बागेश्वरी मन्दिरको ८४ विगाह जग्गाबारे भएको अनुसन्धान र तत्सम्बन्धी निकायले गरेको सिफारिसलाई लिएर भैरहेको विवादबारे बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्को जेठ ६ गतेको निर्णय अनुसार पूर्व न्यायाधीश मोहन रमण भट्टराईको अध्यक्षतामा गठित सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगले बागेश्वरी मन्दिरको सम्पत्तिबारे अध्ययन प्रतिवेदन बुझाएपछि विवादलाई लिएर बागेश्वरी गुठीले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
गुठीका सचिव गोपाल प्रसाद अधिकारीले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी बागेश्वरी मन्दिरको कुनै जग्गा गैर कानुनी रुपमा व्यक्ति विशेषको नाममा गएको हो वा व्यक्तिका नाममा दर्ता कायम भएको जग्गा व्यक्ति विशेषकै पुर्खौली वा निजी के हो भन्ने बारे अधिकारसम्पन्न निकायले जाँचबुझ गर्न बाँकी नै रहेको उल्लेख गरेका छन् ।
बागेश्वरी मन्दिरको सम्पत्ति संरक्षण र सम्बद्र्धन गर्नु\गराउनु समितिको कर्तव्य भएको भन्दै सचिव अधिकारीले विज्ञप्तिमा भनेका छन्, ‘कोही, कसैको निजी सम्पत्ति सरकारीकरण वा सार्वजनिकीकरण गर्ने उद्देश्य एवं क्षेत्राधिकार यो समितिमा छैन ।’
खासगरी भट्टराई आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि तत्काल कार्यान्वयनमा सरकारको अग्रसरतालाई लिएर प्रकाशित समाचारहरुपछि इन्द्रपुर करमोहनाका बासिन्दा आन्दोलित भएका थिए । ‘अन्ततः सत्यता स्वीकार गर्नुपर्यो’, आगामी मंगलबारसम्मका लागि आन्दोलन स्थगित गरिएको जानकारी दिंदै करमोहना गुठी रैतान नम्बरी जग्गा संघर्ष समितिका प्रवक्ता सन्तकुमार बर्माले ‘आयोग समेतले गम्भीरतापूर्वक अध्ययन नगरेको’ गुनासो गरे । संघर्ष समिति आन्दोलन स्थगित गरी सम्बद्ध निकायसँग छलफल र बहसमा केन्द्रित रहेको प्रवक्ता बर्माले जानकारी दिए ।
जग्गा प्रकरणलाई लिएर बहस, विवाद र आन्दोलन भैरहँदा प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले सार्वजनिक गरेको उत्तेजित धारणालाई लिएर आलोचना बढेको छ । महन्त योगीले जग्गा प्रकरणमा औपचारिक रुपले कुनै भूमिकामा नरहेका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणालाई ‘गब्बर सिंह’को संज्ञा दिएपछि आलोचना बढेको हो ।
आफै सदस्य रहेको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख डा. राणाले महन्त योगीले निकै अभद्र शैलीमा सार्वजनिक रुपले टिप्पणी गरेपछि दुई बीच दुरी बढेको छ । डा. राणाले प्रतिक्रियामा महन्तलाई ‘जेल जाने अवस्था आएपछि पोखिएको आक्रोश’ भन्दै टिप्पणी गरेको कुरा सञ्चारमाध्यममा आएको थियो ।
यसैबीच, गुठीले अध्यक्ष डा. राणाप्रति लक्षित गर्दै ‘अशोभनीय, भ्रामक, आक्रोशपूर्ण गरिएको’ भन्दै ध्यानाकर्षण भएको जनाएको छ । समितिका सचिव गोपाल प्रसाद अधिकारी शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त विषयलाई संकेत मात्र गरिएको छ । यद्यपि, गुठीले समितिकै सदस्य रहेका मूल महन्त चन्द्रनाथ योगीको ‘अभद्र अभिव्यक्ति’ बारे स्पष्टिकरण सोधेको सम्बद्ध स्रोतले जनाएको छ । ‘के कति कारणले त्यसखाले टिप्पणी गरियो’, गुठीले महन्तलाई सोधेको सम्बद्ध स्रोतको भनाइ छ ।