औषधीविहीन नगरका स्वास्थ्य चौकी

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ का शिवकुमार बर्मा उपमहानगरपालिकाको स्वास्थ्य चौकीको सेवामा सन्तुष्ट छैनन् । ‘चाहिएको बेला नै औषधी नै पाइँदैन । सामान्य विरामीहरुलाई पनि निजी मेडिकलमा लैजानुपर्छ,’ उनले भने । स्थानीयमा स्वास्थ्य चौैकीमा राम्रो सेवा पाइन्छ भन्ने विश्वास पनि बढ्न नसकेको उनी बताउँछन् । वर्माको गुनासो सुनेर वडा कार्यालयसँगै रहेको स्थानीय वसुदेवपुर स्वास्थ्य चौकी पुग्दा स्वास्थ्यकर्मीले पनि बेला–बेला औषधी अभाव भइरहने गरेको र पछिल्लो समय पनि अभाव रहेको बताए ।


नेपालगन्ज–१९ स्वास्थ्यचौकीका जनस्वास्थ्य निरिक्षक मोहनलक्ष्मी शाहले जाडो सिजन छाला सम्बन्धी रोग बढी देखिने भएपनि यही सिजनमा त्यस्ता रोगको मल्हमको अभाव भएको बताइन् । ‘हामी कहाँ दैनिक ४०–५० जना बिरामीहरु आउँछन् । ति मध्ये अधिकांश विरामी बाल बच्चा र छाला रोगका हुन्छन्’, उनले भनिन्, नगरपालिकाको स्वास्थ्य शाखामा औषधी लिन जाँदा ५–१० दिनलाई पुग्ने मात्रै दिएर पठाउँछन् । अब कसलाई दिनु कसलाई नदिनु ।’ निरिक्षक शाहका अनुसार, स्वास्थ्य चौकीमा औषधीको अभाव हुन थालेको करिब ३ महिना भइसकेको छ । छाला सम्बन्धि रोगका मल्हम र बच्चाहरुमा स्वासप्रश्वास सम्बन्धि रोगका लागि आवश्यक सिरपहरु शुन्य अवस्थामा रहेको उनले बताइन् । यसैगरि परिवार नियोजनाका साधनहरुको पनि अभाव रहेको उनले जानकारी दिइन् ।


स्थानीय तहको मातहतमा रहेका स्वास्थ्य संस्थामार्फत सरकारले ३५ प्रकारका औषधीहरु निःशुल्क वितरण गर्छ । तर, वसुदेवपुर स्वास्थ्य चौकीमा ती मध्ये सिटामोल, पखालाको औषधी, जिवनजल, ग्याँस्ट्रिक र आँखाको औषधी बाहेकका अन्य औषधीहरु पर्याप्त छैनन् । ‘कम रहेका औषधीहरुको आवश्यक मात्रमा दिन नसकिएपछि सेवाग्राहीहरु हामीलाई औषधी नदिने भए जागिर किन खाएको भन्दै हप्काउन थाल्छन् । हामीले औषधीको लागि टेण्डर गरिएको छ भन्दा उनीहरुले कुरा बुझ्दैनन्,’ निरिक्षक शाहले भनिन् । चौकीमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार, स्वास्थ्यको जिम्मेवारी उपमहानगर मातहत गइसकेपछि औषधी अभाव हुने समस्या झन् बढेर गएको छ ।


उपमहानगरपालिकाकै वडा नं. २० स्थित मनिकापुर स्वास्थ्य चौकीमा पनि प्रायः औषधीको अभाव भइरहन्छ । हाल परिवार नियोजनका साधनहरुको अभाव सबैभन्दा बढी देखिएको चौकीका ईन्चार्ज विर जंग शाहले जानकारी दिए । ‘अलिकति स्टक बढी भएको पनि पारासिटामोल हो । अरु औषधीहरु विरामीलाई समयमै आवश्यक मात्रामा दिन नसकिने अवस्था छ,’ उनले भने ।


वडा नंं. १० स्थित जैसपुर स्वास्थ्य चौकी इन्चार्ज शारदा घर्तिले पनि चौकीमा बि कम्प्लेक्स, दाद र लुतोको औषधी, डिपो सुईको सिरिन्ज नभएको जानकारी दिइन् । ‘डिपो छ तर त्यसलाई लगाउने सिरिन्ज छैन । सेवाग्राहीहरुलाई बाहिरबाट किन्न लगाउनुपर्ने अवस्था छ । मेडिकलमा एउटा सुईको ५/१० रुपैयाँ तिरेर सेवाग्राही आफैले किनेर ल्याउँछन्, हामीले लगाईदिन्छौँ,’ उनले भनिन् ।


सहरी स्वास्थ्य केन्द्र १० का इन्चार्ज धर्मेन्द्र सिंहले पनि केन्द्रमा बच्चाहरुका लागि सिटामोल सिरप, एजर्लीको औषधी एन्टिलार्जिन ट्याब्लेट र दादको औषधी सकिएको बताए । ‘अन्य औषधीहरु पनि कम भएका कारण कम डोज दिएर विरामीलाई पुनः आउन भन्ने गरिएको छ । ५ दिन खाने डोजमा ३ दिनका लागि दिएर थप औषधी लिन फेरि आउनुस् है भनेर पठाउँछौ,’ सिंहले भने ।


सहरी स्वास्थ्य केन्द्र १ का इन्चार्ज दिनेश अर्यालका अनुसार ५० मात्रा आवश्यक भएको औषधी स्वास्थ्य साखाबाट २० मात्रा मात्रै पाइन्छ । केन्द्रमा दादहरुको मल्हम, मेट्रो सिरप, भिटामिन बि कम्पलेक्सको अभाव हुन थालेको ३ मनिाभन्दा बढी भइसकेको छ । स्वास्थ्यकर्मीहरुका अनुसार, परिवार नियोजनका साधनहरु पिल्स र डिपोहरुको पनि अभाव छ ।


उपमहानगरपालिकको स्वास्थ्य शाखाका अनुसार, औषधीको लागि टेण्डर प्रकृया भई औषधी आउने क्रम सुरु भएको छ । ४ वटा पार्टीहरुको टेण्डर स्वीकृत भएकोमा २ वटाले औषधी ल्याइसकेका छन् २ वटाको आउन बाँकी छ । सबैले औषधी ल्याईसकेपछि तुरुन्तै सबै स्वास्थ्य संस्थाहरुमा औषधी पठाइने उपमहानर स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए । उनका अनुसार, अबको एक हप्तामा सबै औषधीहरु उपलब्ध भइसक्नेछन् । अहिले स्वास्थ्य शाखमा लुतोको मल्हम र एजिथ्रोमाईसिन औषधी पूर्णतया सकिएको र अन्य औषधीहरु पनि सकिने अवस्थामा छ । तर, बढी आवश्यक पर्ने औषधीहरुको भने अभाव नरहेको पोखरेलले बताए । ‘सबै औषधीहरु शुन्य अवस्थामा पुगेको होइन । चाहिएको जति नभएको अवस्था मात्रै होे,’ उनले भने । कतिपय औषधीको विकल्पमा प्रयोग गर्न सकिने औषधीहरु पनि रहेको उनको भनाइ छ । अहिले एन्टिबायोटिक एजिथ्रोमाईसिन नभएपनि त्यसको सट्टामा एमोक्सिमाईसिन प्रयोग गर्न सकिने स्वास्थ्यकर्मीहरुलाई जानकारी गराइएको उनले बताए ।
स्वास्थ्य संस्थाहरुमा बेलाबेला औषधी अभाव भइरहने गरेको छ । त्यसको मुख्य कारण बजेट समयमा नआउनु, टेण्डर प्रकृया झन्झटिलो र लामो हुनु रहेको स्वास्थ्यकर्मीहरुको दाबी छ ।

‘टेण्डर प्रकृया पुरा हुन नै दुई महिना लागिहाल्दो रहेछ । म यहाँ आएको ३ महिना भयो । आउने बित्तिकै औषधी खरिद प्रकृया सुरु भएकोमा बल्ल आएर पुरा हुँदैछ,’ शाखा प्रमुख पोखरेलले भने । यसवर्ष उपमहानगरपालिकामा करिब १ करोडको औषधी आवश्यक हुने आँकलन गरिएकोमा ४४ लाखको बजेट स्विकृत भएको र त्यसमध्ये करिब १९ लाखमा औषधी खरिद सम्झौता भएको उनले बताए । बाँकी बचेको २५ लाखमा पुनः अर्काे टेण्डर आह्वान गरि औषधी खरिद गरिने र आगमी दिनमा औषधी अभाव हुन नपाउने पोखरेलको भनाइ छ ।
नेपालगन्ज उपमहानगरपालिकामा चार वटा आधारभूत स्वास्थ्य केन्द्र, सात वटा सहरी स्वास्थ्य केन्द्र र ११ वटा स्वास्थ्य चौकी रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया