अहिले बजारमा प्याजको मूल्य आकासिएको छ । अप्रत्यासित रुपमा प्याजको मूल्य बढेसंगै धेरै उपभोक्ताहरुले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगायसंगै दशैको समय पछि नेपाली बजारमा प्याजको भाउ दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट सहजै निर्यात हुने प्याजको निर्यातमा अहिले प्रतिबन्ध छ ।
नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट आउने गरेको छ । नेपालमा प्याजको अभाव र भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेपछि अहिले नेपाली बजारमा प्याजको मुल्य संधैको भन्दा बढी छ ।
हाल नेपालगन्जको रानीतलाउ तरकारी बजारमा प्याजको भाउ खुद्रामा प्रतिकिलो २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तरकारी बजारमा नम्बरको ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । ३ महिना अघि प्रतिकिलोको ४० देखि ५० रुपैयाँमा कारोबार भएको प्याज ३ महिनाको अवधीमा किलोमा १ सय ५० रुपैयाँसम्म बढेको छ । तरकारी बजार भन्दा बाहिरका खुद्रा पसलहरुमा २ सय ५० सम्म किलोको कारोबार भइरहेको उपभोक्ताहरु बताउँछन् । नेपालगन्ज वडा नम्बर १० बस्ने शुद्ध प्रसाद चौधरीले प्याजको मुल्य अप्रत्यासित रुपले बढेपछि अहिले प्याज नै खान छोडेको बताए । केहि दिन अगाडी आधा किलो प्याजको १ सय ७० रुपैयाँ तिरेको बताउँदै प्याजको मुल्य बढेको देखेर अचम्मित भएको चौधरीले बताए ।
पछिल्लो समय अरू तरकारीको मूल्यमा धेरै घटबढ भएको छैन । तर, प्याजमा भने १ महिनाको अवधीमा नम्बरमा ४ सय रुपैयाँसम्म मूल्य बढेको छ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको सोझो असर नेपाली बजारमा परेको नेपालगन्जको रानीतलाउ तरकारी बजारका ब्यापारी अरीसली राइले बताए । उनले भने, ‘अहिले मात्रै हाइन २÷३ महिना अगाडि देखिनै प्याजको मुल्य बढ्दै आएको हो ।’ प्याजको मुल्यमा बृद्धी भएसंगै अहिले पहिलेको तुलनामा प्याजको ब्यापार घटेको ब्यापारीहरु बताउँछन् । भारतबाट आउने प्याजमा प्रतिबन्ध लगाइएको भएपनि चोरीबाटो भएर प्याज भित्रेने गरेको ब्यापारीहरु बताउँछन् । मुल्य आकासिए पछि उपभोक्तहरुले प्याज खान छाडेसंगै तरकारीहरुमा अत्याधिक खपत हुने प्याजको खपतमा ह्रास आएको छ ।
नेपाली बजारमा अहिलेको प्याजको मुल्य चार वर्ष यताको सबैभन्दा महंगो मूल्य हो । नेपालगगन्ज वडा नम्बर ११ का मकसुद राइ प्याजको मुल्य मासु भन्दा महंगो भएको बताउँछन् । ‘मासको केजीको ८ सय छ तर प्याज नम्बरको ९ सय पुग्यो अव त खानै छोड्नुपर्ला जस्तो छ,’ उनले भने । १ महिना अघि १ नम्बर प्याज ४ सय ५० रुपैयाँमा खरिद गरेको बताउँदै १ महिनामा दोब्बरले बृद्धि भएको राइको भनाइ छ । प्याजको मुल्यमा बृद्धीसंगै अहिले केही पसलहरुमा प्याज नै पाउन छोडेको छ । भान्सामा दाल, तरकारी, अचार, मास लगायत सबै चिजमा मसलाको रुपमा प्रयोग हुने प्याजको मुल्य बढेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ताहरु परेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बस्ने गृहिणी सुलोचना अधिकारीले प्याजको मुल्य किलोको २ सय पुगेको कहिल्यै थाहा नपाएको बताउँदै यसरी मुल्य बढ्नुले उपभोक्ताहरु मारमा परेको बताइन् ।