विश्व यतिबेला कोभिड १९ को महामारीबाट छट्पटाइरहेको छ । महाशक्तिशाली राष्ट्रहरुलाई पनि यो महामारीले आत्मसमर्पणको स्थितिमा पु¥याएको छ । यसले विश्वलाई चैनको निन्द्रा सुत्न दिइरहेको छैन । विश्वले आफूहरुसँग भएका सीप, ज्ञान, क्षमतालाई अधिकतम प्रयोग गर्दा समेत नियन्त्रणमा ल्याउन सकिरहेका छैनन् । वैज्ञानिकहरु दिन रात नभनेर रोकथामका लागि विभिन्न खोजमूलक अनुसन्धानहरु गरिरहेका छन् र पनि धैर्यता बाहेक अर्को औषधी हामी सामु छैन ।
आजका मितिसम्म झण्डै ९५ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । अझ यो महामारीको स्वरुप जसरी फैलिरहेको छ र नियन्त्रणका लागि जे जस्तो स्रोतसाधन आवश्यक पर्दछ हामी जस्ता गरिब मुलुकका लागि भने झनै चुनौतीपूर्ण छ । हाम्रो सन्दर्भमा विगतमा हामीले विभिन्न महामारीहरु नझेलेको होइन । नेपालका विकट पहाडी जिल्लामा होस वा तराईका अति विपन्न वर्ग समुदाय बसोवास गर्ने क्षेत्रमा, विभिन्न हैजाका रुपमा हामीले महामारी भोगेका थियौं र पनि त्यसलाई सबैको साथ र सहयोगले पार लगाएकै हो । तर, विगत भुलाउने गरि प्राकृतिक प्रकोप झैँ विश्वसामु चुनौती बनिरहेको कोराना भाइरसको महामारीले न शहर, बजार, गाँउबस्ती भन्यो न धनी, गरिब छुट्टाइरहेको छ । केवल विश्वका सम्पूर्ण मानव जातिकै लागि घातक बनिरहेको छ यो महामारी ।
यो संकटको घडीमा सरकारले आफनो क्षमता, विद्यता र स्रोतसाधनले भ्याएसम्मको नियन्त्रणका प्रयासहरु गरिनैरहेको छ । आफ्नो जीवनलाई धरापमा राखी चिकित्सक। स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन् । महामारी नियन्त्रण अर्थात फैलिन नदिनका लागि त्यसरीनै हाम्रा सुरक्षाकर्मी लागेका छन्, यो विचार लेख्दाका समयसम्म नेपालमा अनिष्ट समाचार सुन्नु परेको छैन तथापि केही व्यक्तिहरुमा कोभिड पोजेटिभ देखिएको छ । तर, विश्वसामू जुन कहाली लाग्दो स्थिति हामी देखिरहेका छौँ यो भने हामी सबैका लागि दुःख र चिन्ताको विषय हो ।
नेपाली समाजले विगतमा भोगेका कहाली र हृदय विदारक घटनाहरु, महामारी, सशस्त्र द्वन्द्व वा ०६२ । ०६३ को जनआन्दोलन किन नहोस् सबैको सहकार्य । समन्वय र दृढ इच्छा शक्तिका कारण पार लगाइएको इतिहास हाम्रो सामु छ । विगतका विपतका बेला हामीले गरेका सहकार्यलाई स्मरण गर्नुपर्ने बेला आएको छ । यो संकटलाई तपाईं हामी सामाजिक अभियन्ताले अवसरका रुपमा लिइ प्रभावकारी र अर्थपूर्ण सहयोग गर्नु पर्नेछ ।
कोरोना रोकथामका लागि सरकारले गरेका हरेक प्रयत्नमा हातेमालो गर्दै आफूलाई असल नागरिक वा कर्तव्य सहितको नागरिकको पहिचान दिनुछ । नेपालमा अहिले विभिन्न क्षेत्रमा सयौँ गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय सामाजिक संघ संस्थाहरु कार्यरत छन् । प्रत्यक्ष। परोक्ष सरकारका सहयोगीका रूपमा काम गरिरहेका छन् । नेपालको इतिहासमा जोसुकैले जे जे भनेपनि प्रत्येक संकटको घडीमा गैरसरकारी निकायको अहम् भूमिका रहेको छ । चाहे त्यो विपत्का वेला होस् वा अन्य संकट आइपर्दा सरकारको सारथीका रुपमा यिनीहरुले भूमिका खेलेका छन् ।
विषेशगरि यो संकटको घडीमा आम नागरिकहरुलाई सचेतनाका साथसाथै उनीहरुको दैनानुदिनका समस्याहरु पहिचान गरि सहयोग गर्नुपर्नेछ । नेपालमा रहेका गैरसरकारी संघ संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरु कोही स्वास्थ्यको क्षेत्रमा कोही शिक्षा, खानेपानी खाद्य र सचेतनाका क्षेत्रमा कार्यरत छन् । अहिले आमनागरिकहरुलाई स्वास्थ्य, खाद्य, खानेपानी, राहात तथा उनीहरुलाई कोरोनाबाट बच्ने उपायका सन्दर्भमा सचेतनाको आवश्यक देखिन्छ ।
सामाजिक संघ संस्थाहरुले वार्षिक रुपमा तय गरेका गतिविधिहरुलाई यो संकटको बेला पुनर्विचार गरि अहिलेको आवश्यकताका आधारमा कार्यक्रमहरु तय गर्नुपर्ने कुरामा तत्काल ध्यान दिनुपर्छ । यसका लागि सबैले प्रारम्भिक तयारी गरेको पनि देखिन्छ । तर पनि हामी ढिला भइसकेका छौँ, किन कि उपयुक्त समयमा उपयुक्त निर्णय र नागरिकहरुको आवश्यकताका आधारमा सहयोग बेलैमा पुग्न सक्यो भने सहयोगको सार्थकता पनि रहने भएकाले त्यसतर्फ सोच्नुपर्छ । अबको १५ दिनपछिका सम्भावित चुनौतीको अाँकल नगरि ती चुनौतीको सामनाका लागि स्थानीय सरकार, प्रहरी प्रशासन लगायत सामाजिक संघ संस्थाको समन्वय सहकार्यमा ठोस सहयोग प्याकेज आजको अवश्यकता बनेको छ ।
कोरोना भाइरसको कुनै सीमा छैन, यो यत्रतत्र सबैतिर फैलिने हुँदा तपाइँ हाम्रागाउँ बेसी, हिमाल, पहाड र तराईका तल्लो तहसम्म मानवीय सहयोगका कार्यक्रमको आवश्यकता देखिन्छ । सायद, त्यही भएर होला सरकारले केही दिन अघि कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि समुदायमा स्वयम्सेवक परिचालन सम्बन्धी मार्गदर्शन २०७६ जारी गरेको छ । यो मार्गदर्शनमा गैरसरकारी संघसंस्थाहरुलाई पनि उल्लेखनीय स्थान दिएको छ ता की गैरसरकारी संघसंस्थाहरुले यो बेला आ आफनो कार्यादेश अनुसारका सहयोग गर्नसकुन् । वडा। वडा स्तरमा सामाजिक संघ संस्थाहरुको सञ्जाल हुने भएकाले वडाध्यक्षको समन्वय र सहकार्यमा नागरिक संगठनहरुले सचेतनाका साथ साथै राहत प्याकेजहरु, स्वास्थ्य, स्वच्छ खानेपानी, खाद्यआदिका क्षेत्रमा सहयोग उपलब्ध गराउन सकिन्छ । साथै कतिपय संस्थाले स्वास्थ्यकर्मी तथा सुरक्षा निकाय जो यो महामारीमा अग्र भागमा रहेर काम गरिहेका हुन्छन् । उनीहरुको सुरक्षाका लागि समेत आवश्यक पर्ने सामग्री सहयोग गर्नसके झनै प्रभावकारी हुनेछ । संचेतनाका क्षेत्रमा कार्यरत कतिपय गैरसरकारी संघ संस्थाहरुले समुदायमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका एफएम रेडियोहरुको सहयोगमा आमनागरिकहरुलाई कोरानाबाट बच्ने उपायका सन्दर्भमा चेतनामूलक संदेशहरु प्रवाह गर्न सक्नेछन् ।
नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्यको ४८ नं को “ग”मा “राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु” भनेको छ सायद नागरिक तथा यीनका संगठनका आफना अधिकारहरुसंगसंगै कर्तव्य पनि भएकाले राज्यले कानुनकै रुपमा स्थापित गर्नु यस्तै संकट आइपर्न सक्छ भनेरै होला ।
अतःमानवीय संकटको यो घडीमा प्रत्येक नागरिक संगठनले राज्यलाई थोरै भएपनि सहयोग गर्नसके आमनागरिक र स्वयम् राज्यले पनि यो गुनलाई सधै सम्झिने नै छन् । यस संकटलाई चुनौती र अवसरका रुपमा लिँदै आजैबाट मनकारी हातलाई अघि बढाऊँ साथै कोरोना रोकथाम । नियन्त्रणकालागि सरकारले अवलम्बन गरेका सम्पूर्ण नीति तथा कार्यक्रमको पूर्ण पालना गरौँ अरुलाई पनि गर्न लगाऊँ । (महत मानवअधिकारवादी संस्था इन्सेकका प्रदेश ५ प्रमुख हुन् )








