बाँकेका महत्वपूर्ण सरकारी कार्यालयमा पुरानै नागरिक वडा पत्र

फेरिए कार्यालय, फेरिएनन् वडा पत्र

मन भण्डारी/ नेपालगन्ज :
मुलुक संघीयतामा गएपछि साबिकका जिल्ला स्थित कार्यालयहरुको नाम परिवर्तन हुनुका साथै कार्यालयबाट प्रवाह हुने सेवा सुविधामा समेत परिवर्तन आएको छ । हरेक कार्यालयले नागरिकलाई प्रदान गर्ने सेवा सुविधाको सूचि सहितको नागरिक वडापत्र सबैले देख्ने गरि राख्नुपर्ने कानुनी प्रावधान छ । त्यहि प्रावधान अनुसार अधिकाँस सरकारी कार्यालयमा नागरिक वडा पत्र देख्न पाइन्छ ।


संघीय संरचना अनुसार साविकका जिल्ला कार्यालयहरुको नाम परिवर्तन भएसंगै कार्यालयको नागरिक वडा पत्र समेत फरिनुपर्ने हो । तर बाँके स्थित केही महत्वपूर्ण सरकारी कार्यालयहरुको नाम फेरिए पनि नागरिक वडापत्र भने पुरानै देख्न पाइन्छ । कार्यालयको नामसँगै सेवाको किसिममा समेत परिवर्तन हुँदा पनि नागरिक वडा पत्र साविकको कार्यालयको नाममा यथावत छ । कतिपय कार्यालयहरुले पुरानो नागरिक वडा पत्रलाई मेटाएर नयाँ लेखाएका छन् भने केही महत्वपूर्ण कार्यालयहरुले नागरिक वडापत्र फेर्न सकेका छैनन् ।


साविकको जिल्ला विकास समिति अहिले जिल्ला समन्वय समिति बनेको छ । जिल्ला विकास समिति र जिल्ला समन्वय समितिले गर्ने काम समेत फरक छ । कार्यालयको नाम र काम परिवर्तन भएको २ वर्ष बढी हुँदा समेत नागरिक वडा पत्र भने जिल्ला विकास समिति हुँदाको यथावत छ । नत पुरानो साविक जिल्ला विकास समिति हुँदाको नागरिक वडा पत्र मेटाइएको छ, नत नयाँ वडा पत्र लेखिएको छ ।

जिल्ला विकास समिति बाँके लेखिएको कार्यालयको बोर्डमा जिल्ला समन्वय समिति लेखेर परिवर्तन गरिएको भएपनि नागरिक वडा पत्रमा भने जिल्ला विकास समिति बाँकेको नागरिक वडा पत्र उल्लेख छ ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले कार्यालय बाहिर रहेको नागरिक वडा पत्र मेटाइएको तर भित्र भित्तामा भएको नागरिक वडा पत्र मेटाउन नसकिएको बताए । जिल्ला समन्वय समितिले अनुगमन गर्ने काम बाहेक अन्य कुनै भुमिका तथा काम नभएकाले पनि नागरिक वडापत्र नराखिएको प्रमुख श्रीवास्तवको भनाइ थियो । जिल्ला विकास समिति भएको नागरिक वडा पत्र यो वर्ष हटाइने उनले भने ।


त्यसैगरि साविकको महत्वपूर्ण कार्यालयको रुपमा रहेको जिल्ला शिक्षा कार्यालय हाल शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको रुपमा पणिरत भएको छ । कार्यालयको नाम परिवर्तन संगै कार्यालयको भुमिका समेत परिवर्तन भएको छ । नाम र काम परिवर्तन भएपनि नागरिक वडा पत्र भने जिल्ला शिक्षा कार्यालयकै नाममा यथावत छ ।
जिल्ला शिक्षा कार्यालयको नाममा रहेको वडा पत्रलाई हटाइ शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको नाममा कायम गर्नुपर्नेमा पुरानै नागरिक वडा पत्र कार्यालयमा झुण्डयाइएको छ । कार्यालयको नाम र काम फरक भएपनि नागरिक वडा पत्र हेर्दा मान्छेहरु झुक्किने अवस्था छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको मुल गेटमा समेत जिल्ला शिक्षा कार्यालय बाँके यथावत छ । कार्यालयको नाम परिवर्तन भएको यति लामो समय हुँदा समेत गेट र नागरिक वडा पत्र परिवर्तन गर्नमा कार्यालयको ध्यान जान सकेको छैन ।


साविकको जिल्ला कृषि विकास कार्यालय हालको कृषि ज्ञान केन्द्रको अवस्था पनि उस्तै छ । जिल्ला कृषि विकास कार्यालय हुँदा भित्तामा लेखिएको नागरिक वडापत्र कार्यालयको नाम फेरिए पनि हटाइएको छैन । कार्यालयको बोर्डमा कृषि ज्ञान केन्द्र लेखिएको भएपनि नागरिक वडा पत्र भने जिल्ला कृषि विकास कार्यालयकै छ । कृषि ज्ञान केन्द्रको नयाँ नागरिक वडापत्र फल्याक्स बोर्ड बनाइ टाँसिएको भए पनि पुरानो नागरिक वडा पत्रलाई मेटाउनमा कार्यालयको ध्यान पुग्न भने सकेको छैन ।


देशमा रहेको पुरानो संरचनामा फेरबदल भइ जिल्ला स्थित कार्यालयको नाम र गर्ने काममा आमुल परिवर्तन आएको दुई वर्ष बिति सक्दा समेत कार्यालयको महत्वपूर्ण दस्तावेज मानिने नागरिक वडापत्र परिवर्तन गर्न नसक्नुले सरकारी अधिकारीहरुको लापरवाही मानिन्छ । नागरिकहरु जुनसुकै कार्यालयमा जाँदा सबै भन्दा सुरुमा आँखा जाने नागरिक वडा पत्र पुरानै देखिनुले झुक्किन सक्ने सेवाग्राही बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया