नेपालगन्जमै कोरोना परीक्षणको ‘क्रस भेरिफिकेसन’, भेरीमा जाँच गरिएका नौ नेगेटिभ

सरकारले नेपालगन्ज स्थित भेरी अस्पताललाई कोरोना परीक्षणको पूर्ण परीक्षण (क्रस भेरिफिकेसन) ल्याबका रुपमा विकास गरेको छ । राजधानी काठमाडौं बाहिर नेपालगन्ज स्थित भेरी अस्पताल र धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई क्रम भेरिफिकेसन ल्याबका रुपमा विकसित गरिएको हो ।


सरकारको यो निर्णयसँगै राजधानी काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र गर्दै आएको ‘क्रस भेरिफिकेसन’ नेपालगन्जमा पनि हुने भएको हो । यदि अरु ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए टेकुले पुनः परीक्षण गरेपछि मात्र औपचारिक घोषणा गर्ने गरिन्थ्यो । ‘पीसीआर विधिबाट कोरोना भाइरसको नमूना परीक्षण सुरु भएपछि क्रस भेरिफिकेसनको व्यवस्था पनि गरिनुले भेरीलाई एउटा उचाई प्राप्त भएको छ’, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले दैनिक नेपालगन्जसँग भने, ‘यो थप उत्साहको कुरा हो ।’


डा. थापाका अनुसार, सरकारको पछिल्लो निर्णयले कोरोना परीक्षणको रिपोर्ट अझ छिटो आउने कुरामा मद्दत पुगेको छ । आइतबारबाट पीसीआर विधिबाट कोरोना भाइरसको नमूना परीक्षण सुरु गरेको भेरीले परीक्षण गरेको ९ वटा परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया