आज र भोलि होली मनाइँदै, प्रहरी निगरानी गर्दै

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज सोमबार पहाडी र भोलि मंगलबार तराईमा मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।


यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले सामूहिक रुपमा भेला भएर होली नखेल्न सरकारले आव्हान गरेको छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।


त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।


यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताएका छन् ।


राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।


फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् ।
यो चाडमा थकाली रङ्गीबिरङ्गी पोशाकमा सजिएर सपरिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ ।


फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।


अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यजनक वेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । यसैगरी श्रीलङ्का र इन्डोनेशियाको जाभामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेशियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।

‘अमर्यादित कार्य गरे कारवाही’

दुई दिन मनाइने होली पर्वको अवसरमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पर्व बहानामा अमर्यादित र अभद्र व्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिई कारवाही गर्ने जनाएको छ ।


बाँके प्रहरी प्रवक्ता, डिएसपी शिव बहादुर सिंहले कोरोना विरुद्ध सतर्कताका लागि सामूहिक रुपमा होली नखेल्नु उचित रहेको बताए । उनले भने, ‘मानिसहरु भेला हुने खालका कार्यक्रम होलीमा नगर्दा उचित हुनेछ ।


डिएसपी सिंहले होलीलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुत बनाउने बताएका छन् । ‘पर्वका बहानामा अभद्र र अमर्यादित रुपमा प्रस्तुत हुने जो कोहीलाई कारवाही गरिनेछ’, उनले भने, ‘त्यसका लागि पर्याप्त प्रहरी परिचान गर्नेछौं ।’


रमाइलोका नाममा गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी होहल्ला गर्ने, मापसे गरी सवारी साधन चलाएको फेला परेमा उनीहरुलाई तत्काल नियन्त्रणमा लिने डिएसपी सिंहले बताए ।


‘शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृतिलाई नियन्त्रणमा लिनेछौं’, डिएसपी सिंहले भने ।

प्रतिक्रिया

प्रतिक्रिया