सिक्टामा अवरोध गर्नेलाई बल प्रयोगको चेतावनी

उर्जामन्त्रीद्वारा वर्ष दिनभित्रै सञ्चालनमा ल्याउन निर्देशन

नेपालगन्ज – उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सिंचाई आयोजना सिक्टा सरकारका लागि चुनौतीका रुपमा देखा परेको भन्दै बल प्रयोगको चेतावनी दिएका छन् । खासगरि स्थानीय तहले सहयोग नगर्दा ढुंगा गिट्टी बालुवामा समस्या भएको आयोजनाको गुनासो प्रति मन्त्री पुनले राष्ट्रिय गौरबको आयोजना भएकाले अवरोध नगर्न चेतावनी दिएका हुन् ।


मन्त्रालयको दलबल सहित मंगलबार बाँकेको अगैयामा रहेको सिक्टा सिंचाई आयोजनाको बाँध तथा नहरको निरिक्षण गरेपछि सिक्टा सफल बनाएरै छाड्ने प्रतिबद्धता जनाएको मन्त्री पुनले भने, ‘देशका ठुला १६ वटा राष्ट्रिय गौरबका योजना सहज ढंगले चलिरहेका यो आयोजना हाम्रा लागि चुनौती बन्यो ।’


अघिल्ला भ्रमण भन्दा अलिक गम्भीर देखिएका मन्त्री पुनले सबैखाले समस्या प्रति एकएक गरेर धारणा राखे । भ्रमणदलमा सहभागी अधिकारीहरुलाई सिक्टा सिँचाइ आयोजना समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका मन्त्री पुनले विभागका महानिर्देशक मधुकरराज भण्डारीलाई हरेक महिना फिल्डमा जान निर्देशन दिए । ‘मन्त्रीसँग भ्रमणमा आएर हुँदैन, अब हरेक महिना फिल्डैमैं आउनुस्, कार्यप्रगति बुझ्नुस्, केही समस्या परे समयमैं भन्नुस् ।’


आयोजनामा देखिएका विभिन्न समस्या सुनेपछि मन्त्री पुन केही रुष्ट पनि देखिए । ‘गौरवको आयोजना भएकाले आवश्यक परे बल प्रयोग गरेरै भएपनि अघि बढाउने सकिन्छ,’ बजेटको पक्षमा कुनै समस्या रहेको प्रष्ट पार्दै मन्त्री पुनले आवश्यकता अनुसार नीतिगत सुधार गरेर पनि अगाडी बढ्न सकिने बताए । गृहप्रशासन प्रति असन्तुष्टि प्रकट भएको बुझ्न सकिने मन्त्री पुनको भनाइ थियो, ‘गृह प्रशासन के का लागि हो ?’ ‘राजनीतिक नेतृत्वले रिक्स लिएर काम गर्छ । तपाईहरु पनि रिस्क लिएर काम गर्नुस् । गिट्टी र बालुवाको विषयमा सिडियो र एसपीसाबसँग कुरा गर्छु यदि हुँदै भएन भने बल प्रयोग गरेर भए पनि आयोजनालाई अगाडि बढाउने हो’, मन्त्रीले पुनले प्रष्ट शब्दमा चेतावनी दिए ।


वन र स्थानीय तहलाई दोष दिएर उम्किन नमिल्ने मन्त्री पुनको भनाइ थियो । ‘जुनसुकै अवस्थामा पनि आयोजना सफल बनाउने हो, यो राष्ट्रकै प्रतिष्ठाको विषय बनेको छ,’ मन्त्री पुनले प्रधानमन्त्रीले समेत आयोजनाका बारेमा गम्भीर चासो देखाएकाले सिक्टा प्रतिष्ठाको विषय बनेको उल्लेख गरेका छन् ।


संसदको कृषि, बन तथा प्राकृतिक स्रोत समितिका सभापति पुर्णाकुमारी सुवेदी, प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रबिन्द्रलाल श्रेष्ठ, सिँचाइ विभागका महानिर्देशक मधुकरराज भण्डारी लगायतको टोली समक्ष आयोजनाका प्रमुख कृष्णप्रसाद नेपालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २५ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी गराए । आयोजना प्रमुख नेपालका अनुसार, आयोजनाको ४५.२५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वीनहरबाट बाँके जिल्लाका ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य लिइएको छ । टोलीले राप्ती सोनारी गाउँपालिकाको अगैयास्थित आयोजनाको मुख्य बाँधस्थल देखि नहरसम्मकै निरीक्षण गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया