बाँकेमा दुर्घटनाका कारण अकालमा ज्यान जानेहरुको संख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले ‘हर दिन प्रशिक्षण’ अभियान सुरु गरेको छ । ट्राफिक नियमको पालना, सडकमा कसरी सुरक्षित हिड्ने भन्ने बारेमा प्रशिक्षण दिन प्रहरीले जिल्ला व्यापी अभियान सुरु गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पबिन्द्र बमले जानकारी दिएका छन् ।
‘दुर्घटना नै नहोस् भनेर सडकमा हिड्ने यात्रु र सवारी साधन चालकलाई लक्षित गरेर दैनिक रुपमा प्रशिक्षण दिने कार्यक्रम अघि सारेका हौं’, ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख बमले भने, ‘सवारी, मापसे चेकजाँचलाई पनि निरन्तरता दिइरहेका छौं ।’
ट्राफिक प्रहरी प्रमुख बमले दुर्घटना न्यूनीकरणका लागि यसअघि ‘रेट्रो स्टिकर’ सवारी साधनमा टाँस्ने, दुर्घटना गर्ने सवारीसाधनको पहिचानका लागि मेटिएका नम्बर प्लेट पुर्नलेखन गर्ने, मोडिफाइ गरिएका मोटरसाइकललाई दुरुस्त बनाउन लगाउने लगायतको काम गरेको जानकारी दिएका छन् ।
ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख ओम पौडेलले नगरमा पनि ट्राफिक सचेतनाका लागि सडकमै प्रशिक्षण सुरु गरेको जानकारी दिएका छन् । ‘सडक यात्रु, विद्यार्थी र सवारी चालकलाई लक्षित गरी प्रशिक्षण दिन थालेका हौं’, उनले भने, ‘दुर्घटना न्यूनीकरणका लागि प्रशिक्षणको सुरुवात गरेका हौं । उनले सोमबार महेन्द्र बहुमुखी क्याम्पस, भन्सारमा प्रशिक्षण गरेको जानकारी दिएका छन् । ‘ट्राफिक प्रहरीले सडकमै बसेर चालक र सडक यात्रुलाई ट्राफिक नियमको पालना गर्न सिकाउन सुरु गरिएको छ’, उनले भने ।
ट्राफिक प्रहरी कार्यालय बाँकेले विभिन्न ठाउँमा ट्राफिक संकेतहरु पनि राखेको र त्यसलाई पालना गराउनका लागि पनि प्रशिक्षण दिइरहेको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका पौडेल बताउँछन् । ‘नगर क्षेत्रको ठाउँठाउँमा सन्देशमूलक बोर्ड निजी क्षेत्रको सहकार्यमा राखेका छौं’, उनले भने, ‘विद्यालय जाने क्रसिङ्गमा विद्यालय क्षेत्र रहेको सूचना समेत राखेका छौं ।’ उनी सबै नियमको पालना गरे दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु नपर्ने बताउँछन् ।
ट्राफिक प्रहरी कार्यालय बाँकेले दैनिक सवारी चालकहरुलाई सडकमा नै घुम्ती प्रशिक्षण दिने, यातायात व्यवसायी हरुलाई कार्यालयमा उपस्थित गराई सवारी दुर्घटना सम्बन्धी जानकारी गराई चालकहरुलाई जिम्मेवार बनाउने तर्फ सवारी धनी हरुलाई समेत जिम्मेवार गराइएको, स्कुल सम्पर्क कार्यक्रमलाई निरन्तरता दिइएको, पैदल यात्रीहरुलाई समेत सडक प्रयोग सम्बन्धी जानकारी दिइएको बताएको छ ।
ट्राफिक प्रहरीले लामो दुरिमा चल्ने रात्री सेवाका बसहरुमा २ जना चालक अनिवार्य गर्न ट्राफिक कम्प्युनिकेशन एपको समेत प्रयोग गरिरहेको छ । सडक संकेत र बिभिन्न ट्राफिक चिन्हको कारण बाट हुने सडक दुर्घटना न्यूनीकरण गर्न विभिन्न क्षेत्रसँग समन्वय गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
ट्राफिक व्यवस्थापनको चुनौतिमा जनशक्तिको कमि, बैज्ञानिक स्रोत साधनको प्रयोगमा कमी, चालक, यात्रु तथा पैदल यात्रुहरुमा जनचेतनाको कमी, यातायात ब्यवसायीहरुमा प्रतिस्पर्धा, चालक हरुलाई कारवाही गर्दा फितलो नियम कानुनको ब्यवस्था रहेको ट्रफिक प्रहरी बताउँछन् ।