नेपाल सरकारले आउँदोे वर्षलाई नेपाल भ्रमण वर्ष सन् २०२० भनी घोषणा गरेको छ । भ्रमण वर्षको भब्य आयोजना गरी देशमा २० लाख बाह्य पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को मूल राष्ट्रिय सङ्कल्पलाई सार्थक बनाउन नेपाल भ्रमण वर्ष सहयोगी र सार्थक अभियान बन्ने अपेक्षा सरकारको छ ।
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नेपाल सरकारले देशैभर कार्यक्रम सञ्चालन गर्नेछ । त्यसक्रममा बाँकेमा पर्यटन बर्ष सन् २०२० लाई लक्षित गरी जिल्लामा गठित समितिले पहल थालेको छ । पर्यटन बर्षका लागि जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा गठित समितिले ‘गन्तव्य बाँके’का लागि सम्भावित पर्यटकीय स्थलको पहिचानका लागि सोमबार समिति गठन गरेको हो ।
होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलले जिल्ला स्तरीय समितिले अब ठोस योजना बनाएर अगाडि बढ्ने निर्णय गर्दै त्यस तर्फ पहल सुरु गरेको जानकारी दिएका छन् । सोमबार भएको समितिको बैठकमा बाँकेमा पर्यटक भित्र्याउनका लागि कार्ययोजना र योजनाबद्ध ढंगले अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याउँदै बाँकेमा पर्यटकीय गन्तव्य पहिचानका लागि तेज बिक्रम शाहको संयोजकत्वमा उपसमिति बनाएको हो । समितिको सदस्यमा सोम डेमनडौरा र मकबुल अहमद मुकेरी रहेका छन् । उपसमितिले बाँकेमा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी त्यसको प्रतिवेदन जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिमा पेश गर्नेछन् ।
समितिको बैठकले स्थानीय तहसँग पनि सम्भावित पर्यटकीय गन्तव्यको सूचि माग गर्ने भएको छ । जिल्लामा रहेका स्थानीय तहहरुले आफ्नो ठाउँमा रहेको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि के गर्दै छन् भन्ने जानकारी पनि माग्ने समितिले निर्णय गरेको हो । ‘आगामी मंसिर ६ गते समितिको अर्को बैठक बस्नेछ’, होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष कंडेलले भने, ‘उक्त बैठकमा स्थानीय तहका प्रमुखहरुलाई त्यस क्षेत्रमा रहेको पर्यटकीय गन्तव्य, पूर्वाधारको अवस्था र स्थानीय तहले प्रवद्र्धन र भौतिक पूर्वाधारका लागि छुट्याएको बजेट सहित उपस्थितिका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।’
गन्तव्य बाँकेका लागि बनाइएको उपसमिति र स्थानीय तहका प्रमुखहरुसँग छलफल गरेपछि बृहत छलफल गरी पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि बजेट जुटाउन पहल थालिने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिएका छन् । भ्रमण बर्षका लागि बनाइएको प्रदेश समितिका सदस्य समेत रहेका श्रेष्ठले जिल्लामा धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटक भित्र्याउनका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यसकालागि कार्ययोजना सहित अगाडि बढ्नका लागि पहल थाल्ने बताएका छन् ।
बैठकले बाँकेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि प्रचारप्रसार उपसमिति पनि बनाएको छ । पत्रकार झलक गैरेको संयोजकत्वमा पत्रकारहरु कृष्ण अधिकारी, अर्जुन ओली, सिराज खान र अमृता केसी सदस्य रहेको समिति बनाइएको जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिका सदस्य समेत रहेका होटल व्यवसायी संघ बाँकेका अध्यक्ष कंडेलले जानकारी दिएका छन् । पत्रकार गैरेलाई समितिको बैठकले जिल्ला स्तरीय समितिमा सदस्यका रुपमा मनोनित समेत गरेको छ ।
प्रदेश समितिमा बाँके
प्रदेश नं ५ सरकारले भ्रमण बर्षलाई लक्षित गर्दै प्रदेशमा रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी प्रतिफलमुखी क्रियाकलापमा स्थानीय नागरिकलाई समेत जोडेर भ्रमण वर्ष कार्यक्रम सञ्चालन गर्ने तयारीमा छ । त्यसका प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको कार्तिक अन्तिम साता भएको बैठकमा बाँकेले पनि आफ्नो क्षेत्र चासोका विषयहरु उठाएको छ ।
नेपाल भ्रमण वर्ष २०२० प्रदेश नं ५ को प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकमा होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलले पर्यटन प्रवद्र्धनका लागि बाँकेमा गर्नुपर्ने कार्यहरुबारे बोलेका थिए । अध्यक्ष कंडलले बाँके राष्ट्रिय निकुन्जमा जंगल सफारी तथा हात्ती सफारीको सम्भावना औंल्याउँदै त्यसको प्रवद्र्धन गर्न प्रदेश सरकारसँग माग गरेका थिए ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको समेत उपस्थिति रहेको बैठकमा अध्यक्ष कंडेलले स्टिक फुड फेस्टिवल आयोजना, टुरिजम डेस्टिनेसन प्रोमोसन तथा सम्मेलनले पर्यटकहरु भित्र्याउन सकिने भन्दै त्यसखालका कार्यक्रमहरु प्रदेश पर्यटन प्रवद्र्धन समितिले बनाउनु पर्ने धारणा राखेका थिए । उनले पर्यटकहरुको सहजीकरणका लागि हस्पिटालिटी सम्बन्धी प्रशिक्षण यातायात चालक, मझौला होटेल सञ्चालक तथा कर्मचारीलाई दिनुपर्ने बताएका थिए ।
अध्यक्ष कंडेलले बाँकेमा धार्मिक पर्यटनको सम्भावना औंल्याउँदै त्यसको प्रवद्र्धनका लागि समावर्ती भारतीय सहरहरुमा प्रवद्र्धनको कार्यक्रमहरु बनाइनु पर्ने, नेपालगन्ज–पोखरा उडान, नेपालगन्ज–दिल्ली उडान, नेपालगन्ज–भैरहवा उडानका लागि ठोस पहल र नेपालगन्ज–रारा नियमित उडानको व्यवस्था मिलाउनु पर्ने बताएका थिए ।








