सरकारको वेवास्ताले प्रयोगमा आउन सकेन मेसिन
संघीय सरकारले सुरुमा भेरी अस्पताल नेपालगन्जमा कोरोना परीक्षणका लागि मेसिन जडान गर्ने भन्यो । तर, उक्त निर्णय बदल्दै सरकारले प्रदेश राजधानी बुटवलमा कोरोना परीक्षणको मेसिन जडान गर्यो ।
भेरी अस्पतालले आफ्नै पहलमा भेरीमा पनि कोरोना परीक्षणका लागि पीसीआर मेसिन ल्यायो । भेरीमा दिनरातको अथक प्रयासले मेसिन जडान गरियो । मेसिनलाई समयमै जडान गर्नका लागि अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. प्रकाश थापा आफै दिनरात खटिए । मेसिन जडान पनि भयो । तर, अझै पनि परीक्षण भने सुरु हुन सकेन ।
नेपालगन्जमा कोरोना परीक्षण नहुँदा नमूना काठमाडौं वा बुटवल पठाउनु पर्ने बाध्यता रहेको छ । भेरी अस्पतालमा मेसिन जडान भएको चार दिन हुँदा पनि त्यो बाध्यता हट्न सकेन ।
अहिले कोरानाको दोस्रो चरणमा रहेको छ । लोकल टान्समिसन पनि भएको पाइसकिएको छ । यस्तो अवस्थामा बढीभन्दा बढी परीक्षण आवश्यक रहेको छ । छिटो र बढी परीक्षण आफ्नै ठाउँमा मेसिन हुने हो भने राम्रो हुन्छ । अझ बाँके र बर्दिया जस्तो भारतीय सीमासँग जोडिएको जिल्लामा जति बढी परीक्षण उति बढी जोखिम कम हुन्छ । तर, यसलाई सरकारले पुरै वेवास्ता गरेको छ भन्ने मेसिन जडान हुँदा पनि परीक्षण सुरु नहुनुले देखाएको छ । स्थानीयबासीले त्यसलाई निकम्मा पनको संज्ञा दिएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड प्रकाश थापाले कोरोना परीक्षण मेसिन तयार भएपनि आवश्यक रहेको रिएजेन्ट र भाइरल टान्सपोर्ट नहुँदा मेसिनको उपयोग गर्न नसकिएको बताएका छन् । उनले त्यसका लागि पहल भैरहेको बताए । सामाजिक सञ्जालमा समेत भेरीमा टेष्ट किट नपठाएको भन्दै सरकारको आलोचना भैरहेको छ ।








