम्म वृद्धि भएको छ ।
खुद्रा किराना पसलहरुले थोक बिक्रेताले मूल्य बढाएकाले आफुहरुले पनि बढाएर बेच्न बाध्य भएको बताउँछन् । सूर्तीजन्य तथा मादक पदार्थको मूल्य पनि आकाशिएको छ । ‘खरिद गर्न पाइँदैन, किन्न पाएपनि महंगो मूल्य तिर्नुपरिरहेको छ’, एक व्यवसायीले भने ।
बजार अनुगमनका क्रममा बजारमा तरकारी र खाद्य बस्तुको सहज आपूर्ति भैरहेकोले मुल्य सामान्य रहेको दाबी बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्यालले गरेका छन् ।
लकडाउन अवधीमा अनुगमनका क्रममा रानीतलाउ स्थित तरकारी मण्डीमा तरकारी प्रशस्त आपूर्ति भैरहेको अनुगमन समितिले जनाएको छ । रानीतलाउ स्थित कृषि उपज बजार संचालक समिति रानीतलाउले प्रतिदिन तरकारीको मुल्य तोक्ने गरेको जनाएको छ । समितिले उपरोक्त मुल्य तोकेको भएता पनि बजारमा माग भन्दा आपूर्ति बढी भैरहेको र तरकारी अपेक्षाकृत बिक्रि नभएकाले थोक ब्यापारीहरु यस भन्दा कम मुल्यमा बिक्रि गर्नु परेको बताएका छन् । तर, बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको अवस्था छ । ‘प्रत्येक तरकारीमा प्रतिकेजी ५ देखि २० रुपैयाँ सम्म मूल्य बढेको छ’, रश्मि चौधरी भन्छिन् ।
भारत र नेपालका बिभिन्न भागबाट नियमित रुपमा तरकारी आपूर्ति भैरहेको र सब्जीमण्डीमा ठुलो मात्रामा तरकारी मौज्दात रहेको पाइएकोले सस्तोमा तरकारी बिक्री बितरण गर्ने ब्यवस्था मिलाउनु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
बजारमा तरकारीको मुल्य बढेको भन्ने जनगुनासो आए पछि नेपालगन्ज नगरपालिकामा अन्तरगत रहेको उपभोक्ता हित संरक्षण समितिको बैठकले तरकारी ब्यापारीलाई बोलाई अनिवार्य रुपमा मुल्य सुचि राखेर गुणस्तरिय तरकारी बिक्रि बितरण गर्ने र प्रत्येक दिनको मुल्य सुचि नेपालगन्ज नगरपालिकालाई उपलब्ध गराउन आदेश दिएको थियो । सो बमोजिम रानीतलाउ सब्जीमण्डीले तरकारीको मुल्य पठाउने गरको नगरपालिकाका वरिष्ठ अधिकृत शरद पौडेलले जानकारी दिए ।
मासुको मूल्यमा पनि मनपरी भएको छ । गाउँमा नुनको मूल्य समेत बढेको पाइन्छ । ‘बढी मूल्य तिर्नुपरेको गुनासो सम्बन्धित निकायमा नगर्दा पनि उपभोक्ता ठगिने गरेका हुन्’, उपभोक्ता हित संरक्षण मञ्चका गौतम भन्छन्, ‘उपभोक्ता सचेत भएर बढी मूल्य व्यवसायीले माग सरोकारवाला निकायमा उजुरी गर्नुपर्छ ।’
चलेको सुपथ पसल पनि बन्द
प्रशासनको असहयोग र पत्रकारको ‘टर्चर’ले बन्द गर्न बाध्य भयौं
लकडाउन लम्बिदै जाँदा आउन सक्ने समस्यालाई सम्बोधन गर्न नेपालगन्ज चेम्बर अफ कमर्शले नेपालगन्जको प्रतिष्ठित खाद्य उद्योग केएल दुगडका उत्पादनलाई एकै ठाउँबाट सहुलियत दरमा उपलब्ध गराउन सञ्चालनमा ल्याएको सुपथ पसल बन्द भएको छ ।
किन बन्द गर्नुभयो ? संयोजनकारी भूमिका खेलेका चेम्बर अफ कमर्शका अध्यक्ष सतिश कुमार अग्रवालले दैनिक नेपालगन्जसँग भने, ‘अहिलेलाई यत्ति बुझ्नुस्, प्रशासनको असहयोग र पत्रकारका नाममा भएको टर्चरले पसल बन्द गर्न बाध्य भयौं ।’
सम्बद्ध स्रोतका अनुसार, सहुलियत पसलबाट दुगड समूहले डिलरहरुलाई उपलब्ध गराउँदै आएको दररेटमा सोझै उपभोक्तालाई आवश्यक सजगता र सचेतना अपनाएर उपलब्ध गराइँदै आएको थियो । ‘प्रशासनले हामीलाई असल नियतका साथ सहयोग गर्नुपथ्र्यो’, अध्यक्ष अग्रवालले भने, ‘तर, कुनै किसिमको सहयोग भएन ।’ उनका अनुसार, प्रेसको ज्याकेट लगाएर मुखमा मास्क लगाउने केही व्यक्तिहरुले बेलाबेला पसलमा पुगेर अनाहकको ‘टर्चर’ पनि गरेका थिए । ‘पत्रकार हुन् भन्ने एकिन भएन तर उनीहरुले प्रेसका ज्याकेट लगाएर बेलाबेला आउँदै दृश्य लिने र अनावश्यक प्रश्नोत्तर गरेर कर्मचारीहरुलाई विचलित पार्ने काम गरे’, अग्रवालको गुनासो थियो, ‘सुनुवाई गर्ने कोही भएन ।’
घरघरमै घुम्ति सेवा
नेपालगन्ज उद्योग वाणिज्य संघले अत्यावश्यक खाद्य वस्तुको आपूर्तिका लागि घरघरमै घुम्ति सेवा सञ्चालन गरेको जनाएको छ । ‘पहिलो सातादेखि नै घुम्ति सेवा उपलब्ध गराएका छौं’, संघका महासचिव चिरञ्जीवि ओलीले दैनिक नेपालगन्जसँग भने, ‘हाम्रा साथीहरु त्यसका लागि निरन्तर क्रियाशिल हुनुहुन्छ ।’
नेपालगन्ज खाद्य तथा किराना व्यवसायी संघ सँगको सहकार्यमा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जका विभिन्न टोलमा पुगेर घुम्ति सेवा उपलब्ध गराएको हो । ‘माग आए अनुसारको ठाउँमा वा निरन्तर नयाँ नयाँ ठाउँमा सहुलियत दरमा सेवा उपलब्ध गराएका छौं’, महासचिव ओलीले भने ।








