तीर्थ वली अन्तर्राष्ट्रिय संयोजक नियुक्त

क्रियटिभ ह्याण्डस्ले नेपालगन्जका लागि महत्वपूर्ण इभेण्टका रुपमा स्थापित गर्न उद्दत नेपालगन्ज म्याराथनको पाँचौं संस्करण यसै मंसिर ७ गते शनिबार तय भएको छ । नेपालगन्ज म्याराथनको पाँचौं संस्करणलाई अझ भब्य र सभ्य बनाउन लागि परेको भन्दै आयोजकले त्यसको तयारी अन्तिममा पुगेको जनाएको हो ।
आयोजकले नेपालगन्ज म्याराथनलाई विदेशमा समेत चर्चित बनाउन यसपाली हामीले आयोजनाको अन्तर्राष्ट्रिय संयोजक तीर्थ वलीलाई बनाएको जनाएकोे छ । ‘नेपालगन्ज निवासी वली लामो र छोटो दुरीका धावक हुन्, उनी अहिले जर्मनीमा बस्दै आएका छन्,’ क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले शुक्रवार प्रेस नोट जारी गरि भनेका छन्, ‘यो हाम्रो पहिल्यैदेखिको सपना हो, सद्भावको शहर नेपालगन्जलाई अरु शहरसँग जोड्ने मात्रै होइन, विश्वमा चिनाउने हाम्रो अभियान जारी रहेको छ ।’

नेपालगन्ज म्याराथनका अन्तर्राष्ट्रिय संयोजक तीर्थ वली
सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन आयोजना गरिंदै आएको छ । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर हो । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने उद्देश्य रहेको जनाउ दिंदै आयोजकले भनेको छ, ‘हामीले विगत चार वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन गर्दै आएका छौ ।’
‘नेपालगन्ज म्याराथनले कोहलपुर र नेपालगन्जलाई जोड्ने एउटा सशक्त माध्यम बनेको छ भन्ने हाम्रो ठम्माई हो,’ अध्यक्ष ठकुरीले भनेका छन्, ‘नेपालगन्जलाई महानगर बनाउने अवधारणाको चर्चा हुँदा सरकारले नेपालगन्ज र कोहलपुर शहर जोड्ने नीति अघि सारेको छ ।’
सन् २००४ मा १५०० मिटर र १० हजार मिटरमा जुनियर राष्ट्रिय च्याम्पियन भइसकेका वली सन् २००५÷०६ मा १५०० मिटर (सिनियर दौड)मा तेस्रो भएका थिए । सन् २००२ देखि २००६ सम्म नेपालमा राष्ट्रिय प्रतियोगिता खेलेका वलीले २००६ देखि २०१५ सम्म जर्मनीमा भएका लामो र छोटो दुरीका प्रतियोगितामा भाग लिइसकेका छन् ।
विश्व मानचित्रमा लामो दौड अर्थात म्याराथनको अलग महत्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ । साथै ठाँउ विशेषको पहिचान स्थापित गर्छ, विभिन्न पेशा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ ।
यसले सामाजिक एकताको सन्देश दिन्छ । एक हिसाबले म्याराथन एउटा उत्सव हो । उत्सव साझा हुनुपर्छ । ‘नेपालगन्ज म्याराथन त्यही उद्देश्यबाट प्रेरित छ, त्यसका लागि सबैको सहभागिता, साझेदारी, सहकार्य जरुरी छ । आउनुस्, सबै मिलेर यो साझा उत्सवलाई सफल बनाऔं,’ अध्यक्ष ठकुरी भन्छन् ।