सिरक र फर्निचर पसलआगलागीमा १५ लाखको क्षति अनुमान

नेपालगन्ज – नेपालगन्जको विपीचोक स्थित दुई वटा पसलमा बिहीबार आगलागी भएको छ । आगलागीका कारण जनता सिरक पसल र समिर मिहारको फर्निचर पसल ध्वस्त भएको छ ।

साँझ ६ बजेतिर लागेको आगो नियन्त्रण झण्डै झण्डै दुई घण्टा लागेको थियो । नेपाल प्रहरी, दमकल तथा स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिएका छन् । आगलागी सुरु भएपछि नजिकका पसलहरुले समेत आफ्ना सामानहरु पसलबाट निकालेका थिए । आगलागीमा झण्डै १५ लाखको क्षति भएको अनुमान रहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बताएका छन् ।

‘नजिकै ग्याँस डिलर र पेट्रोल पम्प पनि रहेको हुँदा ठूलो जोखिम थियो’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने, ‘सुरक्षा अधिकारीहरुको उपस्थिति, दमकल र स्थानीयबासी तथा व्यवसायीको सहयोगमा तत्काल आगो नियन्त्रणका लागि खटिदा थप क्षतिबाट जोगिएको छ ।’

पसलमा तयारी अवस्थामा राखिएका तथा प्रयोगमा नआएका काठ एवं फर्निचर जलेका छन् । यसअघि पनि सोही स्थानमा रहेका एक दर्जन बढी फर्निचर पसल तथा गोदाममा आगलागी हुँदा रु एक करोड बढीको क्षति भएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष वैश्यले घना व्यवसायिक क्षेत्र भएकाले उपमहानगरपालिकामा थप दमकलको व्यवस्था गर्नुपर्ने बताएका छन् । ‘ज्वलनशील पदार्थको कारोबार समेत सहरभित्रै छ’, उनले भने, ‘त्यसैले आगलागी हुँदा क्षतिको जोखिम बढी हुन्छ, सचेतना अपनाउन आवश्यक छ ।’

प्रतिक्रिया

प्रतिक्रिया