बाँके : प्रशासकीय अधिकृत फेरिरहँदा योजना कायान्वयनमै समस्या

मन भण्डारी

मुलक संघीय संरचनामा गई तीन तहको संरचनामा अगाडि बढिरहेको छ । संघ, प्रदेश र स्थानीय सरकारमध्ये स्थानीय सवालमा स्थानीय सरकार नै अधिकार सम्पन्न रहेको छ । स्थानीय सरकारलाई जनताको नजिकको सरकार मानिन्छ । तर, स्थानीय सरकारको प्रशासनिक र वित्तीय कामको नेतृत्व र अधिकार प्राप्त प्रमुख प्रशासकीय अधिकृतको छिटो–छिटो सरुवाको कारण स्थानीय सरकारको विकास निर्माण लगायत समग्र काम कारवाहीमा असर पर्ने गरेको छ । छोटो समयमै हुने सरुवाको कारण पालिकाको प्रशासनिक कामको स्थायित्वमा समेत असर परिरहेको छ ।


बाँके जिल्लाका ८ स्थानीय तहमध्ये अधिकांसमा साढे २ वर्षको अवधिमा आधा दर्जन प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन् । केही गाउँपालिकामा त प्रमुख प्रशासकीय अधिकृतले ६ महिनाभन्दा बढी काम गर्न पाएका छैनन् । १ उपमहानगरपालिका, १ नगरपालिका र ६ गाउँपालिका भएको बाँके जिल्लाका केही पालिकामा १ आर्थिक वर्षमा मात्रै ४ जनासम्म प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् ।


कर्मचारी अस्थिर भएपछि स्थानीय तहका काम प्रभावकारी हुन सकेका छैनन् । जिल्लाको कोहलपुर नगरपालिकामा स्थानीय तहको निर्वाचन पछि साढे २ वर्षमा ५ जना प्रमुख प्रशासकिय अधिकृत फेरिएका छन् । कोहलपुर नगरपालिकामा आएका अधिकाँस प्रमुख प्रशासकीय अधिकृतहरु ६ महिना भन्दा बढी समय काम गर्न नपाउँदै सरुवा भएको नगरपालिका प्रमुख लुट बहादुर रावतले बताए । नगरपालिकाको प्रशासन प्रमुखको छिटो–छिटो हुने सरुवाको कारण नगरपालिकाको विकासमा प्रत्यक्ष असर परेको प्रमुख रावतको भनाइ छ । ‘एउटाले कामको थालनी गरेको हुन्छ, सुरुवात गरेको काम पुरा गर्नै नपाइ सरुवा भइदिन्छ,’ रावतले भने, ‘नयाँ आउने कर्मचारीले फेरी शुन्यबाट सुरुवात गर्नुपर्छ, जस्को कारण कामले गति लिन सक्दैन ।’

जानकी गाउँपालिकामा हालसम्म ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । जानकी गाउँपालिकामा सुरुमा १ वर्ष जति पालिकामा काम गरेका प्रमुख प्रशासकिय अधिकृत प्रिति भक्त गिरीको सरुवा भएपछि लोक बहादुर सुनार प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका थिए । सुनारले ६ महिना काम गर्न नपाउँदै उनको पनि सरुवा भयो । त्यसपछि प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका महेन्द्र जंग शाहीको पनि ६ महिनापछि सरुवा भयो । हाल जानकी गाउँपालिकामा हरी शहादुर खत्री प्रमुख प्रशासकीय अधिकृतको रुपमा १ महिनादेखि कार्यरत छन् । ६–६ महिनामा प्रमुख प्रशासकिय अधिकृतको सरुवाको कारण गाउँपालिकाले विकासमा गति लिन समस्या उत्पन्न हुने गरेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको भनाइ छ ।


जिल्लाका राप्तीसोनारी गाँउपालिका र डुडुवा गाउँपालिकामा हालसम्म ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । नेपालगन्ज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका र खजुरा गाउँपालिकामा ३ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । पालिकाको प्रशासनिक नेतृत्व समाल्ने जिम्मेवारीमा रहेका प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयमा आफूलाई कुनै जानकारी नहुने जनप्रतिनिधिहरु बताउँछन् ।


संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय सरकारसंग कुनै समन्वय नै नगरि कर्मचारीको सरुवा तथा फेरबदल गरिदिँदा पालिकामा काम गर्न समस्या हुने गरेको जनप्रतिनिधिहरुको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृतको छिटो–छिटो हुने सरुवाको कारण पालिकाको काम कारवाहीले गति लिन नसक्ने नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले बताइन् । ‘एउटा अधिकृतसित एक किसिमले प्रशासनिक काम, विकासका योजना लगायत अन्य काम गरिएको हुन्छ,’ उनले भनिन्, ‘१ वर्ष, ६ महिना बस्न नपाउँदै सरुवा भइहाल्छ ।’


कर्मचारीको अस्थिरताले विकासका काममा असर परेको पाइन्छ । नीति तथा कार्यक्रम निर्माण गर्ने जनप्रतिनिधि भएपनि त्यसको कार्यन्वयन गर्ने कर्मचारी बारम्बार फेरबदल भइरहदा पालिकामा सोचे अनुसारको विकास तथा काम हुन सकेको देखिदैन । एउटै व्यक्ति एक आर्थिक वर्ष प्रमुख प्रशासकीय अधिकृत रहने हो भने काम गर्न सहज हुने जनप्रतिनिधिहरुको भनाइ छ ।

बैजनाथमा अढाई बर्षमा ८ प्रशासकीय अधिकृत

बाँकेको बैजनाथ गाउँपालिकामा साढे २ वर्षको अवधीमा ८ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । २०७३ फागुनदेखि हालसम्म बैजनाथ गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतको संख्या ८ पुगेको हो । ती मध्ये कतिले पालिकामा केही महिना काम गरी सरुवा भएर गए भने कतिपय हाजिर नै नभएर पनि गए ।


सुरुमा २०७३ साल फागुनदेखि बिरेन्द्र माझिले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेका थिए । माझिले काम गरेको १ वर्ष नपुग्दै सरुवा भइ लाल बहादुर योगी प्रमुख प्रशासकिय अधिकृतको रुपमा आए । योगी बैजनाथमा १ दिन मात्रै हाजिर भइ फेरी फर्केपछि पुन बिरेन्द्र माझीले प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरे । माझिले २०७५ फागुन सम्म बैजनाथमा काम गरे । त्यसपछि २०७५ चैत्र महिनामा आएका हरी बहादुर खत्रीले ३ महिना काम गर्न नपाउँदै उनको अर्कै ठाउँ सरुवा भयो । हरि खत्रिको सरुवा पछि २०७६ ज्येष्ठ महिनामा राम प्रसाद सापकोटा प्रमुख प्रशासकिय अधिकृत भएर आए । सापकोटा बैजनाथ आएको ६ महिना बित्न नपाउदै उनको पनि भर्खरै मकवानपुरको वागमती गाउँपालिकामा सरुवा भएको छ । अहिले बैजनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मन्त्रालयले पर्शुराम उपाध्यायलाई तोकी पठाएको छ । उपाध्याय बैजनाथमा आएको भएपनि हाजिर भने भएका छैनन् । बैजनाथमा हाजिर नै भएका प्रमुख प्रशासकिय अधिकृतको संख्या ५ भएपनि सरुवा भएर आएका तर हाजिर नै नभइ गएको संख्या हेर्ने हो भने ८ पुगेको गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले जानकारी दिएका छन् ।


गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले प्रमुख प्रशासकीय अधिकृत सरुवाबारे आफूलाई जानकारी नहुने बताए । संघीय सरकारले आफुसंग कुनै समन्वय नगरि कर्मचारी फेरबदल गरिदिँदा काम गर्न अप्ठेरो भएको प्रमुख रुचालको भनाइ छ ।


‘एउटा प्रमुख प्रशासकिय अधिकृतसं एक किसिमले प्रशासनिक काम, विकासका योजनालगायत अन्य काम गरिएको हुन्छ,’ उनले भने, ‘वर्ष दिन बस्न नपाउँदै सरुवाको खबर आउँछ, अगाडि बढेको काम नयाँ अधिकृत आएपछि फेरि शून्यबाट सुरु गर्नुपर्दा विकास योजना सञ्चालनमा अवरोध पुग्ने गरेको छ, संघीय सरकारले कम्तिमा पनि १ वर्षसम्म १ जनालाई काम गर्न दिनुपर्छ ।’ एउटाले वजेट तथा कार्यक्रम बनाएको हुन्छ कार्यान्वयन गर्ने क्रममा पुरै आर्थिक वर्ष बस्न नपाउँदा कामले गति लिन नपाउने बताउँदै रुचालले भने, ‘संविधानमा अधिकारसम्पन्न स्थानीय सरकार भनिएको छ, प्रमुख प्रशासकीय अधिकृतको सरुवाले हामी पीडित छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया