मुफतलाल युगको सुरुआत

दिल्ली विश्वविद्यालयको आङ्गिक क्याम्पस डा. जाकिर हुसैन कलेजको ठीक पारीपट्टी नयाँ दिल्ली रेलवे स्टेशन र दिल्लीगेट बीचमा रहेको त्यो ऐतिहासिक मैदान जहाँ माहात्मा गांधी देखि जय प्रकाश नारायण, राम मनोहर लोहिया सम्मले आफ्नो मन्तव्यको स्थान बनाए । जहाँ आजपनि बडादशैंको नवदुर्गामा भव्य रामलीलाको मञ्चन हुने गर्छ । दिल्लीको सबैभन्दा पुरानो रामलीला मञ्चन हुने त्यो मैदान मिति २०७६ साल फाल्गुन ४ गते आइतबारका दिन फेरि दिल्लीबासीको आगमनले खचाखच थियोे । तर त्यस दिन कुनै रामलीलाको मञ्चन थिएन । न त त्यहाँ कुनै लोहियाहरुको भाषण थियो, न त्यहाँ महान गायिका लता मङ्केशकरको ‘ आए वतन के लोगों‘ गीत थियो न ब्रिटेनकी महारानीको स्वागत भै रहेको थियो । त्यो भीड, त्यो उत्साहपूर्ण सहभागिता थियो तेस्रो पटक दिल्लीको कमान सम्हाल्न पुगेका दिल्लीका र बर्तमान भारतीय राजनीतिमा नयाँ युगको शुरुआत र स्थापित गर्ने नायक अरबिन्द केजरीवालको शपथग्रहण समारोहको ।


भनिन्छ इतिहास त समयले बनाउँछ , मान्छे त मात्र थापना मात्रै हो । समयको चक्र पनि स्वचालित मशीन झैं एउटै रफ्तारमा चलिरहन्छ भन्नु गलत हुन्छ अझ शासन प्रशासनमा त यसरी भन्न सकिँदैन । इतिहास साक्षी छ देशका भूगोल फेरिन्छन् , शासक फेरिन्छन् अनि शासनको आचार बिचार फेरिन्छ । पात्र फेरिँदैनन् तर पात्रता फेरिन्छ । दिल्लीको भूगोल त उहि छ तर पनि शासनमा सन् २०१३ पछि एउटा अर्को पद्धतिको शुरुआत गर्ने संकल्पका साथ अरबिन्द केसरीवाल आएका छन् । भ्रष्टाचार बिरुद्ध जनलोकपाल कानूनको मागमा अनसन बसेका चर्चित भारतीय समाजिक अगूवा कार्यकता अन्ना हजारेको आन्दोलनका एक सारथी अरबिन्द केजरीवालले सन २०१२ नभेम्बरमा आम आद्मी पार्टी गठन गरेर परम्परागत भारतीय राजनीतिमा नयाँ आयामको शुरुआत गरे । आफ्नो पहिलो चनावमा नै ७० सदस्यीय दिल्ली बिधानसभामा ३१ सीट ल्याएर पहिलो पटक सवा सय करोड जनसंख्या भएको बिशाल देश भारतको संघीय राजधानी प्रदेश दिल्लीका मुख्यमन्त्री बने । यो चहेरा पुरै नयाँ थियो । राजनीतिको पात्रता बिलकुल फरक थियो । यो चेहेरा न त राजनीतिको आरनमा खारिएको पाइन थियो, न यो बर्षौं जेल बसेर ब्याजखान उदाएको राजनीतिक साहुकार । यो व्यक्ति थियो भारतीय राजश्व विभागमा एउटा उच्च पदमा आसीन कर्मचारी जसलाई न त कुनै दरबार आफ्नो नाममा नामसारी गर्ने मोह थियो न त सातपुस्ताका लागि सम्पत्ती जोडेर इमान्दारीताको शब्द प्रमाण पेश गर्दै हिँड्ने रहर । बिल्कुलै फरक तर अनभिज्ञ, अन्जान जसको योजनामा थुप्रै अन्तर्य लुकेको थियो जुन कुरा आफ्नो दोस्रो मुख्यमन्त्री कार्यकालको चार बर्ष पछि मात्र देखिन थाल्यो ।


गत मसींर महिनाको पहिलो हप्ता म दिल्ली जाँदा दिल्लीको चुनावको लागि तीन महिना बाँकी थियो । मेरो एक हप्ते बसाइका क्रममा त्यहाँ थुप्रै दिल्लीबासीहरुसँग अन्तरंग हुने अवसर मिल्यो जो दिल्लीमा सरकार बनाउने भोटरहरु थिए । उनीहरुसँग दिल्ली सरकार र अरबिन्द केजरीवालको कामको बारेमा उनीहरुको विचार जान्ने पनि मौका मिल्यो । त्यतिखेर मैले पाएको दिल्लीको आम चाहना केन्द्रमा मोदी र दिल्लीमा अरुभन्दा केसरीवाल नै ठीक भन्ने नै थियो । मलाई त्यो कुराले छोयो अनि मैले दिल्लीलाई अध्ययन गर्ने निधो गरें । भौतिक रुपमा बिकासको कुरा गर्ने हो भने पन्ध्रबर्षे काँग्रेस शासनमा त्यहाँकी तत्कालिन मुख्यमन्त्री शीलालदिक्षितको जति काम दिल्लीमा आजसम्म पनि भएको छैन । आज पनि दिल्लीको आजको रुपको जग बसाल्ने को भन्दा शीला दिक्षित कै नाम आउँछ । तर आज शीलाको काँगे्रस उनको अनुपस्थितीमा टुहुरो बनेको छ । उनकै गढमा ४ प्रतिशमा झरेको छ । काँग्रेसबाट दिल्लीको मुड किन फेरियो त ? केन्द्रमा ऐतिहासिक सफलता पाएको मोदी सरकारको नौ महिना पुरा पनि नबित्दै र बिश्व राजनीति र कुटनीतिमा एउटा सफल सरकारको दिल्लीमा किन प्रभाव पर्न सकेन ? यसमा मेरो झिनो अध्ययनबाट निक्केको निष्कर्ष हो ‘मुफतलाल युगको शुरुआत’ ।


भारतको राजधानी दिल्ली भारतको फिल्मी नगरी, आर्थिक राजधानी मुम्बई पछिको ठूलो आर्थिक उपार्जन गर्ने शहर हो । संसारको आधा जनसंख्या दक्षिण एशिया, दक्षिणपूर्व एशिया र हिन्द महासागर तटीय राष्ट्रहरुको राजनीतिक र कुटनीतिक केन्द्र हो । दिल्लीको जनसंख्या झण्डै नेपालको भन्दा बढि ( ३ करोड ) छ । यहाँ बहुधार्मिक जनसंख्या रहेको छ । यहाँ झण्डै ८२ प्रतिशत हिन्दु, १२.६ प्रतिशत मुस्लीम, ०.८ प्रतिशत इसाई , ०.९ प्रतिशत बौद्ध, ३.४ प्रतिशत सिख , १ं प्रतिशत जैन रहेको तथ्याङ्क भेटिन्छ । यो शहरको भूगोल १४८४ वर्ग किलोमीटर र जनघनत्व २९२६० प्रति वर्गमाइल रहेको छ । यहाँको औसत प्रतिव्यक्ति आय आम भारतीयहरुको भन्दा तीन गुणा बढि छ । दिल्लीको सरकारको कुल बजेट गतबर्षको आर्थिक बजेट अनुसार २५.५७ खर्ब रहेको छ । ९७ प्रतिशत साक्षरता रहेको दिल्लीमा त्यहाँको शिक्षा विभागको तथ्याङ्क अनुसार ३२६ सर्वोदय विद्यालय सहित सरकारी र नीजि गरि ४७९६ विद्यालय रहेका छन् । जसमा झण्डै ३० लाख विद्यार्थी पढ्छन् । त्यहाँको राज्य सरकारले आफ्नो कुल बजेटको २६ प्रतिशत शिक्षामा खर्च गर्ने गरेको गत बर्षको बजेटबाट देखिन्छ । दिल्लीमा सरकारी विद्यालयमा विद्यार्थी भर्ना गर्न पाउनु निकै गर्वको कुरा मात्र मानिदैन ठूलो सफलता प्राप्त गरेको अनुभूति भएको पनि मानिन्छ । अरबिन्द केसरीवालले यहि कुरालाई मुख्य मुद्दा बनाएर सन २०१४ को चुनाव जितेर दोस्रो पटक मुख्यमन्त्री बनेका थिए ।


‘मुम्बई पैसे वालोंका दिल्ली दिल वालोंका ’ भने झैं आफ्नो दोस्रो कार्यकालको उत्तरार्धमा आम आद्मी पार्टीले दिल्लीमा मुफतलालवाला दिल देखायो । त्यहाँका झण्डै ३४.३६ लाख परिवारलाई २०० यूनिट सम्मको बिजुलीको खपतमा शुन्य भुक्तानी र ४०० यूनिट सम्मको खपतमा ५० प्रतिशत छूटको योजना लागू गर्यो भने २० हजार लिटर निशुल्क पानीको योजना पनि लागू गर्यो । यहाँका झण्डै ११.३४ प्रतिशत परिवारको औसत बिजुलीको बिल २०० यूनिट भन्दा कम आउने गर्छ । यहि तथ्याङ्कलाई मान्ने हो भने झण्डै २२.६८ लाख यूनिट बिजुली मुफतमा दिनु पर्छ जसका लागि मात्रै सरकारले १८ देखि २० अर्ब राजश्व गुमाएको छ । यो भनेको कुल खर्च बजेटको ३.३३ प्रतिशत हो । यसै गरी पानी स्वास्थ दवाइ लगायतका अन्य सुविधाहरुको लागि गरिने खर्चहरुको र निशुल्क यातायातको लागि गरिने लागतको हिसाब आउँदा दिनमा आउने छन् किनकि यो योजना लगाएपछिको दिल्ली सरकारको पूर्ण बजेट आउन बाँकी नै छ । केजरीवालका धेरै कामहरु राम्रा पनि छन् सरकारी विद्यालयमा बालबालिकाले भर्ना पाउन पहिला जस्तो पक्षपोषण गर्नु पर्दैन एउटा तोकिएको स्वचालित पद्धतिले काम गर्छ । यसलाई थाँती राखेर यहाँ उनका झैं राज्यको ढुकुटीबाट खैरात बाँडने होड देशभरि नै लाग्यो भने यसले अर्थतन्त्रको दिशा मात्र होइन दशा पनि फेरिने पक्का छ । यहाँ त उनको मुफतवाला कार्यको कोणबाट मात्रै चर्चा गरिएको हो ।


राज्य जनताको हो र सरकार जनताका लागि हो । लोकतान्त्रिक शासनमा बिश्वास राख्नेले यसमा शंका गर्नु पर्दैन । राज्य कति कल्याणकारी र कुन कुरामा कल्याणकारी हुने हो भन्ने कुराले देशको भोलिको दिशा तय गर्छ । कल्याणकारी राज्यलाई नबुझ्नेहरु मुफतमा सबथोक बाँड्नुलाई ठान्छन् होला तर वास्तविक कलयाणकारी राज्य भनेको त हुनेले तिर्ने हो र नहुनेलाई वितरण गर्ने हो । तर हामीहरुको बानी यस्तो भै सक्यो कि तिर्न सक्नेले पनि मुफतमा नै पाउनु पर्छ अनि मात्रै सरकार कल्याणकारी हुन्छ भन्छौं । यो सोंचले देशका विद्यमान साधन र श्रोतहरु अहिलेको पुस्तालाई मात्रै हुनु हुँदैन । एउटा पार्टीको सस्तो प्रचार र चुनाव जित्ने प्रपञ्चमा देशको अर्थतन्त्रको धार नै परिवर्तन गर्नु भनेको भोलीको पुस्तामाथी आत्मघात गरेको नहोला भन्न सकिँदैन । नेपालमा पनि प्रचारमा रमाएर सत्ताको भर्याङ्क चढ्न यस्ताखाले भत्ता र निशुल्कका योजनाहरु नआएका होइनन् र अबको ३ बर्ष पछि हुने नेपालको चुनावमा पनि बिजुली या यस्तै कुनै निशुल्क भन्ने योजनाहरु आएमा अचम्म मान्नु पर्दैन । चुनाव जित्न उत्तम उपाय भनेको नै राज्यको ढुकुटी अकारण नै लुटाइदिने सजिलो उपाय अब पत्ता लागिसकेको छ । राज्यलाई केहि दिन नखोज्ने तर सधैं राज्यबाट पाउनु मात्रै पर्छ भन्ने मान्यताका कारण नेपालमा पनि एकातिर कर तिर्नेहरुको संख्या बढ्न सकेको छैन भने अर्कोतिर शासकका बगलीमा बसेपछि करछल्ने कर्म छम्य हुन्छ भन्ने मनोवृति रहेको पाइन्छ ।


दिल्लीका मुख्यमन्त्रीको सिको गर्दै अगामी बर्ष सन् २०२१ मा हुने चुनावलाई मध्येनजर गरेर भारतको राज्य पश्चिम बंगालमा त्यहाँकी मुख्यमन्त्री ममता बनर्जीले ७५ यूनिट विजुलीको शुल्क मिनाह गर्ने योजना पस्केकी छन् । हिजो भारतभरि गुजारात मोडेलको बिकासको अवाधारणा बाँडेका नरेन्द्र मोदीको मोडेलमा अब अरबिन्द केजरीवाल कै भनाइमा दिल्लीको बिकास मोडेलको चर्चा हुने छ । उनले रामलीला मैदानबाट दिल्लीबासीलाई धन्यबाद दिँदै गर्दा यसको तरङ्ग महाराष्ट्र, राजस्थान, मध्ये प्रदेश, झारखण्ड सम्म फैलिइसकेको छ । कुनै समय तामिलनाडुमा उठेको साडी बाँड्ने योजना दिल्ली पुग्दा बिजुली पानी निशुल्कमा देखियो भने बैंकबाट लिएको कर्जा माफी सम्म पनि पुगेको छ । भविष्यमा त्यहाँको अर्थतन्त्रमा यसको दुरगामी असर कस्तो पर्छ त्यो भने अहिले नै भन्न सकिँदैन ।


भारतीय अर्थतन्त्रमा अहिले मन्दी छाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको ५ ट्रिलियन डलरको अर्थतन्त्र बनाउने योजनामा दिल्ली मोडलले पक्कै पनि असर गर्ने छ । श्रेष्ठ भारत र समुन्त भारतको मोदीको योजनामा यो मुफतलाल मोडलले ब्रेक लगाउनेमा कत्ति पनि शंका गर्ने ठाँउ छैन । आयुष्मान भारत योजना ( स्वास्थ्य बीमा कार्यक्रम ) समेत लागू गर्न नदिएका केजरीवालले आफ्नो मुफतलाल मोडेलको व्यापकता बनाएर आफु स्थापित मात्रै भएका छैनन् अन्य मोदी मोडेल बिरोधीहरु, भारतीय सत्ताबाट बाहिर बस्न बाध्य भएकाहरु पुनः सत्तामा आउने उपायको खोजीमा बिभिन्न धार्मिक देखि साम्प्रदायिक र क्षेत्रिय मुद्दाहरु खोजिरहेको बेला दिल्लीको मुफतलाल मोडेलले प्राण भरिदिएको छ । अब अन्य कुनै मुद्दा भारतीय चुनावमा आवश्यक पर्ने छैनन् । किसानको ऋणमाफ आश्वासनबाट मध्यप्रदेश राजस्थान जितेको काँग्रेस र बिपक्षी पार्टीहरु अब दिल्ली मोडलबाट अगाडी बढ्नेछन् ।

मोदीको विकल्पको व्यक्ति विपक्षीले उभ्याउन नसकेको वर्तमान परिप्रेक्षमा मुफतलाल युगको आधिकारिक शुरुआत गरेर सफल भएका अरबिन्द केजरीवाल दिल्लीको मात्रै हिरो भएका छैनन् उनी अब भारतीय र दक्षिण एशियाका लागि नै एउटा हिरो बन्ने बाटोमा छन् । दिल्ली बसाइका क्रममा एक जनाले भनेको कुरा याद आयो ‘दिल्ली ने अपना हिरो पहचान लिया है बाँकी पार्टी अपना किमती समय बर्बाद ना करें’

प्रतिक्रिया

प्रतिक्रिया