बाँकेमा पछिल्लो पाँच बर्षको तथ्यांकले अपराधिक घटनामा वृद्धि हुँदै गएको छ । शुक्रबार प्रहरीले आयोजना गरेको चालु आ.व.को अर्ध बार्षिक समिक्षामा अपराधको ग्राफ पाँच बर्षमा ह्वात्तै बढेको देखाएको हो ।
आ.व. ०७१/०७२ मा ७ सय ३८ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो भने मुद्दा दर्ताको संख्या आ.व. ०७५/०७६ सम्म आउँदा १ हजार १ सय ५६ पुगेको छ । तथ्यांकले पाँच बर्षमा मुद्दाको संख्या दोब्बर हुनेतर्फ उन्मुख रहेको देखाउँछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आ.व. ०७२/७३ मा ७ सय ५५, आ.व. ०७३/०७४ मा ८ सय ५५, आ.व. ०७४÷०७५ मा १ हजार २१ मुद्दा दर्ता भएको देखाएको छ । आ.व. ०७५÷०७६ मा मुद्दाको संख्या ११ प्रतिशतले बढेको प्रहरीको तथ्यांक रहेको छ । चालु आ.व.को ६ महिनामा ५ सय ६४ वटा मुद्दा दर्ता भएका छन् । गत आ.व.को ६ महिनाको तुलनामा यो संख्या १९ ले बढी हो ।
जिल्लामा सबैभन्दा बढी मुद्दा लागुऔषधका रहेका छन् । अन्य मुद्दा भन्दा लागुऔषधका मुद्दा बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको हो । जिल्लामा लागुऔषधका मुद्दा आ.व. ०७१÷०७२ मा ९९,०७२/७३ मा ७८, आ.व. ०७३/०७४ मा १ सय ३७, आ.व. ०७४/०७५ मा १ सय ४७ र आ.व. २०७५/०७६ मा २ सय ४९ वटा दर्ता भएका छन् । ‘चालु आ.व.को ६ महिनामा लागु औषधका १ सय ८ वटा मुद्दा जिल्लामा दर्ता भएका छन्’, जिल्ला प्रहरी प्रमुख, एसपी वीर बहादुर ओलीले भने, ‘उक्त मुद्दामा पुरुष १ सय ५१ र महिला १२ जना रहेका छन् ।’ प्रहरीले चालु आ.व.को ६ महिनामा ३ सय २ ग्राम लागुऔषध, चरेश ९ सय ९ ग्राम, अफिम ४ किलो, गाँजा ४ किलो, कोरेक्स १ लिटर, नाइट्रोजेपाम २ हजार ९ सय २३ ट्याब्लेट बरामद गरेको जानकारी दिएको छ । एसपी वलीले जिल्लाका ९२ वटा विद्यालय तथा समुदायमा लागुऔषध विरुद्धको कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।
बंैकिङ्ग कसुर सम्बन्धी मुद्दाको तथ्यांक पनि उल्लेख्य रहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, आ.व. २०७४÷०७५ मा २४, आ.व. २०७५÷०७६ मा १ सय २२ र चालु आ.व.को ६ महिनामा ६ वटा बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा जिल्ला प्रहरीमा दर्ता भएका छन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, एसपी वलीले गत असार ११ गते जिल्लाको नेतृत्व समालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट भएका काम, कारवाहीको बारेमा जानकारी गराएका थिए । ‘असार ११ गतेदेखि जिल्ला प्रहरीमा ६ सय २३ मुद्दा दर्ता भएकोमा ५ सय ६९ मुद्दा फस्र्यौट भएको छ’, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले भने, ‘चालु आ.व.का ५४ वटा मुद्दा अनुसन्धान प्रक्रियामा रहेका छन् ।’
एसपी वलीले चालु आ.व.को ६ महिनामा ७ सय ७३ जना पुरुष र ३३ महिलालाई मुद्दा प्रक्रियामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए । ‘६ सय २३ मुद्दामा ८ सय ६ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो’, उनले भने । ‘चालु आ.व.को ६ महिनामा ४७ वटा शीर्षकमा ५ सय ६४ मुद्दा दर्ता भएका छन्’, उनले भने ।
एसपी वलीले सहकारीको ५२ करोड अपचलनको मुद्दा अनुसन्धान गरी अदालत पठाएको जानकारी दिएका छन् । ‘हत्या, आगजनी, लुटपाट लगायतका घटनाको अनुसन्धान गरी कानुनी कारवाही गरेका छौं’, एसपी वलीले भने ।
प्रहरीले धर, धम्की देखाई बसहरुबाट असुल्नेलाई पक्राउ गरी कानुनी कारवाही गरिएको एसपी वलीले जानकारी दिए । ‘नेपालगन्जबाट रुपैडिहा जाने बसहरुबाट डरधम्की दिएर असुल्नेलाई कानुनी कारवाही गरिएको हो’, उनले भने । एसपी वलीले ४२ किलो मासु सहित फेला परेपछि गौवध मुद्दा अनुसन्धान गरी कानुनी कारवाही गरेको बताए ।
सेनामा भर्ती गर्छु भनेर असुल्नेहरुलाई पनि प्रहरीले कारवाही गरेको छ । ‘त्यसरी असुल्नेलाई पक्राउ गरी अदालत पठायौं, ७ लाखमा अदालतबाट धरौटीमा छुटेका छन्’, एसपी वलीले भने ।
प्रविधिको दुरुपयोग गरी ठगी गर्नेलाई पनि जिल्ला प्रहरी कार्यालयले कानुनी कारवाहीको दायरामा ल्याएको एसपी वलीले जानकारी दिएका छन् । ‘फोन, इमो र ह्वाटसशपको प्रयोग गरी चिठ्ठा, लटरी पर्यो भनेर १६ लाख ठगी गर्नेलाई पनि पक्राउ गरी अदालत बुझायौं’, एसपी वलीले मुद्दामा थप अनुसन्धान भैरहेको जानकारी दिएका छन् ।
एसपी वलीले ६ महिनाको अवधीमा संविधान विरोधी गतिविधि गर्ने १५ जनालाई कारवाही गरेको जानकारी दिए । प्रहरीले नागरिकलाई सघाउन पाँच ठाउँमा हेल्प डेस्क सञ्चालनलाई निरन्तरता दिएको बताएका छन् ।
बाँकेमा आर्थिक वर्ष ०७६÷०७७ को पौष महिनासम्म १२ हजार ६ सय ५० सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधन तथा सवारी धनीबाट यस अवधिमा ६९ लाख ९ हजार राजश्व संकलन गरिएको प्रहरी प्रमुख वलीले जानकारी दिए । गत वर्ष ३० हजार ५ सय ६२ सवारी साधनबाट १ करोड ६७ लाख ७८ हजार पाँच सय राजश्व संकलन भएको थियो ।
समातिए ८८ जुवाडे
जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आ.व.को ६ महिनामा ८८ जना जुवाडेलाई कानुनी कारवाही गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बाँकेका प्रहरी प्रमुख, एसपी वलीले ११ लाख ५४ हजार १ सय ७३ रुपैयाँ सहित अदालत पठाएको जानकारी दिएका छन् ।
फारार ५९ समातिए
जिल्ला प्रहरी कार्यालय बाँकेले ६ महिनामा ५९ जना फरारलाई पक्राउ गरेको एसपी वलीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनले प्रहरीबाट फरार भएका १४ र अदालतबाट सजाय तोकिएका फरार ४५ जनालाई पक्राउ गरेको जानकारी दिए । ‘फरार घोषित अपराधीलाई पक्राउ गरी अदालत बुझाएका छौं’, उनले भने ।
चोरी पैठारी विरुद्ध प्रहरी
भन्सार छलेर हुने चोरी पैठारी विरुद्ध पनि प्रहरीले निगरानी बढाएको छ । १ लाख ७१ हजार २ सय ४१ रुपैयाँ मूल्य बराबरको २ किलो चाँदी मानिस सहित नियन्त्रणमा लिएको एसपी वलीले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । ६ महिनाको अवधीमा भन्सार छलेर ल्याइएका ४८ लाख ९९ हजार १ सय ३० रुपैयाँ बराबरका विभिन्न किसिमका सामाग्रीहरु प्रहरीले नियन्त्रणमा लिई भन्सार दाखिला गरेको प्रहरी उपरीक्षक वलीले जानकारी दिए । ‘७ जना तस्करीलाई पनि पक्राउ गरेका छौं’, एसपी वलीले भने, ‘भारतबाट तस्करी गरेर ल्याइएका १ सय ६१ खसी नियन्त्रणमा लिएर भन्सार दाखिला गरेका छौं । उनले २ हजार ३ सय ५२ वटा क्यारेन्टाइन नगराई भारतबाट भित्र्याइएका ब्रोइलर कुखुरा पनि प्रहरीले नियन्त्रणमा लिएको बताए ।
६५ लाई पुरस्कृत, २१ कारवाही
जिल्ला प्रहरी कार्यालय बाँकेले राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत र प्रहरी नियम विपरित काम गर्नेलाई कारवाही गरेको एसपी वलीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । ‘राम्रो काम गर्ने प्रोत्साहित र नराम्रो काम गर्ने निरुत्साहित होउन् भनेर दण्ड र पुरस्कारको व्यवस्था गरेका हौं’, एसपी वलीले भने ।
प्रहरीले ६ महिनाको अवधीमा ६५ जनालाई पुरस्कृत र २१ जनालाई कारवाही गरेको हो । कारवाहीमा पर्नेमा प्रहरी अधिकृत पनि रहेका छन् ।
बनाइयो बिग्रेका क्यामेरा
व्यवसायीहरुको पहलमा नगरमा ५६ वटा क्यामेरा लगाइएका थिए । ती मध्ये अधिकांस काम नगर्ने अवस्थामा रहेका थिए । ‘६ महिना अघि जिल्लाको नेतृत्व सम्हाल्दै गर्दा ९ वटा क्यामेराले मात्र काम गर्दथ्यो’, एसपी वलीले भने, ‘ती बिग्रीएका र मर्मत गर्नुपर्ने बनाएका छौं ।’ उनले ३८ वटा क्यामेराले काम गरिरहेको र थप ४ वटा क्यामेरा केही दिनभित्र सञ्चालनमा आउने जानकारी दिए । त्यसबाहेक प्रदेश सरकारको सहयोगमा जिल्लाका विभिन्न पाँच ठाउँमा जडान गरिएका १५ वटा क्यामेराले राम्रोसँग काम गरिरहेको एसपी वलीले जानकारी दिएका छन् ।
एसपी वलीले जिल्लाको सुरक्षा स्थित थप मजबुत बनाउन थप सिसि क्यामेरा जडानको योजना रहेको जानकारी दिए ।
आगलागी नियन्त्रणमा प्रहरी
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वलीले आगलागीका घटनाबाट जनधनको क्षति हुन नदिन तत्काल प्रहरी परिचालन गर्ने गरेको जानकारी दिएका छन् । उनले ६ महिनाका अवधीमा २२ वटा आगलागीका घटना नियन्त्रणका लागि प्रहरी परिचालन गरेको जानकारी दिएका छन् ।








