एक बर्षपछि खुल्यो जडिबुटी निकासी

जडिबुटी व्यवसायीले माग गरेको ८६ प्रकारको जडिबुटी निकासीको पहल गरेपनि अझै पनि केही जडिबुटी भारतले जारी गरेको नयाँ सूचिमा संलग्न छैन

झण्डै एक बर्षदेखि भारत तर्फ ठप्प रहेको जडिबुटी निकासी पुनः सुरु भएको छ । विगत तीन दिनदेखि जडिबुटीको निकासी सुरु भएको नेपाल जडिबुटी व्यवसायी संघले जानकारी दिएको छ । भारतीय प्लान्ट क्वारेन्टाइनले ‘क्वारेन्टाइन सम्बन्धी आदेश २००३ ऐन’ लाई कडाईका साथ लागु गरेपछि नेपाली जडिबुटी निकासी रोकिएको थियो । ‘भारतीय क्वारेन्टाइन सम्बन्धी आदेश २००३ अनुसार अनुसूचि ७ मा सूचिकृत जडिबुटीहरु मात्र निर्यात गर्न पाइन्थ्यो’, नेपाल जडिबुटी व्यवसायी संघका जडिबुटी समस्या समाधान समितिका सदस्य टंक प्रसाद शर्माले भने, ‘नेपालबाट निकासी हुने अधिकांस जडिबुटी अनुसूचि ७ मा सूचिकृत नभएको र भएका पनि वैज्ञानिक नाम फरक भएकाले निकासीमा ठप्प भएको थियो ।’


भारत सरकारले २०१९ अक्टोबर १ अर्थात असोज १४, २०७६ मा राजपत्रमा सुचना जारी गरी बिदेशबाट आयात गर्ने जडिबुटीहरुको नयाँ सूचि जारी गरेपछि नेपाली जडिबुटी निकासीको बोटो खुलेको हो । भारतको नयाँ सूचि आएको झण्डै दुई महिना पछि निकासी सुरु भएको हो । ‘भारत सरकारले सूचि कम्प्युटरकृत नगरेका कारण सीमामा रहेका नियामक निकायहरुले जडिबुटी लैजान दिएका थिएनन्’, नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मो. याकुब अन्सारीले दैनिक नेपालगन्जसँग भने, ‘तीन दिन अघि सूचि आइपुगेपछि जडिबुटीको निकासी सुरु भएको छ ।’


भारतले जारी गरेको नयाँ सूचिमा ३२ प्रकारका जडिबुटीहरु रहेको संघका रविन्द्रनाथ शुक्लले जानकारी दिए । ‘मुख्य जडिबुटीहरु भारतले जारी गरेको नयाँ सूचिमा छन्’, उनले भने, ‘यसले नेपालगन्जमा रोकिएका हजारौं टन जडिबुटी निकासी हुनेछन् ।’


भारत सरकारको नयाँ सूचिमा नेपाली जडिबुटी व्यवसायीले माग गरेका सबै जडिबुटी भने परेका छैनन् । झण्डै ८६ प्रकारका जडिबुटी नेपालबाट निकासी हुने गरेका छन् । अझै धेरै प्रकारका जडिबुटी निकासीका लागि पहल जारी राख्नुपर्ने जडिबुटी व्यवसायीहरुले बताएका छन् । ‘अमला, जटामसी, धुपी, झिंगेगालो, सुनपाटी, गिठी जस्ता जडिबुटी अझै भारतको नयाँ सूचिमा नहुँदा निकासी सम्भव छैन’, जडिबुटी व्यवसायी शुल्कले भने ।


पखानबेद, सताबर, अमला, पदमचाल, चिराइतो, कमलबेद, अतिस, कालादाना र सिकाकाई रिठठा, टिमुर, कुट्की लगायतका जडिबुटी भारतको सूचिमा परेका छन् । उल्लेखित जडिबुटी भने सहज निकासी हुनेछ ।


गत बर्ष भारत सरकारले क्वारेन्टाइन सम्बन्धी नयाँ नीति लागु गरी जारी गरेको सूचिमा नेपालगन्जबाट निकासी हुने २६ वटा जडिबुटी मात्र परेका थिए । त्यसमा पनि कतिपय जडिबुटीको वैज्ञानिक नाम फरक परेका कारण भारत निकासी हुन सकेको थिएन । जसका कारण नेपालका जडिबुटी व्यवसायीको गोदाममा रहेको जडिबुटी सड्ने र गुणस्तरहीन हुने अवस्थामा पुगेको जडिबुटी समस्या समाधान समितिका सदस्य टंक प्रसाद शर्माले बताउँछन् ।


त्यसो त भारतले सन् २००३ मा नै क्वारेन्टाइन सम्बन्धी कानुन ल्याएको थियो । तर, ड्राइ मेडिसिन हब्सको नाममा नेपाली जडिबुटी भारत निर्यात भैरहेको थियो । गत बर्ष साउनदेखि सुरु भएको जडिबुटी निकासीको समस्या गत बर्ष मंसिरसम्म आइपुग्दा ठप्प भयो । ‘भारत सरकारले ड्राइ मेडिसिन हब्सलाई हटाइदिएपछि समस्या सुरु भएको हो’, जडिबुटी व्यवसायी रविन्द्र नाथ शुक्लले भने, ‘भारतीय क्वारेन्टाइनले त्यहाँको सरकारको निर्णय बमोजिम कडाई गरेपछि गत बर्ष मंसिरदेखि निकासी बन्द हुन पुगेको थियो ।’


भारत सरकारले सन् २००३ मा जडिबुटीका सम्बन्धमा नयाँ ऐन ल्याएपछि नै नेपाल सरकारले जडिबुटी सूचिकृत गर्नका लागि प्रक्रिया पूरा गर्नु पथ्र्यो । तर, १६ बर्ष सम्म सरकारले वेवास्ता गरेको परिणाम नेपाली जडिबुटी व्यवसायीले भोग्नु पर्यो । हालै भारतबाट आउने तरकारीको विषादी चेकजाँच सम्बन्धी निर्णय एकसातामै नेपाल सरकारले फिर्ता लिएपछि सरकार जडिबुटी निकासीका लागि पहल गर्न दबाबमा परेको थियो । ‘तरकारी विषादी चेकजाँच बिनै भित्र्याउन दिने निर्णय गरेपछि सरकारले बल्ल जडिबुटीमा ध्यान दिएको हो’, संघका कोषाध्यक्ष कैलाश शर्माले भने, ‘त्यसपछि सरकारले जडिबुटी निकासीका लागि पूरा हुनुपर्ने प्रक्रियाका लागि काम सुरु गरेको हो ।’


नेपालको प्लान्ट क्वारेन्टाइन जडिबुटीका सम्बन्धमा जिम्मेवार निकाय हो । ‘नेपाली क्वारेन्टाइनले कुन कुन जडिबुटी कुन कुन रुपमा पठाउन खोजेको हो त्यसको डिटेल (पेस्ट रिक्स एनलाइसिस–पिआरए) भारतीय क्वारेन्टाइनमा पठाउनु पर्ने हो’, जडिबुटी व्यवसायी भन्छन्, ‘तर, नेपालबाट त्यसमा चासो दिइएन, व्यवसायीका कुरा सुनिएन र निकासी बन्द भएको थियो ।’ अब पिआर गरिएका जडिबुटीको निकासी सुरु भएको व्यवसायी बताउँछन् । ‘थप जडिबुटीको पिआरए गर्न सरकारले बजेट छुट्याएको छ’, जडिबुटी व्यवसायी टंक प्रसाद शर्माले भने ।
जडिबुटी निकासी नहुँदा राजश्वमा समेत नेपाल सरकारले नोक्सानी बेहोरेको छ ।

व्यवसायीहरुले स्टक गरेको जडिबुटी गुणस्तरहीन हुँदै गएको बताउँछन् । गत आ.व.मा २७ लाख केजी मात्रै जडिबुटी निकासी भएको थियो । आ.व. २०७०÷०७१ देखिको तथ्यांक हेर्ने हो भने नेपालबाट बार्षिक ४० लाख बढी जडिबुटी निकासी हुने गरेको देखिन्छ । तर, गत आ.व.मा भारतको अवरोध पछि २७ लाख ५४ हजार २ सय किलो मात्रै जडिबुटी भारत तर्फ निकासी भएको छ । नेपालगन्ज नाकाबाट आ.व. २०७३÷०७४ मा ४० लाख ५० हजार ६ सय ४७ केजी जडिबुटी भारत तर्फ निकासी भएको छ । तर, आ.व. २०७४÷०७५ मा त्यो परिणाम घटेर २७ लाख ५४ हजार २ सयमा झरेको छ । त्यसअघि आ.व. २०७२÷०७३ मा ४६ लाख ३८ हजार २ सय १५, आ.व. ०७१÷०७२ मा ४६ लाख ९ हजार २ सय ८७, आ.व. २०७०र७१ मा ४७ लाख ३५ हजार ६४ केजी जडिबुटी नेपालगन्ज नाकाबाट मात्रै निकासी भएको छ ।


जडिबुटीमा निकासीमा अवरोध आएपछि देशभर १० हजार मेट्रिक टन जडिबुटी थन्किएको जडिबुटी व्यवसायीहरु बताउँछन् । ‘नेपालगन्जमा मात्रै निर्यात गर्न ठिक्क पारिएको १ हजार ५ सय मेट्रिक टन गत मंसिरसम्म नै रोकिएको थियो’, जडिबुटी व्यवसायी भन्छन्, ‘यसले अर्बौ रुपैयाँ नोक्सानी ब्यहोर्नु परिरहेको छ ।’

करोडौंको झ्याउ नष्ट !
देबेन्द्र पौडेल

सरकारले जडिबुटी झ्याउ संकलन र निकासीमा प्रतिबन्ध लगाएपछि करोडौंको जडिबुटी जंगलमै नष्ट भैरहेको जडिबुटी व्यवसायीले बताएका छन् । झ्याउ प्रत्येक बर्ष ‘सिजन’मा संकलन गर्नुपर्छ नत्र त्यो नष्ट हुन्छ । तर, सरकारले झ्याउ संकलन रोकेपछि अहिले जंगलमा करोडौं मूल्यका जडिबुटी त्यसै खेर गैरहेको प्रदेशसभा सदस्य समेत रहेका नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मो. याकुव अन्सारीले बताए ।


‘झ्याउ संरक्षण हुने भए हाल रोकेपनि भविष्यमा त्यसलाई उपयोग गर्न सकिन्थ्यो’, जडिबुटी व्यवसायी टंक प्रसाद शर्माले भने, ‘तर, झ्याउ सिजनमा संकलन नगर्ने हो भने नष्ट भएर खेर जान्छ, हाल त्यही भैरहेको छ ।’ उनले झ्याउ संकलन नगर्दा संकलनकर्ताले रोजगारी, जडिबुटी व्यवसायीले कारोबार र सरकारले राजश्व गुमाइ रहेको शर्माले बताए ।


जडिबुटी व्यवसायी सञ्जय जैनले रुखमा पाइने झ्याउ निकासीमा सरकारले बिना कारण रोक लगाएपछि बार्षिक करोडौ राजश्व खेर बताए । उनले भने, ‘झ्याउ हरेक बर्ष संकलन गर्ने हो भने मात्रै काम लाग्छ, संकलन नगर्ने हो भने कुहिएर रुखमै सड्छ ।’ जैनले झ्याउ संकलन गरेर जीविकोपार्जन गर्नेहरुको रोजगारी समेत गुमेको बताएका छन् । उनले खेर जाने झ्याउको सदुपयोग गर्ने तर्फ राज्यको ध्यान जानुपर्ने धारणा राखे ।


झ्याउ बुट्यानमा लाग्ने गर्दछ । सरकारले झ्याउ संकलन गर्दा बुट्यान नष्ट गर्न सक्ने सम्भवना रहेको भन्दै संकलनमा रोक लगाएको हो । तर, जडिबुटी व्यवसायी शर्मा झ्याउ बुट्यानमा लाग्ने ‘लेउ’ जस्तै भएकाले त्यसको संकलनले बुट्यानलाई कुनै असर नपर्ने बताए ।


झ्याउको प्रयोग अचार तथा मसलाको रुपमा गरिने जडिबुटी व्यवसायीहरु बताउँछन् । भारतमा त्यसको माग रहेकाले खेर जानुभन्दा संकलन गरेर बेच्नु नै सदुपयोग हुने व्यवसायीहरुको भनाइ छ । वनस्पति विभाग र जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी लिमिटेडको सिफारिसमा सरकारले २०६७ पुस २६ गते राजपत्रमा सूचना प्रकाशित गरी निकासी बन्द गरेको थियो । जडिबुटी व्यवसायी संघका अध्यक्ष अन्सारीले संघले झ्याउको संकलन र निकासी सूचारु गर्न पहल गरिरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया