नेपालगन्ज – सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगले नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरीको सम्पत्तिबारे ‘प्रमाण मुल्यांकन’ शुरु गरेको छ ।
गत भाद्र पहिलो साता नेपालगन्जमैं आएर बागेश्वरी गुठी व्यवस्थापन समिति र नागरिक समाजका अगुवाहरुलाई भेटेर बागेश्वरी मन्दिरको सम्पत्तिका बारेमा छलफल, स्थलगत अध्ययन गरेर फर्किएको टोलीले ‘त्यसक्रममा भेटिएका प्रमाण विश्लेषण–मुल्यांकन’ अगाडी बढाएको हो ।
आयोगका सदस्य जगतबहादुर देउजा र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल सहितको टोलीले बाँकेका सञ्चारकर्मी तथा रैतीका सन्तानहरुलाई भेटेर बागेश्वरी मन्दिरको जग्गाका बारेमा जानकारी लिएको थियो । टोलीले मन्दिरको नाममा सहेको सम्पत्तिको विवरणहरु खोजबिन गर्नुका साथै मन्दिरको जग्गा के कसरी रैतीका सन्तान तथा महन्तका नाममा दर्ता भयो भन्ने बिबरण खोजबिन गरेर फर्किएको हो । त्यसक्रममा बागेश्वरी मन्दिरको सम्पत्तिका बारे १ सय ४० बर्ष पुराना निर्णयहरु फेला परेका थिए ।
त्यसक्रममा आयोगले मन्दिरका महन्त, मालापोत तथा भुमिसुधार कार्यालयका कर्मचारी, नागरिक समाजका अगुवा संचारकर्मी तथा रैतीका सन्तानहरुलाई प्रत्यक्ष भेटेर खोजबिन सुरु गरेको थियो । मन्दिरका अधिकाश कागजजत्रहरु फेला परे पनि २०२७÷२८ सालको कागजपत्रहरु भने अझै फेला पार्न सकिएको थिएन । मालपोत कार्यालयमा १९३६, १९५१, १९६६, १९७१, १९७८, २००४, २०५७ सालमा गरिएका जग्गा सम्बन्धी निर्णय फेला परेका थिए । बागेश्वरीको मन्दिरको जग्गा २०२७, २०२८ सालमा पनि व्यक्तिको नाममा गएको थियो । तर, उक्त निर्णयहरु भने फेला परेका छैनन् । लालपुर्जाको कैफियतमा भने वि.सं. २०२७÷२०२८ सालको निर्णय भन्ने भेटिएको थियो ।
‘ऐतिहासिक कुराको खोजी, सम्मानित अदालतको फैसला र जनचासो सबैलाई केलाइंदै छ,’ आयोगका संयोजक मोहन रमण भट्टराईलाई उदधृत गर्दै विकासका लागि नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले भने, ‘आयोगले जति सकिन्छ छिट्टै परिणाम दिने गरि काम गरिरहेको जानकारी हामीलाई प्राप्त भएको छ ।’ आयोगका संयोजक भट्टराईसँग अध्ययनबारे चासो राखेका श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘आयोगको अध्ययनले यथार्थ सबै पहिल्याउने कुरामा हामी आश्वस्त छौं ।’
बागेश्वरीको सम्पत्तिबारे दायर गरिएको मुद्दामा उच्च अदालतबाट २०७३ असार २२ गते मन्दिरको विकास निर्माण तथा व्यवस्थापनका लागि निर्देशन दिएपछि नगर प्रमुख डा. धवल समशेर राणाको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति बनाइएको थियो । आयोगको अध्ययन सँगै समितिले दुई बर्षको अवधीमा समितिले गरेका कामको विवरणहरु सार्वजनिक गर्नुका साथै मन्दिरको सम्पत्ति खोजविनका लागि गठित समितिको अध्ययनका आधारमा मन्दिरको जग्गाको अवस्थाका बारेमा जानकारी वाहिर ल्याएको थियो ।
जग्गा खोजविनका क्रममा मन्दिरको नाममा रहेको ८४ विगाह जग्गा व्यक्तिका नाममा नामसारी भएको खुलेको थियो ।