(नेपाल–भारत सीमाको नरैनापुर गाउँपालिका–५ स्थित हुलासपुर गाउँ र भारतको ककरदरी गाउँ ।)
भौगोलिक विवाद हुने आशंकामा दुबै पक्षका बासिन्दा
विनय दीक्षित
नेपाल भारत दुबै पक्षका बासिन्दाको खेतबारी आफ्नै स्थानमा छ, गाउँ घर यथावत छन्, कुनै आन्दोलन र कुनै विवाद पनि छैन, तर पनि मनमा चिन्ता छ, सिमा स्तम्भको । बाँके डुडुवा गाउँपालिका वडा नं.१ टेपरी देखि पुर्व नरैनापुर गाउँपालिका वडा नं.५ भगवानपुर सम्म करिब १२ किलोमिटर क्षेत्रको दशगजा (नेपाल–भारत सिमा) राप्ती नदीले कटान गरेपछि सो क्षेत्र अहिले सीमा स्तम्भविहीन अवस्थामा छ ।
यद्यपि सिमा क्षेत्र, आफ्नो खेत र जग्गा नक्साको आधारमा स्थानीय बासिन्दाले भोग चलन गर्न सुरु गरेका छन् । राप्ती नदी बगिरहेको स्थान बाहेक बगर भएको स्थानमा तरकारी खेती लगायत उत्पादन सुरु भएपनि पछि सीमा निर्धारण गर्दा जग्गा मिचिने डर नेपाली क्षेत्रका बासिन्दामा छ ।
‘अहिले नै हाम्रो खेतमा भारतीयहरु आएर तरकारी खेती गर्छन्, बालुवा भएका कारण हामी ध्यान दिएनौं’, नरैनापुर–६ बस्ने सरोज मौर्य भन्छन्, ‘पछि सिमा कता सार्ने हो भन्ने चिन्ता हुनु स्वभाविक हो ।’ ‘कालापानीमा भइरहेको विवाद हाम्रो यहाँ पनि हुन सक्छ’, मौर्यले भने, ‘भारतले पछि सिमा तलमाथि गर्न खोज्यो भने भौगोलिक रुपमा नेपालीलाई नै क्षति हुन्छ ।’ ‘सिमा कटान भएपछि दुबै पक्ष लामो समय मौन बस्नु पनि ठिक होइन’, नरैनापुर–५ बस्ने मनीष यादव भन्छन्, ‘सिमा सम्बन्धी अवस्था तत्कालै समाधान गर्नु पर्छ ।’
भारतको ककरदरी गाउँ, नरैनापुर–५ को हुलासपुर गाउँ बिच दशगजा मात्रै छ । त्यसैगरि घोडदौरिया, रोशनपुरवा, बिच पनि दशगजाको अन्तरमा दुबै देशका बासिन्दा बसेका छन् । भारत श्रावस्ती जिल्लाको ककरदरि देखि पश्चिम रहेको पिलर नं. ६४०÷१२ देखि डुडुवा गाउँपालिकाको टेपरी नजिक रहेको पिलर नं.१९, अर्थात यो बीच १२ किलोमिटर दूरीको पिलर राप्ती नदीले बगाएको हो ।
‘२०६६ साल देखि २०७२ सालको बिचमा सिमा क्षेत्रमा कटान भएको हो’, सशस्त्र प्रहरी बल गंगापुरका सिमा सुरक्षा इन्चार्ज विरेन्द्र जिसीले भने, ‘नदीले कटान गरेको पूरै क्षेत्र मेरो दायरा भित्र पर्दछ ।’
‘सिमा क्षेत्रमा नदीले कटान गरेको विषय सम्बन्धी सबै सूचना सरकारलाई छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै इन्चार्ज जिसीले भने, ‘दुबै पक्षको केन्द्रस्तरबाटै पहल भएपछि मात्र सिमा सम्बन्धी विषयमा काम गर्न सकिन्छ ।’
‘कटान भएको क्षेत्रको सबै दस्तावेज, नक्शा र आवश्यक सूचनाहरु सुरक्षित छ’, भारत श्रवास्ती जिल्ला एसएसबी बीओपी ककरदरीका प्रमुख सुभाषचन्द्र वर्मनले दैनिक नेपालगन्ज संग भने, ‘कालापानी र लिपुलेक जस्तो विवाद यस क्षेत्रमा छैन ।’ ‘दुबै सरकारले चाहेको अवस्थामा यो समस्या समाधान गर्न सकिन्छ’, प्रमुख वर्मनले भने, ‘नदीले कटान गरेका कारण एक प्रकारले समस्या ठूलो देखिएपनि समाधान त्यति ठूलो छैन ।’ ‘सिमा सम्बन्धी सबै विवरण र नक्शाको आधारमा पुनः पिलर जडान गर्न सकिन्छ’, उनले भने, ‘तर यो काम कुनै एउटा पक्षले मात्र गर्न सक्दैन ।’ ‘सिमा सम्बन्धी विषय केन्द्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भ रहेकोले हाम्रो काम सुरक्षा र रिपोर्ट गर्ने बाहेक होइन’, प्रमुख बर्मन भन्छन्, ‘दुबै पक्षका सिमाविद आएका बेला आवश्यक सहयोग हामी गर्छौं ।’

बाँकेको ६५ किलोमिटर क्षेत्र नेपाल–भारत सीमासँग जोडिएको छ । सीमा खुला छ । तर, ६५ किलोमिटर सीमा सुरक्षाका लागि सशस्त्रका ५ वटा मात्रै पोष्ट रहेका छन् । त्यही भारतीय सीमा सुरक्षा बल (एसएबसी)को उपस्थिति भने बाक्लो रुपमा रहेको छ । प्रत्येक १÷२ किलोमिटरमा एसएसबीले गस्ती गरिरहेको दशगजामा देख्न सकिन्छ । नेपाली सशस्त्र प्रहरी बलका अनुसार, नेपाल–भारत सीमाको बाँके खण्डमा साना र ठूला गरी ३ सय ७ वटा सीमा स्तम्भ रहेका छन् । ती मध्ये कतिपय मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् ।








