म एक स्वास्थ्यकर्मी । मेरो पेशा नै मानव सेवा हो । मेरो सर्टिफिकेट र पेशाले नै बताउँछ कि तिमी मानव सेवामा अनवरत लागि राख, विरामीको अनुहारमा खुशी छरिदेउ । चाहे तिमीलाई जति सुकै कष्ट, आपत आइलागे पनि पछि नहट त्यो नै तिम्रो सफलता हो, त्यो नै तिम्रो धर्म हो, त्यो नै तिम्रो मुक्तिको मार्ग हो ।


मेरो यो आलेख अहिले समग्र विश्वलाई त्राहिमान गरिरहेको कोरना भाइरस अर्थात कोभिड – १९ तर्पm इङ्कित छ । विरामीको पीडा, आफन्तको चिन्ता, मुलकको अग्निपरीक्षा र स्वास्थ्यकर्मी माथिको सामाजिक नकारात्मक मनोविज्ञान उपर केन्द्रित छ ।


कोभिड – १९ को संक्रमण, आतंक विश्व दुनिया भित्र पर्ने नेपालमा पनि बढ्दो छ । अहिले विश्वका थुप्रै मुलुकहरु लकडाउनमा गुज्रिरहेको छन् । नेपाल पनि २०७६ चैत्र ११ गते देखि लक डाउनको अनौठो अभ्यास भित्र गुज्रिरहेको छ । तेस्रो विश्वमा पर्ने नेपाल आफुलाई सकिनसकी यो रोगको निदान र रोकथामको लागि अगाडि बढिरहेको छ । स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु, परीक्षण ल्याब दक्ष तथा न्यून स्वास्थ्यकर्मीहरुको बावजुद पनि यस रोगलाई नियन्त्रण गर्न र संक्रमण फैलन नदिन सक्दो प्रयासरत छ ।


एक त स्वास्थ्यकर्मीहरुको पढाईमा नै लाग्ने रकम नेपाल जस्तो मुलुकमा अन्त्यन्त बढि छ । त्यसमा पनि मुलुकको बागडोर सम्हालेका राजनेताहरुले बेवारिसे ढंगले पढाईको खर्च असुल्ने रकम त परै जाओस् उनीहरुलाई आफ्नो दैनिकी संचालन गर्न पनि गाह्रो हुन जाने हिसाबले कारिन्दामा काम लगाई रहेको छन् । अझ अहिलेको यो संक्रमणको अवस्थामा त झन स्वास्थ्यकर्मीहरु दोहोरो, तेहोरो चेपुवामा छन् । काम गर्न नजाउ त राज्यबाट कारबाहीमा परिने काम गर्न जाउ त यथेष्ठ आवश्यक सुरक्षा सामग्री बिना काम गर्न पर्ने परिवारको चिन्ता एकतर्फ तथा छिमेकी र टोलको शंका अर्को तर्फ । चौतर्फी दबाबका बाबजुद पनि उच्च जोखिम युक्त रोगको युद्धमोर्चामा हाम फालेका छन् ।


नेपाल एउटा यस्तो मुलुक पनि हो स्वास्थ्यका हिसाबले जहाँका जनताहरु सामान्य जीवन जल, ब्रोफ्रिन, पारासिटामोलको अभावका कारणले ज्यान गुमाउन पर्ने अवस्था विद्यमान छ । अझ त्यस्तो क्षेत्रमा अहिलेको यो लक डाउनले कस्तो अवस्था निम्त्याइरहेको होला एक पटक स्मरण गर्नुहोस् त ! पुरै विश्व त्राहीमान भइरहेको अवस्थामा सुत्केरी हुने आएकी महिला र तीनका परिवारहरुलाई के बितिरहेको होला । पहिलो नम्बर त अस्पतालमा सुत्केरी हुन जाने समस्या भौगोलिक कठिनाइको कारण, दोस्रो यदि यातायातमा एम्बुलेन्स नै उपलब्ध भइहाल्यो भने पनि त्यो यातायातमा नै कतै संक्रमण छ कि भन्ने चिन्ता संग संगै त्यसका चालक माथि शंका ।

त्यसैगरी चालक माथि पनि आफु संग उपलब्ध नभएको पि.पि.ई मास्क, सेनिटाइजर आदिको कारणले बिरामी र तिनीहरुका परिवारका सदस्य माथि नै शंका । यसरी शंकै शंकाको बिचमा पनि तिनी बिरामी, नातेदार अस्पताल आइपुग्छन् । भनिन्छ एक भनाई “मर्नु भन्दा बौलाउन ठिक” । अब फेरि अस्पतालका स्वास्थ्यकर्मी र बिरामीका परिवारलाई अर्को दोस्रो चरणको शंका र चिन्ता प्रवेश गर्छ । तिनी बिरामीका परिवार कहाँबाट आएका हुन्, तिनीहरुका परिवारका सदस्य मित्र राष्ट्र भारत अथवा अरु कुनै देशबाट आएका हुन कि ? क्वारेन्टाइनमा बसेका छन कि छैनन् । “ घरको सदस्यलाई रुघाखोकी ज्वरो आएको त कतै छैन ।” सबै कुराको सामान्य जानकारी दिए पछि ती सुत्केरी महिलाको बच्चा जन्मन्छ त्यो पनि शल्यक्रिया विधिबाट । ल भन्नुहोस त अहिलेको यो अवस्थामा उनलाई आफ्नो बच्चा र आफु स्वस्थ छ कि छैन भन्ने कुरामा नै द्विविधा छ । एकातिर स्वास्थ्यकर्मी र बिरामी प्रति शंका । एकातर्फ शारिरिक पीडा अर्को तर्फ मानसिक पीडा ।


यो त एक उदाहरण मात्रै हो । आङ खसेका, भिडबाट लडेका, दम रोगको कारणले घरमै खोक्दै बसेका बिरामीहरुको अहिलेको अवस्था कस्तो होला । सामान्य एक्स–रे, भिडियो एक्स–रे, खोकीको सामान्य चेकजाच गर्न पनि बन्चित छन् तिनी जनता । चेक गर्न जाउँ यातायात सहज व्यवस्था नहुने, यदि भइहाल्यो भने पनि बिरामीको अस्पताल प्रति शंका अनि अस्पतालका कर्मचारीको बिरामी प्रति शंका । यसरी स्वास्थ्य क्षेत्रका बिस्तारै पहुँच हुन लागेको जनता अहिले शारिरिक तथा मानसिक यातनामा छन् ।


अब कुरा गरौ स्वास्थ्यकर्मीको । अस्पतालबाट फर्किंदा नै ड्रेसबाट दोस्रो ग्रहबाट आएको मानिस जस्तै गरी भाग्ने पैदल यात्रीहरु, घरमा पुग्दा श्रीमान – श्रीमतीको अनौठो नजरिया र छोराको “मामु अलि पर बस्नु है हजुर अस्पतालबाट आउनु भएको छ ।” भन्ने तोते बोली । आमा बुबाको छोरी छोरा तिमीले बरु केहि दिन बिदा लिएर बस है । ज्यान छ त रोजगारीको के काम छ “बाबु” भन्ने भनाइ । ओहो अझ कुरै छोडिदिनुहोस घरबेटीको त उनको सिङगो घर नै सायद हामी भाडामा बस्ने स्वास्थ्यकर्मीहरुले संक्रमणले भरिभराउ नै गरिदिइसक्यो । उनीहरु र उनीहरुका बालबच्चाको अगाडि त हामी आफै नै मानौ कोभिड –१९ हो । हामीले नै यो मुलुकमा भाइरस फिंजाइरहेको छौ । मानौ कि हामी नै अपराधी हौ, हामी नै अधर्मी हौ, घरबाट निस्क भन्न नसके पनि यस्तो ज्यानै जोखिम हुने के जागिर गरीराख्या, पढे लेखेका छौ हिस्टपुष्ट छौ अर्को केहि काम गरे हुँदैन र ? भन्ने कुरापनि हाम्रो कानमा छिराइरहेछन् छरछिमेकको पनि त्यस्तै अवस्था छ । उचित दुरी राखेर टाढैबाट बोल्दा पनि पछाडि फर्केर जवाफ दिन्छन् । यस्तो पारा देखाउँछन् कि मानौ हामी स्वास्थ्यकर्मीहरुले किलोमिटर,किलोमिटर दुरी टाढा सम्म कोभिड – १९ फालिरहेको छौ ।


यसरी आफ्नै बच्चा आफै संग टाढा बस्ने, आफ्नै श्रीमान श्रीमती टाढा बस्ने, आमा–बुबा बिदा लिएर बस भन्ने घरबेटी बरु अर्कै जागिर खोज भन्ने बेतलबको सुझाव दिने, छरछिमेकलाई हामीले माइल नै माइल टाढा सम्म संक्रमण फालिरहेको छौ भन्ने भाव पर्ने । यस्तो अन्त्यन्तै मानसिक दबाबममा अहिले स्वास्थ्यकर्मीहरु जिवित छन् अझ भनौ जीवित झै गरी बाचेका छन् । एकातिर सरकारी नेतृत्वको त्रास, अर्कोतिर न्यून स्वास्थ्य सामाग्रीमा काम गर्न पर्ने अनि परिवार र छरछिमेक टोलको मनोवैज्ञानिक त्रास त्रासै त्रासको बिचमा हामी कार्य गरिरहेका छांै ।


अन्त्यमा एक स्वास्थ्यकर्मीको नाताले म के भन्न चाहान्छु भने यस रोगको नियन्त्रण नै उचित दुरी राखि कार्य गर्ने, साबुन पानीले मस्त संग हात खुट्टा बेला बखतमा धोइरहने उपलब्ध भए सम्म मास्क सेनिटाइजरको प्रयोग गर्ने, भरसक रुघा–खोकी लाग्नै नदिने यदि यस रोग संग सम्बन्धित कुनै किसिमको विशेषता देखिएमा तुरुन्तै स्वास्थ्य केन्द्रमा सम्पर्क गर्ने नै हो । अहिलेको अवस्थामा आफुलाई शारीरिक संग संगै मानसिक स्वास्थ्य बलियो बनाउन आवश्यक छ किनकी मानसिक स्वास्थ्य समस्या प्रति विजय प्राप्त गर्न सकिदैन । याद गर्नुहोस् कोभिड – १९ को लक्षण देखिदैमा तुरुन्त मरिंदैन तर हेलचेक्राईको कुनै गुन्जाइस् छैन ।

नआत्तिनुहोस् हामी स्वास्थ्यकर्मीहरु न्यून स्वास्थ्य सामाग्रीका बाबजुत पनि हजुरहरुको सेवामा अनवरत लागिरहेका छौं । सामाजिक सद्भाव बढाउनुहोस्, सामाजिक चेतना बढाउनुहोस्, स्वास्थ्यकर्मीलाई घृणा भावले नहेरी उत्साहित र हिम्मतिलो भावले जगाइराख्नुहोस् । आउनुहोस् मानव समाजलाई कत्लेआम गर्ने गरी आएको कोभिड–१९ को प्रसार नियन्त्रण गर्न हामी सबै जना हातेमालो गरी अगाढि बढौ । (अन्जु नेपालगन्ंज मेडिकल कलेज कोहलपुरमा कार्यरत स्टाफ नर्श हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया