सांस्कृतिक प्रस्तुति सहित आदर्शले भव्य बार्षिकोत्सव मनायो

नेपालगन्जस्थित आदर्श स्कुलले शनिवार भव्यरुपले आफ्नो १९ औं बार्षिकोत्सव मनाएको छ । औपचारिक समारोहसँगै विद्यार्थीहरुका विभिन्न सांस्कृतिक प्रस्तुति सहित आदर्शले भव्य बार्षिकोत्सव मनाएको हो ।


प्रदेश नम्बर ५ की प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वर्षभरि विद्यार्थीले गरेका प्रतिष्पर्धाका नतिजाका आधारमा उत्कृष्टहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण पनि गरिएको थियो । प्रमुख अतिथि प्रदेशसमा सदस्य केसीले गुणस्तरीय पढाईका अलाबा अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालयले हासिल गरिरहेको उपलब्धिको प्रशंसा गरिन् ।


जिल्ला शिक्षा समन्वय इकाई प्रमुख रामसुरेश यादवले विद्यालयहरुले पढाईसँगै विद्यार्थीहरुको सामाजिक व्यवहारको विकास गर्न पनि ध्यान दिनुपर्ने सुझाव दिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रमुख निर्देशक इश्वर प्रसाद पोखरेलले आदर्शमा पढाईसंगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा अग्रसर गर्दै उनीहरुको व्यक्तित्व विकास गर्न विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिए । प्रमुख निर्देशक पोखरेलले विद्यालयप्रति अभिभावकले देखाउनुभएको विश्वासलाई डग्मगाउन नदिई गुणस्तरीय र जीवन उपयोगी शिक्षा दिन कुनै कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गरे ।


औपचारिक समारोहमा नेपालगन्ज वडा नम्बर १० का वडा अध्यक्ष बिन्दुभुषण बस्नेत, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, सनबिम स्कुलका अध्यक्ष गिरिराज पौडेल, अभिभावकहरु अरुण चौधरी र संगम मल्लले आफ्ना धारणा राखेका थिए । सहायक प्रिन्सिपल टंक प्रसाद गौतमले सञ्चालन गरेको औपचारिक सत्रमा पछिल्लो एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याएका ५ जना छात्राहरुलाई अनुराधा स्मृति पुरस्कार वितरण पनि गरिएको थियो । अनुराधा स्मृृति कोषका संरक्षक ध्रुव अधिकारीले पुरस्कार वितरण गरेका हुन् । अधिकारीकी छोरी अनुराधाको एसइइ नतिजा पर्खिरहँदा महाविनाशकारी भूकम्पमा परि ४ वर्षअघि निधन भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया