चुनौति विरुद्ध तयार भेरीका चिकित्सक, जडान भयो पीसीआर मेसिन

सोमबार विहान ८ बजे भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापालाई फोन गर्दा उनी अस्पतालमै थिए । देश लकडाउनमा गएपछि अन्य क्षेत्रका व्यक्ति फुर्सदिला भएपनि चिकित्सकहरुको व्यस्तता भने बढेको छ । कोरोना विरुद्ध जिल्लामा हुने स्वास्थ्य सम्बन्धी कार्यमा डा. थापा अग्रता रहने गरेको छ ।

खजुराको आइसोलेसन अस्पताल होस् वा कोरोना परीक्षणका लागि स्वाब पठाउने कार्य थापा कमाण्ड गरिरहेका हुन्छन् । डा. थापा भन्छन्, कोरोना विरुद्ध तयार हुने, भोलिका दिनमा आउन सक्ने जोखिका लागि तयार हुनका लागि योजना बनाउने काममा व्यस्त छु । उनी अन्य समय भन्दा यतिखेर अस्पतालमा बढी व्यस्त हुने गरेको बताउँछन् ।

भेरी अस्पतालमा फिभर क्लिनिक चलेको छ । विहान ८ देखि बेलुका आठ बजेसम्म मेडिकल स्टाफ र व्यवस्थापनमा खटिने कर्मचारी काममा रहने गरेका छन् । अस्पतालले दिनरात गरेर कोरोना परीक्षणका लागि पीसीआर मेसिन जडान गरेको छ । डा. थापा भन्छन्, हामी तयार छौं । तर, अस्पतालमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने केमिकल नहुँदा परीक्षण सुरु गर्न अझै केही समय लाग्ने डा. थापा बताउँछन् । आवश्यक केमिकलका लागि निरन्तर पहल भैरहेको उनी बताउँछन् ।

बाँकेबाट हालसम्म ७६ जनाको स्वाब परीक्षण गरिएकोमा ७५ को रिपोर्ट नेगेटिभ आएको डा. थापाले जानकारी दिएका छन् । १ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ । बिरामीको लक्षण, विगतमा कहाँबाट आएको हो भन्ने बुझेर परीक्षणका लागि पठाउने गरिएको छ । अहिले क्वारेन्टाइनमा राखिएका सबैको परीक्षण सुरु गरिएको छ । आइतबार १ सय ३९ को परीक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए । खजुरामा रहेको आइसोलेसन अस्पताल पनि तयार रहेको छ । बाँकेमा कोरोना देखिए भेरी अस्पताल, क्यान्सर अस्पताल, नर्सिग होम र मेडिकल कलेजमा बिरामी राखेर उपचार गर्न सकिने अवस्था छ ।

प्रतिक्रिया

प्रतिक्रिया