दिउसै विरालो चोरी भएपछि मोबिन सिद्दीकी आज दिनभरि तनावमा छन् । ६ महिनादेखि काखमा हुर्काएको व्हाइट पर्सियन क्याट ( सेतो बिरालो) आज मध्यान्ह १२ बजेतिर घरसामुन्ने सुर्खेतरोडबाट चोरी भएको हो । ‘भारतीय नम्बरको मोटरसाइकलमा आएका २ जनाले योजनाबद्ध ढंगबाट बिरालो चोरेको देखिन्छ,’ सिसिटिभी फुटेज हेरेपछि मोविनले नेपालगन्जन्यूजसँग भने, ‘भारतीय युवाहरुले रङसाइडबाट बाइक ल्याएर मेरो घरको व्हाइट पर्सियन क्याट उठाएर लगेका छन् ।’
सिसिटिभी फुटेज हेर्दा पूर्वयोजना अनुसार बिरालो चोरेको देखिन जानकारी दिंदै मोविनले त्यसबारे प्रहरीलाई जानकारी गराएको बताए । ‘अलिक ढिलो प्रहरी कहाँ खबर भयो, हेरौं फेला पार्न सकिन्छ की !,’ मोविनले व्हाइट पर्सियन क्याटका लागि विशेष खाना, स्याहारसुसार आवश्यक रहेकाले चोरी गर्नेले सामान्य बिरालोका रुपमा व्यवहार गर्नेमा चिन्ता गरे । ‘सामान्य बिरालोको रुपमा सुन्दर देखेर लगेको भए स्याहारसुसार हँुदैन,’ उनले भने, ‘बरु फर्काइदिए म कुनै कारबाही भन्दा धन्यवादनै दिन्थें ।’
इभान्का नामको बिरालो छोरीको निकै मिल्ने साथी भएकाले तनावमा रहेका मोविनले भने, ‘त्यो बिरालोमात्र होइन, मेरो घरको एउटा सदस्य हो ।’ मान्छेसँगै खाने सुत्ने इभान्कालाई छोरी जैनवले इभा का नामले बोलाउने गरेको सम्झँदै उनले भने, ‘मेरो घरमात्रै होइन, घरछिमेकमैं अति प्यारो प्राणी थियो ।’ विरालो हराएदेखि छोरी निकै दुखी भएको जानकारी दिंदै उनले भने, ‘आफ्नो नजिकको साथी हराएजस्तै छोरी रोइरहेकी छिन् ।’
६ महिनाअघि ३० हजार मुल्यमा किनेको व्हाइट पर्सियन क्याटको खोजिमा लागेका मोविनले सिसिटिभी फुटेजका केही फोटोस्न्याप सामाजिक सञ्जालमा समेत पोष्ट गरि सहयोगको गुहार लगाएका छन् । उनका अनुसार, युपी– ४०– ७४११ नम्बर देखिएको कालो होण्डासाइन मोटरसाइकल धम्बोझी चोक नजिकैको मोविनको घर अगाडीबाट गलत साइडमैं आएर व्हाइट पर्सियन क्याट उठाएर लगेका हुन् ।