नेपाली काँग्रेस बाँकेले आफ्नो कार्यालय भवनलाई क्वारेन्टाइनका रुपमा उपयोग गर्न सरकारलाई प्रस्ताव गरेको छ । शुक्रवार बाँके काँग्रेसका सभापति किरण कोइरालाले प्रेस विज्ञप्ति जारी नागरिकलाई आफ्नो देशमा ल्याएर सुरक्षित र व्यवस्थित क्वारेन्टाइनमा राखी उनीहरुको जीवन रक्षा गर्नु राज्यको दायित्व र कर्तव्य हो भन्नु भएको छ । सिंगो मुलुक कोरोना भाइरसबाट आक्रान्त भइरहेको अवस्थामा आमनागरिकलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउन यो संकटको अवस्थामा नेपाली कांग्रेस बाँके सरकारलाई साथ र सहयोग गर्न तयार छ भन्दै बाँके काँग्रेसको कार्यालय रहेको वि.पि.स्मृति भवन र सभाहललाई क्वारेन्टाइन सञ्चालनकालागि प्रयोग गर्न दिइने विज्ञप्तीमार्फत जानकारी गराइएको हो ।
सीमामा अलपत्र नेपालीलाई नेपालमा क्वारेन्टाइन ब्यवस्थापन सिमावर्ती दसगजा क्षेत्रमा अस्थायी क्वारेन्टाइन निर्माण गरेर ब्यवस्थापन गरिएको प्रति आभार प्रकट गरिएको विज्ञप्तिमा लकडाउनका कारण प्रभावित भएका नेपालीहरु अझैपनि स्वदेश फर्किने क्रम नरोकिएको हुँदा उनीहरुलाई सहज रुपमा आफ्नो देशमा प्रवेश गराएर क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाउन संघीय, प्रदेश र स्थानीय सरकारसँग माग गरिएको छ । क्वारेन्टाइनमा बस्दासम्म उनीहरुको लागि दैनिक रुपमा खाना, शुद्ध पिउने पानी, स्वास्थ्य जाँच, शौचालयलगायतको उचित ब्यवस्थापन गर्नतर्फ ध्यान दिन आग्रह गर्न बाँके काँग्रेसले जोड दिएको छ ।