कोरोना भाइरस संक्रमण (COVID-19) दिनदिनै पेचिलो बन्दै गइरहेको छ । नयाँ रोगीहरु पत्ता लाग्ने क्रम जारी छ । ऱ्यापिड टेस्ट र PCR टेस्टको प्रभावकारीता त त्यसको व्याख्यामा नयाँ नयाँ तर्कहरु आइरहेका छन् । यो लेख एउटा सरकारी अस्पतालले कोरोना परिक्षणको निम्ति आफ्नो पहलमा PCR ल्याब स्थापना गर्दा भोगेका अनुभवहरुलाई आम नेपालीहरुसँग बाँड्न लेखिएको हो । अरुलाई दोष मात्र देखाउनु भन्दा पनि समाधानका पहल थाल्नु महत्वपुर्ण हुन्छ । हालको अवस्थामा काम गर्न निकै कठिन छ तर निरन्तर लागिरह्यो भने अधिकांश काम फत्ते गर्ने सकिन्छ भनेर अनुभव पनि यहाँ बाँड्न पनि खोजिएको छ। 

के हो PCR ?

Polymerase Chain Reaction भनेको कुनै पनि जिवाणुको आनुबंशिक पहिचान पत्ता लगाउने बिधि हो । सामान्य भाषामा भन्दा – जसरी एउटा रौं आँखाले सजिलै देख्न मुश्किल हुन सक्छ, तर रौंको गुजुल्टो वा चुल्ठो बाटेमा त्यो सहजै देखिन्छ त्यसरी नै सरोकारको परिक्षणको बस्तुमा भएको DNA वा RNA लाई प्रयोगशालामा बिशेष तरिकाबाट मात्रा बढाइ पहिचान गरिने विधि नै PCR हो । यसलाई फोटोकपीसँग पनि दाँज्न सकिन्छ, जहाँ एक पान्नामात्र चासोको डकुमेन्ट छ भने त्यसलाई मेसिनमा हालेर हजारौं प्रति सहजै निकाल्न सकिन्छ ।

नेपालमा यसको बारेमा जनमानसले व्यापक जनचासो कोरोना माहामारी पछि मात्र बढे पनि केहि स्थानहरुमा यो पहिले पनि प्रयोगमा ल्याइँदै आएको थियो । प्रकृयागत जटिलता र नवीन काम गर्न उति नरुचाउने नेपाली माहोलमा यो केहि अनुसन्धान केन्द्रहरु र बिशिष्टकृत प्रयोगशालामा मात्र सिमित थियो । 

संघीय सरकारले जिस्क्यायो !

माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा मिति २०७६/१२/११ गठित COVID-19 संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको तेश्रो नं को निर्णयमा उल्लेख गरिए अनुसार – 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा) र भेरी अस्पताल (नेपालगंज) का प्रयोगशालाहरूमा COVID-19 Testing को कार्य यथाशीघ्र सुरु गर्ने । यसका लागि आवश्यक परीक्षण सामग्री र तालिमको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने । ती स्थानहरूमा प्रयोगशाला परीक्षण सेवा संचालन नभएसम्मका लागि बिराटनगर र नेपालगंजबाट Swab संकलन गरी हवाइमार्गबाट काठमाडौं ल्याउने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने ।

उसो त यो सरकारको निर्णय थियो, आदेश थियो र पालना गर्नु हामी सबैको दायित्व ! तर निर्णय गर्नु भन्दा पहिले अस्पतालको क्षमताको बारेमा बुझिदिएको भए अझ समन्वयात्मक हुन सक्थ्यो । हुन पनि हामीसँग केहि प्राविधिक बाहेक यति बिशिष्टकृत प्रयोगशाला संचालनमा ल्याउन अन्य कुनै उल्लेख्य क्षमता थिएन । 

यो त्यहि बैठक थियो, जसबाट COVID-19 को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक औषधि, उपकरण तथा चिकित्सा सामग्रीहरु चीनबाट ल्याउन निर्णयस समेत भएको थियो। 

अवस्थाको गम्भिरता र रोग निदानमा PCR को अपरिहार्यतालाई मध्यनजर गर्दै हामीले चैत १३ मा मन्त्रालयलाई भेरी अस्पतालको आन्तरिक क्षमताको जानकारी गराउँदै –

  • एक निजी प्रयोगशालामा भरखर ल्याइएको तर प्रयोगमा नआइसकेको Real Time PCR  मेशिन र त्यसलाई प्रयोग गर्न सकिने संभावना
  • खजुरा स्थित शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको बायो सेफ्टि क्याबिनेट र त्यसलाई पनि प्रयोग गर्न सकिने जानकारी
  • नेपालगंजमा टिबीको परिक्षणमा प्रयोग हुने GeneXpert System उपलब्धताबारे समेत जाकारी दिंदै पत्रचार गरियो  (त्यसलाई पनि प्रयोगमा ल्याउन सकिने चर्चा चलेको भएर)।

तर चिनबाट सामाग्री आइसकेपछि भने अचानक अवस्था बदलियो । भेरीमा प्रयोगशाला स्थापना नहुने जानकारी पत्रपत्रिका मार्फत पाइयो । 

प्रदेश सरकारको सान्त्वना र हौसला

कारण र तर्क आआफ्नै होलान तर चर्चा नचली नपाउनु भन्दा आश देखाएर नपाउनुमा मन धेरै कुँडिने रैछ । यत्तिकैमा ५ नं प्रदेश सरकारले भेरी अस्पतालले PCR Lab स्थापना गर्न चाहेमा आबश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्यो । निरन्तर सम्पर्कमा रहेर प्रत्येक गतिबिधिको निगरानी गर्ने सामाजिक बिकास मन्त्री मा.सुदर्शन बराल र बेलाबेलामा धाप मार्दै अगाडी बढ्न प्रोत्साहन दिने मा.मुख्यमन्त्री शंकर पोखरेलको भूमिका बिना यो कार्य संभव थिएन।‌

समयको माग प्रकृयामुखी भन्दा पनि परिणाममुखी काम गर्ने छ । तर भरखरमात्र स्वास्थ्य मन्त्रालयले ओम्नी ग्रुपसँग गरेको सम्झौता विवादमा परेको देख्दा बिशेष परिस्थितिमा द्रुत किसिमको भए पनि प्रकृया पुरा गर्नै पर्ने देखियो । प्रदेश सरकारका प्रमुख‌ सचिबले गोपीनाथ खनालले पनि सोहि सुझाउनुभयो, केहि मोडालिटीमा छलफल समेत भए।‌

प्रक्रिया – प्रतिक्रिया 

घरमा मम पकाएर खान खोज्दा त सर्जाम जोड्न मुश्किल हुने यो लकडाउनको बेलामा PCR ल्याब जस्तो बिशिष्टकृत सेवा भन्दाभन्दै उपलब्ध हुन गाह्रो कुरो थियो । अत हामीले अनौपचारिक रुपमा बजारमा कसले आपुर्ती गर्न सक्ला भन्दै खोजी पनि अघि बढाउँदै थियौं । 

नियत भन्दा पनि प्रक्रिया प्रधान रहने सरकारी खरिद प्रणालीकै मान राख्दै ३ दिनको भएपनि म्याद राखि इ-टेन्डर गरौं भनेको एक त त्यति बेला वेबसाइट नै डाउन रहेछ , अर्को अत्यन्तै आदर्श मानिएको PPMO को पोर्टलमा त यस्ता बिशेष किसिमका सुचना निकाल्ने मोड्युल नै रहेनछ । 

बाढी आएमा स्कुलका टहरामा प्रभावितलाई राखेर रेडक्रसले दिने कम्बल र दाताले दिने च्यूरा दालमोठ बाँड्ने सोच्नु मात्र विपद् तयारी होइन । यहाँ त सरकारी खरिद प्रणालीको पोर्टलले नै त्यसबारे कहिल्यै पनि सोच्दै नसोचेको देखियो ।

अन्तत: चैत १९ को गोरखापत्रमा Real Time PCR मेशिन तथा सेवा संचालन गर्न आबश्यक अन्य समाग्रीहरु (Bio Safety Chamber, Micropipettes, Incubator, Centrifuge तथा आबश्यक Reagents समेत) को आपुर्ती गर्न ३ दिने सुचना प्रकाशित गरि प्रस्ताव माग गरियो । 

जम्माजम्मी ४ वटा फर्मले प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गर्ने फर्महरुलाई उल्लेखित दर/रेटमा के कति सम्म छुट दिन सकिन्छ र हालको बिषम् परिस्थितिमा कति समयभित्र आपुर्ती गर्न सकिन्छ भनेर लिखित तर द्रुत किसिमको ‘वार्ता’ गरियो । कुल रकममा १.५% छुट र ५ दिन भित्र आपुर्ती गर्न सकिने भनि प्रतिबद्धता जनाउने फर्मको प्रस्ताव स्विकृत गरि चैत २२ मा काम अगाडी बढाउने कार्यादेश दिइयो । 

कसैले इमेल र फोनकै भरमा सुको पैसा एडभान्स नलिइ ५ दिनमा हामीलाई यति आबश्यक उपकरण आपुर्ती गर्दै थियो भने त्यसमा धेरै नकारात्मक हुन जरुरी पनि ठानिएन । 

आपुर्तीकर्तासँग समन्वय भइ नै रहेको थियो। सँगसँगै, आइसोलेसन अस्पतालको निम्ति भेन्टिलेटर, प्रयोगशालकै निम्ति पावर ब्याक अप र अन्य खुद्रामुद्रा सामान पनि मगाउनु पर्ने भएकोले सबैलाई एकैपटक ढुवानी गर्न सजिलो पर्ने हुँदा चैत २४ गते काठमाडौंबाट सामान हिंडाउने भइयो । 

२५ गते सामान आइपुग्यो। यति धेरै सरोकारको बिषय रैछ कि ट्रान्सपोर्टको गाडी अस्पताल परिसर नछिर्दै दर्जनौं पत्रकार क्यामेरा ठड्याउँदै आइसकेका थिए । तत्कालै खबर भाइरल भयो – भेरीमा आइपुग्यो PCR मेशिन, दिनमै डेढ सयसम्मको परिक्षण हुन सक्ने । हामीले अवलम्बन गरेको प्रकृया र मगाएको मेशिन अनुसार हुनु पर्ने यहि नै थियो । तर ति पोका अझै खोलिएका थिएनन । 

समस्याका ‘चेन अफ रियाक्सन’

Bio Safety Cabinet हाम्रा प्राविधिकहरुले अस्विकृत गरिदिए । पोका खोल्दै जाँदा पो थाहा भो – PCR मेशिन त आएकै रैनछ । 

हामी छाँगाबाट खसेझैं भयौं। तत्काल आपुर्तीकर्तालाई फोन गर्यौं । उसले बिश्वास दिलायो – हिजो काठमाडौंबाट हिंडेकै समयमा दिल्लीबाट सामान हिंडिसक्यो । मेशिनको बिल, चलानी र गाडीको फोटो समेत पठाएपछि हामीसँग बिश्वास गरेर कुर्नुको बिकल्प थिएन । र नेपालभरी नै केहि दर्जनको संख्यामा रहेका यस्ता मेशिन कसैले धेरै संख्यामा जगेडा राख्छ भन्ने अपेक्षा पनि थिएन । जसरी होस उसले हामीलाई उपलब्ध गराउँछु भने पछि धैर्य गर्नुको विकल्प पनि देखिएन ।

PCR र त्यसका उपकरणहरुको आपुर्तीको लागि सुचना निकाले लगत्तै हामी प्रयोगशाला निर्माण र बिस्तारमा जुटिसकेका थियौं । १ हप्तामा त्यो तयार पनि भैसकेको थियो । 

गुणस्तरीय Bio safety cabinet नभइ कोरोना जस्तो घातक भाइरसलाई प्रयोशालामा प्रोसेस गर्न मिल्दैन। काम चलाउ मेशिनमा काम गर्नु भनेर प्राविधिकलाई जोखिममा होम्ने त कुरै भएन । काठमाडौं भरी अर्को मेशिन खोज्दा पनि नपाइएपछि खजुराको क्यान्सर अस्पताललाई त्यहाँ केमोथेरापीको निम्ति खरिद गरिएको तर हाल जगेडामा रहेको क्याबिनेट हामीलाई उपलब्ध गराउन अनुरोध गर्यौं । अवस्थाको गाम्भिर्यता देखेपछि वहाँहरु मेशिन भेरीमा ल्याएर प्रयोगमा ल्याउन दिन तयार हुनुभयो । निकै दुख गरेर उक्त क्याबिनेट खजुराबाट भेरीमा सारियो । 

PCR मेशिन आपुर्ती गर्ने फर्मले कैले गाजियाबादको बोर्डरमा गाडी फसेको छ भन्थ्यो त कैले लखनउ आइपुगिसकेको छ त कैले बहराइच कटिसकेको छ भन्थ्यो । लकडाउनले गर्दा सामानको ढुवानी कठिन छ भनेर हामीले पनि नबुझ्ने कुरा थिएन तर कताकता झुलाए जस्तो पनि लागिरहेको थियो । मेशिन नै नआए पनि के गर्ने भनेर वैकल्पिक योजना समेत हामीले सोच्नु पर्ने भैसकेको थियो । 

 तर कति सम्म कुर्ने भनेर हामीले पहिले नै पहिचान गरेको निजी प्रयोगशालासँग फेरी कुरा अगाडी बढायौं । उ मेशिन दिन तयार भयो । मेशिन सँगसँगै प्राविधिकको रुपम उ आफै अनि एक जना बिज्ञको रुपमा काठमाडौंमा काम गरिरहेका मलिक्युलर बायोलोजिस्ट पनि आउन सक्ने जानकारी हामीले पायौं । उसै पनि मेशिन मात्र आउँदैमा काम सुरु भैहाल्छ भन्ने कुरा हुने होइन । प्राविधिक त हामीलाई चाहिने नै थियो । अझ PCR संचालनमा लामो सयम अनुभव भएका बिज्ञ हामीलाई चाहिने जति समय भेरीमै बसेर प्राविधिक शीप हस्तान्तरण गर्ने अफर आउँदा त्यसलाई स्विकार नगर्ने भन्ने कुरो हुँदैनथियो । 

र जसरी होस.. कतैका मेशिन, कतैको क्याबिनेट, कतैका प्राविधिक र थप अन्य उपकरण हाम्रै अनि केहि प्राविधिक पनि हाम्रै उपयोग गरेर PCR परिक्षण गर्न सक्ने  अवस्थामा हामी चैत २९ गते तम्तयार अवस्थामा पुग्यौं ।

तर यी उपकरण र प्राविधिक हुँदैमा मात्र PCR संचालन गर्न सकिने अवस्था होइन । अथवा थप सजिलो गरि भन्दा प्रिन्टर, कागज र बिजुली हुँदैमा फोटोकपी मेशिन लगाउन सकिदैन कार्ट्रिजमा टोनर नभए सम्म ।

PCR को निम्त टोनर (मसी) जस्तै अपरिहार्य चिज हुन Primer, Extraction किट जस्ता सामाग्री । अझ बिरामीको थ्रोट स्वाब लिएपनि प्रयोगशालासम्म पुर्याउन अनि मेशिनमा हाली प्रशोधन सुरु नहुँदासम्म Viral Transport Medium (VTM) पनि अत्याबश्यक हुन्छन्। यी चिज बजारमा किन्न पाइदैन । पाइए पनि सरकारले स्विकृति नदिएका वा भ्यालिडेट नभएका चिज यस्तो संवेदनशील परिक्षणमा प्रयोगमा ल्याउने कुरो थिएन ।

यसै क्रममा बैशाख ३ गते आपुर्तीकर्ताले हामीलाई RT PCR मेशिन उपलब्ध गरायो । आफ्नै मेशिन आइसकेपछि निजी क्षेत्रबाट ल्याइएको मेशिन सधन्यवाद हामीले वहाँहरुलाई फिर्ता गर्यौं । बिश्वासमा लिन सक्ने हो र सहकार्य गर्न खोज्ने हो भने निजी क्षेत्र पनि समाज र सरकारका कार्यमा हातेमालो गर्न तयार छ भन्ने प्रमाणित गराउनु भएकोमा बिमल बुढाथोकीजीलाई धन्यवाद । 

हामी मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग समयसमयमा सम्पर्कमै थियौं र हामी तयार अवस्थामा पुगेपछि पनि पुन ति निकायसँग पत्राचार गर्यौं । तर बिविध कारणले गर्दा थप केहि समय त्यसमा व्यतित हुन पुग्यो । 

अन्तत: बैशाख ५ गते शुक्रबार विभागको टोली आबश्यक रियाजेन्ट सहित आइपुग्यो र तत्काल काममा जुट्यो । सबै भ्यालिडेसन प्रक्रिया सकाएर अब हामी बिरामीको स्याम्पल लिन सक्ने अवस्थमा पुगेका छौं । 

सिकेका पाठहरु –

  • कमी श्रोतको होइन, सोचको हो । धनी नै देश नभएपनि  सरकारले विभिन्न क्षेत्रमा गर्ने लगानीको सदुपयोग हुने भने केहि न केहि परिवर्तन ल्याउन ल्याउन सकिन्छ ।
  • नीतिगत अस्पष्टताले गर्दा आकस्मिक अवस्थामा पनि आँट गरेर काम गर्ने अवस्था छैन । ‘नियम कि नियत ?’ भन्ने टुल्सहरु बिकास गर्न नसक्दा न भ्रष्टाचार घटेको छ, न परिणाममुखी काम नै हुने सकेको छ ।
  • सबै ठेकेदार फटाहा नै हुन्छन् भन्ने छैन । संस्थालाई सर्वोपरी ठानेर निर्णय गर्ने र त्यसको पालना गरउाने हो भने ठेकेदार र आपुर्तीकर्तालाई जिम्मेवार हुन बाध्य तुल्याउँछ । 
  • निजी क्षेत्रको मुख्य ध्येय नाफा कमाउने भए पनि सामाजिक उत्तरदायित्वको निगरानी र नियमन गर्ने सरकारी निकायले नै हो । परेको खन्डमा निशुल्क सहयोग मागेर होस् वा आफुले जनतामा पुर्याउन नसकेको सेवा निजी क्षेत्रबाट खरिद गर्न सरकार चुक्नु हुन्न । 
  • समाज नकारात्मकताको निकै ठूलो खाल्डोमा भासिइसकेको छ । प्रतिकुल परिस्थितिमा पनि हरेश नखाइकान काम गर्नेहरुलाई सद्भाव, प्रोत्सहान दिइ कार्यसम्पन्न होउन्जेल धैर्यताका साथ कुर्न भन्दा पनि बिभिन्न “कन्सपिरेसी थ्योरी”हरु बजारमा चलाई हुर्मत काड्न उद्धत हुन्छन् । 
  • मेडिया र राजनैतिक नेतृत्व थोरै संयमित र रचनात्मक हुन आबश्यक छ । आग्रह पुर्वाग्रह भन्दा माथि उठेर कार्यसम्पादनको आधारमा टिप्पणी गरिदिंदा सार्बजनिक निकायको नेतृत्व जवाफदेहि हुन बाध्य हुन्छ भने काम गर्ने मनोबल पनि उचो रहन सक्छ । 

प्रतिक्रिया

प्रतिक्रिया