कोहलपुर : सुरक्षा बढाइयो, आज पनि प्रदर्शन

आइतबार भएको दुर्घटना र झडपको विषयलाई लिएर आज पनि कोहलपुरमा प्रदर्शन गरिएको छ । हिजोको झडपमा दर्जनौं प्रहरी र आन्दोलनकारी घाइते भएका थिए । प्रदर्शनकारीहरुले आज सडकमा अवरोध गरिरहेका छन् ।

हिजोको घटना पछि आज कोहलपुरमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । कोहलपुर नगरपालिकाले समेत घटनालाई लिएर प्रेस विज्ञप्ति जारी गर्दै पीडितलाई दुई लाख सहयोग गर्ने, उपचारका सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

आईतबारको घटनापछि उत्पन्न विशेष परिस्थितीको सहजीकरणकालागी कार्यवहाक नगर प्रमुख चौधरीको संयोजकत्वमा कार्यपालीका सदस्यद्धय डिल बहादुर परियार, नारायणी वली र कोहलपुर वडा नं. ११ का वडाध्यक्ष कर्णबहादुर थापा र १० नं. वडाध्यक्ष निरज चलाउने सदस्य रहने गरी सहजिकरण समिति गठन गरीएको छ ।

बाँकेको कोहलपुरमा सद्भाव कायम राख्ने भन्दै युवाहरुले सरसफाई अभियान चलाएका छन । आईतबार दिनभर भएको प्रदर्शनका क्रममा प्रयोग गरीएका ईट्टा, ढुङ्गा र गाडी तोडफोडका क्रममा फुटेका सिसाहरु हटाउन सफाई गरीएको हो

आज सोमबार कोहलपुरमा भैरहेको प्रदर्शन
आज सोमबार कोहलपुरमा भैरहेको प्रदर्शन

सडकमा पोखियो आक्रोश


आइतबार दिनभर बाँकेको कोहलपुर बजार तनावग्रस्त बन्यो । कोहलपुरमा भएको एउटा दुर्घटनाको विरोधमा प्रदर्शन उग्र बन्दै गएको हो । प्रदर्शनमाथिको प्रहरी दमनले अवस्था अराजक बन्यो ।


ना २ ख ९४५९ नम्बरको ट्रकले त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययरत् १२ बर्षीया बालिका प्रकृति चन्दलाई ठक्कर दिंदा उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई भे ६ प २७४० नम्बरको स्कुटरमा बाबुले विद्यालयसम्म पुर्याएका थिए । प्रकृतिको खुट्टामा गम्भीर चोट लागेको छ । प्रशासनले गम्भीर घाइते प्रकृतिको थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत आइतबार दिउँसो काठमाडौं पठाएको छ ।


प्रकृति घाइते भएको खबर लगत्तै विद्यालयका विद्यार्थीहरु आक्रोशित भए । सयौंको संख्यामा रहेका उनीहरुको आक्रोश ट्रकमाथि खनिन सुरु भयो । घटनास्थल पुगेको नजिकैको बिटका प्रहरीले विद्यार्थीलाई सम्झाईबुझाई गर्ने कोशिश गर्यो । प्रकृतिलाई ठक्कर दिएको प्रति सोही विद्यालयका विद्यार्थी आक्रोशित थिए, उनीहरु पछि हटेनन् । प्रहरीले उनीहरुलाई बल प्रयोग गरी पछाडि धकेल्न खोज्यो । केही विद्यार्थीहरुले भने प्रहरीले विद्यालय भित्रै छिरेर विद्यार्थी तथा शिक्षकलाई हातपात गरेको आरोप लगाएका छन् । प्रहरीले ज्यादती गरेको आरोप छ ।


विद्यार्थीहरु निरन्तर ट्रकमाथि ढुंगामुढा गर्दै ट्रकमा आगजनीको प्रयास गर्दै थिए । त्यसक्रममा विद्यार्थी र प्रहरी बीच हानाहान समेत भएको थियो । प्रहरीले ट्रक बचाउन बल प्रयोग गर्न थाल्यो । विद्यार्थी थप आक्रोशित भए । त्यसपछि विद्यालयका सयौं विद्यार्थी सडकमा प्रहरी विरुद्ध नै उत्रिन थाले । विद्यार्थीले सुरु गरेको प्रदर्शनमा कोहलपुरका स्थानीय पनि सहभागी हुन सुरु भयो । उनीहरुको सहभागिताको कारण भने विद्यार्थी बालबालिकामाथिको दमन बन्यो ।
दोषीलाई कारवाही र प्रहरीको बल प्रयोग विरुद्ध उत्रिएका विद्यार्थी र प्रदर्शनकारीले सानो संख्यामा रहेको प्रहरीलाई ढुंगामुढा गर्दै प्रहरीलाई पछाडि धकेलिदिए । ट्रकमा आगजनी गरे । प्रहरीको उपस्थितिलाई विद्यार्थीको अराजक आक्रोशले पुरै अस्वीकार गरिदियो ।


प्रहरी र प्रदर्शनकारी दुवै बीच ढुंगा हानाहान भयो । प्रदर्शन उग्र बन्दै गयो । सडकमा बजार बन्द गराउँदै हिडिरहेका प्रदर्शनकारीले अन्य सवारीसाधनमा समेत ढुंगामुढा गर्दै तोडफोड गर्न सुरु गरे । दर्जनौं निजी तथा सार्वजनिक सवारी साधन प्रदर्शनका क्रममा तोडफोड गरिए । प्रदर्शनकारीहरुको संख्या बढ्दै गएपछि बजार पनि बन्द गराइयो ।


अन्ततः विभिन्न ठाउँमा रहेका प्रहरी बिस्तारै इलाका प्रहरी कार्यालय भित्रै रहन बाध्य भए । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयको क्यान्टिन समेत तोडफोड गरेर आगजनी गरिदिएका छन् । प्रहरी विरुद्धको यो आक्रोश अप्रत्यासित लाग्दैन, प्रत्यक्षदर्शीको भनाइ छ ।

प्रहरीले स्थिति नियन्त्रणका लागि दर्जनौं राउण्ड हवाई फायर र अश्रुग्याँस प्रहार गर्यो । तर, त्यसले प्रदर्शनकारीलाई तितरवितर गर्नुभन्दा झन् आक्रामक बनायो । इलाका प्रहरी कार्यालयमा सीमित भएको प्रहरीमाथि सयौं प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीले पनि प्रहरी कार्यालयभित्रबाट हवाई फायर तथा ढुंगा आन्दोलनकारी तर्फ फर्काएको थियो । स्थिति बिग्रदै जाँदा कोहलपुरमा सशस्त्र प्रहरी र जनपद प्रहरीको संख्या बढाउँदै लगिएपनि स्थिति नियन्त्रणमा आउन सकेको थिएन । नेपालगन्जबाट थप प्रहरी पठाइयो ।


दुर्घटनामा घाइतेको न्यायका लागि सुरु भएको आन्दोलन एकाएक प्रहरी विरुद्ध केन्द्रित भएको थियो । दिनभर ठाउँठाउँमा भएको झडपमा दर्जनौं प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । इलाका प्रहरी कार्यालयका डिएसपी सहित ४० जना जनपद प्रहरी र १४ जना सशस्त्र प्रहरी झडपमा घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीतर्फ २२ सामान्य र १८ जना बढी चोट लागेको छ ।


कोहलपुर मेडिकल कलेजमा १९ जना घाइते प्रदर्शनकारीलाई उपचारका लागि पुर्याइएको थियो । घाइते श्रीकान्त शर्मा र नारायण खत्रीलाई गम्भीर चोट लागेको हो । घाइते मध्ये प्रकृतिलाई हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको हो । थप १० जना उपचारका लागि कोहलपुर मेडिकलबाट अन्यन्त्र गएको जिल्ला प्रहरी प्रवक्ता, डिएसपी शिव बहादुर सिंहले जानकारी दिएका छन् ।


दुर्घटनाको घटनामा कारवाहीको माग गर्दै विद्यार्थीहरुले गरेको आन्दोलन उग्र बन्नुमा ‘घुसपैठ’को आशंका गरिएको छ । विद्यार्थीलाई उस्काउने काम गर्दा आन्दोलन अनियन्त्रित भएको सहजै ठम्याउन सकिने अवस्था रहेको प्रहरीका एक पूर्व अधिकारीले बताएका छन् । ‘प्रहरी कार्यालय नै घेरेर ढुंगामुढा गर्ने, प्रहरीको क्यान्टिनसम्म तोडफोडको घटना विद्यार्थीहरुले गर्न सक्दैनन्’, उनले भने, ‘सामाजिक सञ्जाल र केही अनलाइनमा घाइते प्रकृतिको मृत्यु भैसकेको समाचार सम्प्रेषण गरेपछि आक्रोशमा थप बल पुगेको थियो ।’


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले कोहलपुरमा भएको घटना विद्यार्थीहरुको आक्रोश मात्रै नभएको बताउँछन् । ‘यो कोहलपुरमा प्रहरी विरुद्धको श्रृंखलाको निरन्तरता हो’, उनले भने । यद्धपि प्रहरीले घटनाको दोष अन्यतिर खोज्नुभन्दा आफ्नै कमजोरी खोतल्न प्रयास गर्नुपर्ने जानकारहरुको सुझाव छ ।


दिनभर कफ्र्यु लगाउने भनिएपनि आइतबार रातीसम्म कफ्र्युको घोषणा भने गरेको छैन । अवस्था अनियन्त्रित बन्दै गएकाले कफ्र्युको निर्णय हुनसक्ने सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त बताएपनि अन्ततः निषेधाज्ञा मात्रै जारी गरिएको हो । राजमार्ग भएकाले कफ्र्यु लगाउँदा यात्रुहरुलाई असहज हुने भएकाले निषेधाज्ञा मात्रै जारी गरिएको बताइएको छ । कोहलपुर उत्तर नौवस्तादेखि दक्षिणमा राँझा चोकसम्म, पूर्व रोहीणी खोलादेखि किरणखोलासम्म निषेधाज्ञा जारी गरिएको हो ।


कोहलपुरमा दिनभर प्रदर्शन हुँदा यातायात ठप्प रहेको थियो । जसका कारण राजमार्ग यात्रुहरु अलपत्र परेका थिए । प्रभावित यात्रुहरुलाई अवस्था सामान्य बनाइएपछि गन्तव्य पठाइएको छ ।


आज विद्यालय बन्द

विद्यार्थी आक्रमण र तोडफोडलाई लिएर आज सोमबार बाँकेको कोहलपुर क्षेत्रमा रहेका सम्पूर्ण संस्थागत विद्यालयहरु बन्द गरिने भएको छ । क्रिशा बाँकेका अध्यक्ष शिव प्रसाद डाँगी, प्याब्सन कोहलपुरका अध्यक्ष यम रावत र नेपाल प्याब्सनका कोहलपुर अध्यक्ष बेग प्रकाश चन्दको संयुक्त हस्ताक्षरमा जारी गरिएको एक विज्ञप्तीमा सोमबार शैक्षिक संस्था बन्द गर्ने उल्लेख गरिएको हो ।

आइतबारको घटनालाई मध्यनजर गर्दै सोमबार सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको उनीहरुको विज्ञप्तिमा उल्लेख छ । दोषीलाई कारबाही र विद्यालयका गाडी तोडफोडको क्षतिपूर्तिको दवावमा विद्यालय बन्द आव्हान गरिएको बताइएको छ ।

संयमता अपनाउ
सर्वदलीय बैठकले घटनालाई लिएर संयमता अपनाउन आव्हान गरेको छ । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णलाल उपाध्यायको अध्यक्षतामा कोहलपुरमै आइतवार साँझ बसेको सर्वदलीय बैठकले उपचारमा सहयोग र हानीनोक्सानीको क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गर्दै सम्बद्ध सबैलाई संयमताका लागि आव्हान गरेको हो ।


अराजकतामा नलाग
नेपाली काँग्रेस बाँकेले व्यक्तिगत तथा सार्वजनिक सम्पतिको तोडफोड र अराजक गतिविधिमा नलाग्न अपील गरेको छ । काँग्रेस बाँके सचिव तप्त पौडेलले प्रेस विज्ञप्तिमार्फत आइतवार प्रहरी नायब निरिक्षकको नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले सावधानी अपनाउन नसक्दा घटनाले गम्भीर रुप लिएको भन्दै सर्वसाधारण नागरिक लगायत सुरक्षाकर्मी सहित दर्जनौं घाइते हुने अवस्था बन्नु अत्यन्त दुःखद रहेको जनाएको छ ।

उत्पन्न परिस्थितिलाई संयमित भई समाधान गर्न, घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था गर्न माग गर्दै विज्ञप्तिमा भनिएको छ, घटनाका दोषीलाई तत्काल कार्वाहीको प्रकृया थालनी गर्न नेपाली कांग्रेस बाँके सरकारसँग माग गर्दछ ।

(तस्विर भगतराम थारु)

प्रतिक्रिया

प्रतिक्रिया