त्रिभुवन आर्मी क्लबका नवराज साउँदले धारा नेपालगन्ज म्याराथनको पाचौं संस्करणको उपाधि चुमेका छन् । पैसठी हजार नगद सहितको उपाधि हात पार्न उनले निर्धारित ४२ किलो मिटरको दुुरी २ घण्टा २५ मिनेट ४२ सकेन्डमा पार गरेका हुन् ।
शान्ति, सद्भाव र एकता राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराको साथ नेपालगन्जमा शनिवार भएको पाँचौ धारा नेपालगन्ज म्याराथन दौडमा दोस्रो स्थानका खगेन्द्र भाटले २ घण्टा २५ मिनेट ५८ सेकेन्डमा दुरी पूरा गर्दै ४० हजार रुपैयाँ प्राप्त गर्न सफल भए ।
राजेन्द्र राउत २ घण्टा २९ मिनेट १४ सेकेन्डमा दुरी पूरा गर्दै २० हजार नगद रुपैयाँले तेस्रो स्थानमा पुरस्कृत भए । चौथो र पाँचौ स्थान क्रमशः रामप्रसाद भट्टराई र देवराज महतराले हासिल गरेका छन् । एपीएफका गणेश ठकुरी छैटौं र बर्दियाका शेरबहादुर थारु सातौं भएका छन् । शीर्ष ८ स्थान हासिल गर्ने धावकहरुलाई पुरुस्कार वितरण गरिएको छ ।
महिला हाफ म्याराथनतर्फ जूम्ला घर भएकी हाल नेपाल आर्मीमा कार्यरत पूर्णलक्ष्मी न्यौपानेले उपाधि हासिल गरिन् । उनले २१ किलोमिटरको दुरी १ घण्टा ३० मिनेट २१ सेकेन्डमा पूरा गर्दै ४० हजार रुपैयाँ प्राप्त गरिन् । दोस्रो स्थान हासिल गरेकी जुम्लाका राममाया बुढाले १ घण्टा ३० मिनेट ५८ सेकेन्डमा दुरी पुरा गरिे २० हजार प्राप्त गरिन् भने तेस्रो स्थानमा हासिल गर्दै एपिएफका कृष्णसोरी सिन्तकलाले १० हजार प्राप्त गरिन् । चौथो स्थानमा मन्जु रावत र पाँचौमा प्रतीक्षा मगर आउन सफल भए ।
पुरुष १० किलोमिटर खुलातर्फ अजितकुमार यादवले प्रथम स्थान हासिल गरे । उनले ३१ मिनेट ४० सेकेन्डमा दुरी पुरा गर्दै १० हजार रुपैयाँ पाए । दोस्रो स्थानका रामजी बस्नेतले ३२ मिनेट २० सेकेन्ड तथा तेस्रो स्थानका सन्तोषविक्रम विष्टले ३२ मिनेट २४ सेकेन्डमा दौड पूरा गरे । रामजीले ७ हजार तथा सन्तोषले ५ हजार रुपैयाँ पाए ।
महिला ५ किलोमिटरमा काजल विष्टले १८ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गर्दै १० हजार पाइन् । जुनेली सुनारले दोस्रो हुँदै ७ हजार तथा कल्पना थारुले तेस्रो हुँदै ५ हजार प्राप्त गरिन् । ५ किलोमिटर छात्रमा केशर मास्के प्रथम, एकेन्द्र विक दोस्रो र कमल विक तेस्रो भए । छात्रा ३ किलोमिटर दौडमा सिमा चौधरी प्रथम हुँदा पुर्णिमा खड्का दोस्रो र हरिमाया गुरुङ तेस्रो भइन् ।
२ किलोमिटर कर्पोरेट दौडमा केशव बिसी प्रथम, अरुण गौतम दोस्रो तथा डाक्टर सन्दीप गुरुङले तेस्रो स्थान हासिल गरे । व्हिलचेयर अन्तर्गत ट्राइसाइकल दौडमा यज्ञ बहादुर खत्री प्रथम, सेवक राम थारु दोस्रो र शेरबहादुर शाही तेस्रो भए । किड्स रनतर्फ मोडल एकेडेमी प्रथम युनाइटेड एकेडेमी दोस्रो र इन्टिग्रेटेड तेस्रो भएको रेस डाइरेक्टर चन्द्र बहादुर गुरुङ्गले जानकारी दिए ।
त्यसअघि भव्य सहभागितामा बाजागाजा सहित नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालगन्ज म्याराथनको उद्घाटन गरे । भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा नेपालगन्जमा गरिएको म्याराथनले पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्ने विश्वास मन्त्री भट्टराईको थियो । खेलकुदको माध्यमबाट पनि राष्ट्रको पहिचान र विकास गर्न सकिने उनको धारणा थियो ।
नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले नेपालगन्ज म्याराथनलाई संघकै वार्षिक कार्यक्रममा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपमहासचिव पिताम्बर तिम्सिनाले म्याराथनले केन्द्र बाहिरको खेलकुदमा आफनो छुट्टै बेग्लै पहिचान बनाउन सफल भएको धारणा राखेका थिए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा.धवल शम्शेर राणा, उपप्रमुख उमा थापामगर, मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदिप छाजेड, पूर्व ओलम्पियन वैकुण्ठ मानन्धर, किर्तिमानी धावक हरि रोकाय लगायतले समारोहमा सहभागी थिए । म्याराथनमा मुलुकका विभिन्न ठाउँबाट पुरुष तर्फ १९१७ र महिलातर्फ ७८८ गरि जम्मा २७०५ खेलाडीहरुको उत्साहपूर्ण सहभागिता रहेको सचिवालयका सदस्य सुनिल विस्टले जानकारी दिए ।
‘अभूतपूर्व ढंगले पाँचौं संस्करण भव्य र सभ्य रुपमा सफल बनाउन भूमिका खेल्ने सबैप्रति आभार,’ अध्यक्ष ठकुरीले ऐतिहासिक रुपमा धारा नेपालगन्ज म्याराथनको पाँचौ संस्करण सफल भएकोमा उत्साहित हुँदै भने ।