लकडाउन : लापरवाही, अभ्यस्त पछि खुकुलो

आज देश लकडाउन भएको १२ औं दिन । सुरुको दिनमा लकडाउन पालना गराउन प्रशासनलाई हम्मेहम्मे पर्यो । प्रशासन, प्रहरीको आग्रहलाई मानिसहरुले अटेरी गरे । सकडमा निर्वाध हिडे । भीड जम्मा भए ।


लकडाउनको पालनामा लापरवाही भएपछि प्रहरीले कडाई गर्यो । सेना समेत सडकमा छाडियो । चोकचोकमा यातायातका साधन रोकिए । सीमाबाट भित्रिने मानिस दशगजामै रोकियो ।
लकडाउनको २÷३ पछि मानिसहरु लकडाउनको अभ्यस्त भए । तर, फेरि लकडाउनमा लापरवाही गर्न थालिएको छ । दिनभर जसो सडक सुनसान भएपनि साँझ एक्कासी भिड लाग्ने गरेको छ । कोरोना रोकथाम सम्बन्धी उच्च स्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले अत्यावश्यक वस्तु उत्पादन गर्ने, उद्योग–प्रतिष्ठान खोल्न दिने निर्णय गर्दै आव्हान समेत गरेको छ ।


मुलुकभित्र खाद्य र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने र अन्य उद्योगले पनि आफ्नै आवासीय मजदूर परिचालन गरेर सञ्चालन गर्न सक्ने भए त्यसलाई पनि सञ्चालन गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । ती उद्योग सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूरा गर्नुपर्नेछ । सञ्चालन गर्ने उद्योगलाई स्थानीय प्रशासनको आवश्यक सहयोग रहने छ । उद्योग सञ्चालन गर्दा भने आवागमन गर्न पाइने छैन । आफ्नै क्षेत्रभित्रका मजदूर बाहिर नपठाइ परिचालन गरेर सञ्चालन गर्न अनुमति दिने र यसको सहजीकरण भने स्थानीय प्रशासनले गर्ने निर्णय भएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका सरकारका प्रवक्ता डा खतिवडाले जानकारी दिनुभयो । हिउँदे बाली भित्र्याउने र बर्खे धान रोप्ने बेला भएकाले गहुँ काट्ने या धान रोप्ने या अन्य कृषि कार्य गर्ने विषयमा बाहिरी श्रमिक नल्याइ स्थानीय र पारिवारिकरुपमा बाली लगाउन र उठाउनका लागि अवरोध नगर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा पछिल्लो मन्त्रिपरिषद्को निर्णय र कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरलाई समन्वय समितिले सहजरुपमा परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो । मुख्यतः स्वास्थ्य उपचार, खाद्यान्न, स्वास्थ्य सामग्रीको आपूर्ति, शान्तिसुरक्षा तथा सूचना प्रविधिलगायतका कार्यसम्पादन गर्ने विषयमा क्यालेन्डर बनाएर अघि बढ्ने गरी छलफल भएको सरकारका प्रवक्ता डा खतिवडाले जानकारी दिनुभयो ।


लकडाउन खुकुलो बनाइएपछि मानिसहरु साँझको समयमा फेरि सडकमा भीड लगाउन सुरु गरेका छन् । लकडाउन खुकुलो भएपछि सामाजिक सञ्जालमा त्यसको आलोचना समेत हुन थालेको छ । संक्रमितको संख्या नबढेकाले सरकारले लकडाउन खुकुलो बनाएको हुन सक्छ । तर, यसले जोखिम बढ्ने चिन्ता आम मानिसहरुमा रहेको छ । लकडाउन खुकुलो हुनुको अर्थ मानिसहरुलाई पहिले जस्तो हिड्न दिनु भन्ने होइन । यसलाई सबैले बुझ्न आवश्यक रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया