भ्रमण बर्ष, छैन उत्साह

देशभर पर्यटन बर्ष सन् २०२० को घोषणा तामझाम र उत्साहपूर्वक भएको थियो । उद्घाटन जसरी गरियो त्यसअनुरुप प्रवद्र्धनका काम नहुँदा बाँकेमा व्यवसायीहरुमा खासै उत्साह देखिएको छैन । पर्यटकलाई नेपाल भित्र्याउन प्रवद्र्धनका कार्यहरु पर्याप्त नभएकाले व्यवसायीहरु समेत त्यति उत्साहित नभएको बताउँछन् ।


पर्यटन वर्षको भव्य सुरु गरिएको एक महिना बितिसकेको छ । यो एक महिनाको अवधिमा पर्यटन वर्षलाई लिएर कुनै विशेष तयारी नगरिएको ट्राभल एजेन्टहरु बताउँछन् । वेस्टर्न टुर एण्ड ट्राभल्सका सञ्चालक कुमार श्रेष्ठले टिकट काट्ने र पर्यटकहरुलाई गन्तव्यसम्म पु¥याउन यातायातको व्यवस्था गर्ने तयारी बाहेक विशेष प्याकेज नल्याइएको उनी बताउँछन् । ‘अहिलेसम्म विशेष तयारी केही गरिएको छैन’, उनी भन्छन् ।


श्रेष्ठ जस्तै वेष्ट मिडवेस्ट टुर एण्ड ट्राभल्सका सञ्चालक नवराज प्रधानले पनि अहिलेसम्म पर्यटन वर्ष लक्षित प्याकेजहरु नल्याइएको बताए । उनले सरकारी लक्ष्यमा सरकारी निकायकै उदासिनता देखिएका बेला ट्राभल एजेन्टहरु पनि उत्साहित हुन नसकेको बताउँछन् । ‘एक वर्षसम्म पर्यटन कार्यालय नै कहाँ छ भन्ने पत्तो पाइएन । पर्यटन वर्ष उद्घाटन भनेर एकदिन कार्यक्रम गरियो । त्यसपछि कसरी पर्यटन वर्ष मनाउने भन्ने नै यकिन छैन,’ प्रधानले भने । पर्यटकहरुलाई भित्र्याउन सरकारी निकाय नै गम्भीर नभएको उनको ठम्याइ छ ।


अलाईन टुर्स एण्ड ट्राभल्सका सञ्चालक यम श्रेष्ठ पनि सरकारले महत्वाकाँक्षी योजना ल्याए पनि त्यसलाई सफल पार्ने योजना तिर ध्यान दिन नसकेको बताए । ‘हामीसँग न स्थानीय सरकारले सहकार्यको हात बढाएका छन् न प्रदेश र केन्द्र सरकारले । मात्रै वर्षको नाम पर्यटन वर्ष राखेर मात्रै पुग्दैन । त्यसका लागि सम्बद्ध सबैसँग सरकारले समन्वयको कामलाई तिव्रता दिनुपर्छ,’ उनले भने । टिकेटिङ्गको काममा समस्या नआओस भन्नेतिर विशेष ध्यान बताउँदै श्रेष्ठले प्याकेज नै ल्याउन भने नसकिएको जानकारी दिए ।


अरुणाभटुर्स एण्ड ट्राभल्सका सञ्चालक आरपि पोखरेल पनि राज्यले ट्राभल व्यवसायीको उत्साह बढाउन नसकेको बताए । ट्राभल व्यवसायीहरु पर्यटन वर्ष जिल्ल समन्वय समितिको कामप्रति पनि सन्तुष्ट छैेनन् । पर्यटन वर्षको उद्घाटनका लागि मात्रै समिति बनाइएको जस्तो देखिएको उनीहरुको धारणा छ । नाट्टाले सरकारी उदासिनताका वावजुद विशेष कार्यक्रम के गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरिदिए आफुलाई प्याकेजहरु बनाउन सजिलो हुने एजेन्टहरुको भनाइ छ ।


नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल पनि ट्राभल व्यवसायीहरुमा उत्साह बढ्न नसकेको बताउँछन् । सन्देश टुर्स एण्ड ट्राभल्सका सञ्चालक सिग्देल आफुले भने करिब १ दर्जन स्थानको प्याकेज बनाइसकेको बताउँछन् । ‘ति प्याकेजहरुमा अन्य एजेन्ट साथीहरुलाई पनि काम गर्नुस् भनेको छु । यसमा उहाँहरुकै तदारुकता आवश्यक हुन्छ,’ सिग्देलले भने । उनले नाट्टाले सरकारी निकायलाई मात्रै दोष दिएर नबस्ने बताउँदै छिट्टै गोष्ठीको आयोजना गरी ट्राभल एजेन्टहरुलाई प्याकेजहरु बनाउन सघाउने कार्यक्रम तय भएको बताए । ‘पर्यटक केन्द्रित प्याकेजका लागि हामी छिट्टै गोष्ठी राख्दैछौं’, अध्यक्ष सिग्देलले भने ।


पर्यटकहरुलाई गुणस्तरिय सेवा दिन आफुहरु तयार रहेपनि अहिले नै प्याकेज घोषणा गरिहाल्न उत्साहित नभएको एजेन्टहरु बताउँछन् । यसका लागि पर्यटन व्यवसायसँग सम्बन्धित सबै पक्षबिचमा समन्वयको पाटो फितलो देखिएको व्यवसायीहरुको चिन्ता छ । त्यसका लागि सरकारी निकाय, व्यवसायिक संगठनहरु र उड्ययन कम्पनीहरु बीचमा गहन छलफल हुन आवश्यक रहेको ट्राभल व्यवसायी बताउँछन् ।


बाँकेमा जिल्ला र प्रदेश ५ मा प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समिति रहेको छ । जिल्लामा रहेको पर्यटन प्रवद्र्धन समितिसँग यहाँका पर्यटकीय स्थलको प्रवद्र्धनका लागि पर्याप्त बजेट उपलब्ध छैन । जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिले छिमेकी मुलुक भारत पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने योजना बनाएपनि बजेट अभावमा हुनसकेको छैन ।


होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीमलाल कंडेल जिल्ला स्तरीय समिति छिट्टै भारत प्रवद्र्धनका लागि जाने बताउँछन् । ‘त्यसका लागि बजेट जुटाउँदैछौं’, समितिका सदस्य समेत रहेका अध्यक्ष कंडेलले भने । बाँकेका टुर्स एण्ड ट्राभल व्यवसायी नभएर यहाँको होटलहरुमा पनि खासै उत्साह देखिएको छैन । ‘प्रवद्र्धनमा काम हुन नसक्दा अपेक्षित परिणाम नभित्रिएको हुनसक्छ’, अध्यक्ष कंडेल भन्छन् । कतिपय होटल व्यवसायीले यसै महिना देखिएको कोरेना भाइरसको संक्रमण त्रासका कारण पनि पर्यटकहरु घुम्न ननिस्केको हुनसक्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया