गाँउपालिकाले भारतबाट आएका सबै मजदूरका लागि क्वारेन्टाइनको ब्यवस्था गरेको छ
कोरोना संक्रमणलाई मध्य नजर गर्दै भारतले गरेको लकडाउन पछि ज्यालादारीमा काम गरिरहेका नेपाली मजदूरहरु घर फर्कने क्रम जारी छ । सो क्रममा नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा १ सय ५० जना मजदूर राखिएका छन् ।
अहिले फर्कने क्रम जारी छ, नेपालगन्ज न्युज संग कुरा गर्दै नरैनापुर गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले भने, क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुलाई ब्यवस्थापन गर्न अहिले ठूलो चुनौती छ ।
मुख्य कुरो त, खाद्य सामाग्री र उपचार सामाग्री पाउन गार्हो छ, प्रमुख साहले भने, कुनै प्रकारले क्वारेन्टाइन ब्यवस्थापन भइरहेको छ । उत्तर प्रदेश सरकारले भारतको विभिन्न राज्यबाट उत्तर प्रदेशका लागि संचालन गरेको बस सेवामा कुनै प्रकारले बसेर नेपालका विभिन्न नाकामा आइपुगेका मजदूरहरुलाई ब्यवस्थापन गर्न सुरक्षा चुनौती समेत थपिएका छ ।
बाँके नरैनापुर गाउँपालिकाले नरैनापुर वडा नं.६ मा स्थापना गरेको एक सय बेडको क्वारेन्टाइनमा ६६ जना, वडा नं.४ मा संचालन गरेको १० बेडको क्वारेन्टाइनमा २ जना र गाउँपालिकाले नेपालगन्जमा संचालन गरेको क्वारेन्टाइनमा ७० जनालाई राखिएको प्रमुख शाहले बताए ।
महाराष्ट्रबाट ५० बढि युवाहरु आउँदैछन्, प्रमुख शाहले भने, कोरोना संक्रमणलाई मध्यनजर क्वारेन्टाइन क्षमता बढाउनु पर्ने देखिएको छ । नरैनापुर गाउँपालिकाले भारत संग जोडिएका सबै नाका गत साता शनिवारबाट नै सिल गरेको छ । भारतीय क्षेत्रमा कोरोना संक्रमण तीब्र रुप लिँदै गएपछि भारतीय क्षेत्रबाट हुने सबै आवागमन अनिश्चित समयका लागि रोकिएको हो ।
घर आउने कामदारलाई सरकारले रोक्न सकेको छैन । भारतको दिल्ली, पञ्जाब, महाराष्ट्र, हरयाना, मध्यप्रदेश, उत्तर प्रदेश लगायत राज्यबाट त्यहाँ काम गरि रहेका नेपाली नागरिक फर्कने क्रम जारी छ ।
सोमवार २२ जना भित्रिएको प्रहरीले जनाएको छ । भारतीय क्षेत्रबाट युवाहरु आएको सूचना पाएपछि सशस्त्र प्रहरी बल गंगापुरका इन्चार्ज विरेन्द्र बहादुर जिसीको कमाण्डमा रहेको टोलीले ६६ जना कामदारलाई क्वारेन्टाइन लगेको हो ।
नरैनापुर गाउँपालिका वडा नं.२ का अध्यक्ष मसूद अहमद शाह सहितको चिकित्सक टोली सबै कामदारको वडा नं.६ जयकिसान माविमा स्वास्थ्य जाँच गरि ब्यवस्थापन गरि रहेको छ ।
सिमा क्षेत्रबाट भित्रिएका सबै कामदार वा नागरिकहरुलाई क्वारेन्टाइनमा पुर्याउने काम गर्दै आएका छौं, नेपालगन्ज न्युज संग कुरा गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मान बहादुर बिसीले भने, अझै केहि ब्यक्तिहरु लुकिछिपी बसी रहेको सूचनाको आधारमा कारवाही अघि बढि रहेको छ ।