मुलुक सकारात्मक दिशामाः प्रचण्ड


पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) ले नेपालको आर्थिक वृद्धिदर उत्साजनक रहेको बताएका छन् । बाँकेमा मंगलवार आयोजित विभिन्न कार्यक्रमहरुमा सम्बोधन गर्दै मुलुक सकारात्मक दिशामा अगाडी बढेको बताए ।
‘अहिले देशमा कुनै समस्या छैन । सम्पूर्ण पार्टीहरुको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित छ । नेपालले मात्र होइन अन्तर्रा्ष्ट्रिय वित्तिय संस्थाहरुले नेपालको आर्थिक विकासको सम्भावना असाध्यै राम्रो छ भनेका छन्,’ प्रचण्डले नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा माथि गएको दावी गर्दै निकै उत्साह स्थिति रहेको बताए । अब सम्पूर्ण रुपले विकास निर्माणमा केन्द्रित हुँदा त्यो आर्थिक वृद्धिदरलाई अझै बढाएर लैजान सकिने उनको विश्वास थियो ।

प्रचण्डले नेपालगञ्जमा क्षेत्रीय विमानस्थल बनाउन पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै भने, ‘नेपालगञ्जमा पनि पोखरा र लुम्बिनीमा जस्तै विमानस्थल बनाउनुपर्छ भन्ने तपाईँहरुको माग जायज छ । यसमा मेरो पूर्ण समर्थन र पहल हुनेछ,’ अध्यक्ष प्रचण्डले हिल्सा–सुर्खेत रोड ठूलो बनाउन चीनसँग समेत कुरा भएको भन्दै उत्तर दक्षिण सडकमार्ग जोड्न सके नेपालगञ्जको विकासमा ठूलो परिवर्तन आउने बताए ।
अध्यक्ष प्रचण्डले नेपालगञ्ज–दिल्ली एयर रुट बनाउन पहल र नेपालगञ्जलाई उपमहानगरबाट महानगर बनाउन आफ्नो प्रयास हुने बताए । यसअघि नेपालगञ्जमा बहुद्देश्यीय भवन तथा प्रदर्शनी केन्द्र बनाउन आफैँले छुट्याएको १० विगाहा जमिन खारेज भएको घटनाले आफूलाई आश्चर्यमा पारेका समेत बताए । प्रचण्डले आफू काठमाडौ फर्केलगत्तै यसबारे प्रधानमन्त्रीसँग कुरा गरेर निर्णय सच्याउन लगाउने पनि बताए ।

नेकपाका बाँके जिल्ला अध्यक्ष आइपी खरेलका अनुसार, अध्यक्ष प्रचण्ड दिनभर बाँकेका विभिन्न ६ वटा कार्यक्रममा सहभागी भइ दाङ पुग्नु भएको छ । दाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी भोलि साँझ नेपालगन्ज हुँदै प्रचण्ड काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया