बाँकेलाई आर्थिक रुपमा बलियो बनाउन धेरै विकल्पहरु रहेको नेपालगन्जका व्यापारिक क्षेत्रका अगुवाहरुले औंल्याएका छन् । प्रदेश ५ को कुनामा परेको र प्रादेशिक राजधानीको सम्भावना समेत नदेखिएको अवस्थामा नेपालगन्जको आर्थिक क्षेत्र खस्कंदै गैरहेको भन्दै चिन्ता गरिरहँदा बीच व्यवसायिक क्षेत्रका अगुवाहरु दैनिक नेपालगन्जले सोमबार सम्यक संवादका लागि गरेको कुराकानीमा नेपालगन्ज वर्तमान अवस्थाबाट अझ तल झर्ने सम्भावना नरहेको बताएका हुन् । उनीहरुले बाँकेलाई आर्थिक रुपमा सशक्त बनाउन विभिन्न विकल्पहरु सुझाउँदै त्यसका लागि सर्वपक्षीय, सर्वदलीय एकजुटता आवश्यक रहेको बताएका थिए ।
सम्यक संवादमा व्यवसायिक क्षेत्रका अगुवाहरुले समृद्ध नेपालगन्जको दिशामा अघि बढ्नका लागि पर्यटन वेश क्याम्प बनाउन सकिने, औद्योगिक नगरका रुपमा अघि बढ्न सकिने, प्रदेश ६ मा गाभ्न सकिने लगायत विकल्पहरु बारे बोलेका थिए । ‘हिजोको नेपालगन्ज सोचेर हुँदैन’, सम्यक संवादका वक्ता व्यवसायीहरुले भने, ‘परिस्थिति फेरिएको छ, त्यसैले समृद्ध नेपालगन्जका लागि वर्तमान परिस्थितिको मूल्यांकन गरेर समयानुकुल योजनाबद्ध ढंगले अघि बढ्नु पर्छ ।’ उनीहरुले भने त्यसका लागि राजनीतिक, व्यवसायिक र नागरिक समाज लगायत सबै तह र तप्काको एउटै आवाज हुनुपर्छ ।
दामोदर आचार्य नेपालगन्जका पुराना व्यवसायी हुन् । उनले नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्नुका साथै महासंघको केन्द्रीय सदस्य समेत निर्वाचित भएका उनले नेपालगन्ज पछाडि परेको नभई अन्य सहर नेपालगन्ज भन्दा अघि बढेको बताए । सम्यक संवादमा आचार्यले नेपालगन्जलाई पर्यटकीय बेश क्याम्प बनाउन सकिने धारणा अघि सरे । ‘बेश क्याम्प बनाउन नेपालगन्जको एयरपोर्टलाई अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउनुपर्छ,’ उनले भने, ‘नेपालगन्ज आउने, यहाँबाट अन्य पर्यटकीय स्थल जाने र यही फर्किएर गन्तव्यमा लाग्ने हिसाबले नेपालगन्ज पूर्वाधार तयारीमा जुट्नु पर्छ ।’
‘हामी निराशा बन्नुपर्ने अवस्था म देख्दिन’, आचार्यले भने, ‘किनकी निराशाको कुरा गर्यौ भने एक कदम अगाडि बढ्न सक्दैनौं । तर, हौसलाका कुरा गर्यौं भने चार कदम अगाडि बढाउन सकिन्छ ।’
‘हिजोको सम्भावना भनेको मध्य र सुदूरको गेटवे हो’, आचार्यले भने, ‘अब त्यो रहेन, अब हिल्सा सडक जाने हो भने नेपालगन्ज गेटवे कसरी ?’ उनले भारत र चीनको ब्रिज रहेको उल्लेख गर्दै भने, ‘हामी यो ब्रिजमा बसेर बदाम र भुटेको मकै बेचेर पनि हाम्रो व्यापार हुन्छ ।’
ह्रास मानसिकतालाई उर्जाशिल बनाउन आवश्यक रहेको बताएका अगुवा व्यवसायी आचार्यले औद्योगिक क्षेत्रले मात्रै आर्थिक विकास सम्भव नरहेको बताए । ‘औद्योगिक क्षेत्र बन्यो, उद्योगहरु आए भनेपनि जनताको चहलपहल र पर्यटन उद्योगलाई खासै प्रभाव पर्दैन’, उनले भने, ‘उद्योगका ट्रक गएर लोड÷अनलोड हुन्छ जान्छ, त्यसले आर्थिक रुपमा फरक पार्दैन ।’ उनले यहाँको होटल व्यवसाय प्रवद्र्धन, होलसेल मार्केट डेभलप गर्ने कुरा, खुला बोर्ड व्यवस्थित गर्ने कुरामा सरकारसँग हामी लड्न सक्नुपर्ने बताए । ‘प्रदेश ६ मा गए केही सुधार त आउँला’, त्यसले नेपालगन्जको कायापलट नै चाहीँ नहुने धारणा राख्दै आचार्यले भने, ‘त्यसैले पूर्वाधारको क्षेत्रमा काम गरिनुपर्छ ।’
‘बहस र छलफल आफ्नो ठाउँमा छ’, आचार्यले भने, ‘हामीले पर्यटनको सम्भावना देख्छौं भने पाँच बर्ष अन्य कुरामा फोकस हुनुहुँदैन, त्यसैका लागि पूर्वाधार तयार गर्न सबै एक ठाउँ भएर काठमाडौंसँग लड्नु पर्छ ।’
संघका पूर्व अध्यक्ष समेत रहेका अच्युत प्रसाई यहाँको व्यवसायिक क्षेत्रका अगुवा पनि हुन् । उनी नेपालगन्ज पछाडि पर्नुमा राजनीतिक नेताहरुको इच्छा शक्तिको कमीका कारण भएको बताउँछन् । सांग्रीला विकास बैंकका अध्यक्ष रहेका प्रसाई बाँके र बर्दियालाई अपहेलित दृष्टिले राज्यले हेर्दा पछाडि परेको धारणा राख्छन् । तर, बाँके कुनै पनि नेताले चाहे पनि नचाहेपनि कोइलाबास चाही नबन्ने प्रसाईको जिकिर थियो । ‘यो प्रदेश ६ र ७ को मुहान यही हो’, उनले भने, ‘त्यसैले यो कुनै पनि हालतमा पछाडि पर्दैन ।’
‘सरकारको नीति नै द्वैध किसिमको रहेको छ । सरकार नेपालगन्जलाई आर्थिक राजधानी बनाउने भन्छ । त्यो नेपालगन्जबासीलाई ललिपप मात्रै हो’, प्रसाईले भने, ‘नेपालगन्जबासी आन्दोलित नहुन् भनेर सरकारले त्यसो गरेको हो ।’ ‘आजका दिनमा पनि प्रदेश ५ मा बसिरहनु मुर्खता हो’, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रसाई भने, ‘हामी प्रदेश ६ मा जानै पर्छ, त्यहाँ गयौं भने बाध्य भएर औद्योगिक राजधानी नेपालगन्ज हुन्छ, केही मन्त्रालय पनि नेपालगन्जमैं राख्ने सम्भावना बढ्छ ।’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य प्रसाईले बुटवल भन्दा सुर्खेत अत्यन्तै नजिक पनि हुने धारणा राखे ।
संघका पूर्व अध्यक्ष सतिश चन्द्र अग्रवाल नेपालगन्जले धेरै प्रगति गरिसकेको धारणा राख्छन् । ‘नेपालगन्ज पाँच तारेसम्मका होटल खुलिसकेका छन्’, खाद्य व्यवसायी अग्रवालले भने, ‘तर नेपालगन्जका लागि काम गरिरहनु पर्छ ।’ नेपालगन्ज पछाडि पर्दैछ भनेर पछुताएर बस्न नहुने धारणा राख्दै अग्रवालले भने, ‘हामीले सानो लाइनको अगाडि ठूलो लाइन कोर्न सक्नुपर्दछ ।’ उनले उपभोक्ता आकर्षण र व्यवसाय बढाउन योजनाबद्ध लाग्नुपर्ने धारणा राखे । ‘बोर्डरमा रहेका सहरहरु आफै विकसित हुँदै जान्छन् तर व्यवस्थापन गर्नुपर्छ’, उनले भने । अगुवा व्यवसायी अग्रवालले नेपालगन्जको विकासका लागि व्यवसायी पनि अग्रसर हुनुपर्ने धारणा राखेका थिए ।
कृष्ण प्रसाद श्रेष्ठ नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् । हाल महासंघका केन्द्रीय सदस्य रहेका श्रेष्ठले नेपालगन्जका नेता केन्द्रीय नेतृत्वमा पुगेपनि त्यसको लाभ लिन नसकिएको बताए । उनले विगतमा सुर्खेतमा उद्योग वाणिज्य संघकै आन्दोलनका कारण आज राजधानी बन्न सफल भएको बताए । तत्कालीन समयमा संघको अध्यक्ष रहेका श्रेष्ठ राप्ती, भेरी, कर्णाली नफुटाई बाँके राजधानी बनाउनु पर्छ भनेर एउटा विज्ञप्ति जारी गर्दा सहयोग नपाएको सम्झँन्छन् । ‘त्यतिखेर नै नेपालगन्ज जाग्नुपथ्र्यो’, उनले भने । पूर्व अध्यक्ष श्रेष्ठ अझै पनि बाँकेमा थुप्रै पूर्वाधार विकासका काम गर्नुपर्ने अवस्था रहेकाले त्यसतर्फ व्यापक बहस गरी दबाब सिर्जनाका लागि साझा एजेन्डा तय गरिनुपर्ने बताउँछन् ।
बाँकेलाई अब ब्राण्डका रुपमा विकसित गर्न आवश्यक रहेको बताउँदै विकासका लागि नागरिक समाजका संयोजक समेत रहेका श्रेष्ठले त्यसका लागि के के काम गर्नुपर्छ भनेर बारम्बार उठाइरहेको बताए । ‘बाँकेलाई शिक्षा, स्वास्थ्य, पर्यटन, औद्योगिक हब बनाउन सम्भव छ’, श्रेष्ठ भन्छन्, ‘वर्तमान भन्दा नेपालगन्ज खस्किए पनि फेरि यसलाई उठाउन धेरै विकल्पहरु रहेका छन् ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य बाँकेको समृद्धिको लागि नेपालगन्ज प्रदेश राजधानी बनाउन लाग्नुपर्ने नभए कर्णालीमा गाभ्नका लागि अभियान चलाउनु पर्ने बताउँछन् । ‘त्यसो भएन भने यहाँको विकास तिव्र गतिले बढ्न सक्दैन’, अध्यक्ष वैश्यले भने ।
पर्यटन, हाइड्रोपावर, जडिबुटीको व्यवस्थित विकास नहुँदा सम्म समृद्धि हासिल गर्न गाह्रो रहेको धारणा राख्दै अध्यक्ष वैश्यले भने, ‘बाँकेमा पर्यटन हबको सम्भावना बढी छ ।’
सीमावर्ती भारतको यूपि, बिहारमा मात्रै २६ करोड जनता रहेको उल्लेख गर्दै अध्यक्ष वैश्यले यहाँको धार्मिक स्थलको प्रवद्र्धन भारतमा व्यापक रुपमा प्रचार, प्रसार गर्न सके धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताए । ‘प्रसिद्ध शक्तिपिठ बागेश्वरी नेपालगन्जमंै छ’, बैश्यले भने, ‘त्यसको प्रचारप्रसार भारतमा गर्ने हो भने करोडौं धार्मिक पर्यटक भित्र्याउन सकिन्छ ।’
अध्यक्ष वैश्यले धार्मिक पर्यटनका लागि पहिलो पूर्वाधारहरु निर्माण हुन आवश्यक रहेको बताए । ‘नेपालगन्जबाट आन्तरिक र भारतको दिल्ली उडान गर्न सक्ने हो भने त्यसले राम्रो प्रभाव पार्न सक्छ’, उनले भने । अध्यक्ष वैश्यले दिल्ली उडान ढिलो भएपनि नेपालगन्ज–पोखरा उडान तत्काल गर्न संघले पटकपटक पहल गरिरहेको बताए ।