
कोभिड १९ लाई लिएर कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले नेपाल भारत सीमाको दश गजास्थित क्वारेन्टाइनको अनुगमन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा कोरोनाको संक्रमण रोकथामका बारेमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर, नेपाली सेनाका बाहिनीपति, प्र.जि.अ,कर्णाली प्रदेश प्रहरी प्रमुख लगायत सुरक्षा निकायका प्रमुख, युनिसेफ,रेडक्रस लगायतका निकायसँगको बैठक आयोजना गरेका मन्त्री भण्डारी त्यसलगत्तै सीमास्थित क्यारेन्टाइन पुगेका हुन् । बैठकमा क्वारेन्टाइनमा रहेका कर्णाली प्रदेश लगायतका नागरिकहरुको व्यवस्थापन र भावी दिनहरुमा कोभिड संक्रमण लगायतका अन्य सहकार्यका विविध विषयमा छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी कृष्ण बहादुर रोकायाले जानकारी दिए ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी रोकायका अनुसार, छलफल पश्चात् उक्त टोलीले जमुनहा स्थित क्वारेन्टाइन र उक्त क्वारेन्टाइनमा रहेका नागरिकहरुको अवस्थाका बारेमा समेत मन्त्री भन्डारीले अवलोकन गरि जानकारी लिएका हुन् । क्वारेन्टाइनमा रहेका ब्यक्तिहरूलाई १४ दिनपछि घर लिने ब्यवस्था गर्ने र उनीहरूलाई घर फर्केर कोरोना विरूद्धको अभियन्ताका रूपमा सक्रिय हुन अनुरोध गरेका छन् ।








