कोरोना विरुद्ध अभियान : बर्दियामा भारतबाट आएका व्यक्ति खोज्दै स्थानीय सरकार
भावुक योगी

कोरोना भाइरस (कोभिड १९) को महामारी विरुद्ध बर्दियाका स्थानिय सरकारहरुले तदारुकता देखाएका छन् । नेपालमा लकडाउन नहुँदै र लकडाउनकै बेला छिमेकी मुलुक भारत तथा अन्य मुलुकबाट घर फर्केका व्यक्तिहरुको खोजी सुरु गर्न स्थानिय सरकारले तदारुकता देखाएका हुन् ।
ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाले घरघरै पुगेर बाहिरबाट आएका व्यक्तिहरुको पहिचान गरिरहेका छन् । बिहिवारबाट सुरु गरिएको अभियानमा ठाकुरबाबा नगरपालिकाले एक जना स्वास्थ्यकर्मी, जनप्रतिनिधी र सुरक्षा निकाय गरि प्रत्येक वडामा ४ जनाको टोली खटाएको स्वास्थ्य शाखाका इन्द्रराज राजबंशीले जानकारी दिनुभयो ।
टोलीले बाहिरबाट आएका व्यक्तिको पहिचान गरि उसको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने, परामर्श दिने र घरमा सुरक्षित भएर बस्न आग्रह गर्ने गरेको छ । स्वास्थ्य जाँचका क्रममा कोरोनाको कुनैपनि लक्षण देखिए तुरुन्त क्वारेन्टीनमा लगेर राखिने स्वास्थ्यकर्मी विष्णुप्रसाद ज्ञवालीले बताउनुभयो ।
स्वास्थ्य जाँच तथा परामर्श टोली ठाकुरबाबा नगरपालिकाका ९ वटै वडामा परिचालन गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिनुभयो । टोलीले २ देखि ४ दिन भित्रै काम सक्ने नेउलापुर स्वास्थ्य चौकीका प्रमुख दिपक थापाले बताउनुभयो ।
विश्वभर भयावह रुपमा फैलिरहेको कोरोना भाइरस विरुद्धको लडाईमा नगरमा अभियान संचालन गरिएको नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो । ‘यो महामारी विरुद्धको लडाई हो, यसलाई रोक्न सबैले सजगता अपनाउनै पर्छ, यस्तो अवस्थामा नगरबासीको स्वास्थ्य प्रति स्थानिय सरकार निकै संवेदनशिल छ, नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।
स्थानिय सरकारले चालेको यस कदमको स्थानियबासीसंगै निजि स्वास्थ्य संस्थाले पनि निकै प्रशंसा गरेका छन् । नगरपालिकाको कोरोना विरुद्धको अभियानमा स्वस्फुर्त खटिनुभएका भुरिगाउँको केपी पोलीकिल्नीकका कृष्णप्रसाद पौडेलले भन्नुभयो ‘असाध्यै राम्रो कामको सुरुवात भएको छ । हामी पनि यस अभियानमा सहयोग गर्न तत्पर छौँ ।
बाहिरबाट घर आएकाहरुको सहि विवरण दिएर गाउँटोलका सबैले यसमा सहयोग पुर्याउनु हामी नगरिकको दायित्व हो । सरकारले आह्वान गरेको लकडाउनलाई पूर्ण रुपले पालना गर्न स्थानिय सरकारहरुले सामाजिक सञ्जाल तथा माइकिङ्गबाट दिनहुँजसो अनुरोध गर्ने गरेका छन् ।








