भन्सार कार्यालयको यात्रु शाखा जमुनाह नाकामा

नेपालगन्ज – नेपालगन्ज भन्सार भारत नेपाल मुख्य नाकामा रहेका भन्सार मध्येको एउटा मुख्य हो । भारतीय क्षेत्रबाट वस्तु पैठारी गर्न वा नेपाली क्षेत्रबाट निकासी गर्न यो नाकाको प्रयोग हुँदै आएको छ । नेपालगन्ज पश्चिम नेपालको ठूलो ब्यवसायिक केन्द्र हो । तर, नेपालगन्जका लागि रुपईडिहा ठूलो क्रय केन्द्रको रुपमा परिचित छ ।


नेपालगन्जका ब्यवसायीले भारतीय क्षेत्रबाट सामाग्री ल्याउँदा कडाई नभएका कारण नेपाली उपभोक्ता भारतीय बजारमा जाने गरेको गुनासो सुनाउँछन् । भन्सार कर्मचारी भन्छन्, ‘ब्यवसायी आफै तस्करी गरेपछि चेकजाँच कसका लागि गर्ने ?’


वर्षौंको यो विवादलाई समाधान गर्ने हिसाबले नेपालगन्ज भन्सार कार्यालयको यात्रु शाखा जमुनाह नाकामा सारिएको छ । यसअघि नाकाको मुख्यद्वार भन्दा पाँच सय मिटर टाढा यात्रु शाखा हुँदा सहायक बाटाको प्रयोग गरी स–सानो तर ठूलो परिणाममा भन्सार छली हुने गरेको गुनासो व्यवसायीहरुको थियो । उसो त भन्सारले सय रुपैयाँ भन्दा बढीको सामानमा कर लगाउनु पर्छ । तर, घरयासी प्रयोगका सामान भन्दै व्यहारिक रुपमा सामान छाड्दै आएको छ ।
‘सीमाको मुखमै सबै यात्रुका सामान चेकजाँचको व्यवस्था मिलाएका छौं ’, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भने । भन्सारले सुरक्षा चेकजाँचका लागि एक्सरे मेसिन समेत लगाएको छ । जसले हतियार तथा शंकास्पद वस्तुहरु पत्ता लगाउनेछ ।


भन्सारले यात्रु शाखा सारेपछि राजश्व संकलनमा सकारात्मक प्रभाव समेत देखिएको नेपालगन्ज भन्सार प्रमुख निरौलाले बताए । ‘भन्सारको मुखमै चेकजाँच र सानो परिणामको भन्सार जम्मा गर्ने व्यवस्था गरिएपछि प्रज्ञापन पत्र भर्नेको संख्या दोब्बर भएको छ’, उनले भने, ‘यसले भन्सार छलीको सम्भावना कम गर्छ भने राजश्व पनि वृछि हुन्छ ।’


नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले व्यवसायी होस् वा सर्वसाधारण राज्यको कानुन बमोजिम सामान भित्रिन दिने व्यवस्था गर्नुपर्ने बताए । उनले भन्सारको यात्रु शाखा नाकाको मुखमै सारिनु सकारात्मक भएको उल्लेख गर्दै भन्सारको कडाईले राजश्व समेत वृद्धि हुने र आन्तरिक व्यवसाय फष्टाउने बताए ।
नेपालगन्ज भन्सारले सवारी साधनको समेत अनलाइन रेकर्ड राख्ने गरेको छ । यसले दैनिक पटकौं रुपैडिया पुग्दै सामान भित्र्याउनेहरु निरुत्साहित हुने भन्सार कर्मचारी बताउँछन् ।


नेपालगन्ज भन्सार कार्यालयमा प्रज्ञापन पत्र भर्न लाइनमा नै बस्नुपर्ने बाध्यता छैन । प्रज्ञानपत्र भर्ने व्यवस्था भन्सारले सेवाग्राहीको घरमै पुर्याएको छ । विदेशबाट सामाग्री आयात गर्दा वा भन्सार नाका भएर विदेश निर्यात गर्दा भन्सारमा लाग्ने कर, प्रज्ञापन फारम, राजश्व ब्यक्तिले आफ्नो घरमै बसेर अनलाइन मार्फत बुझाउन सक्छ । नेपालगन्ज भन्सारमा सामाग्री आएपछि फर्म भर्ने, लाइनमा लाग्ने, तोकिएको राजश्व बैंकमा दाखिला गर्ने विधिलाई छोटो गर्दै घरमै बसी बसी सबै सेवा लिन सक्ने विधि कार्यान्वयनमा रहेको नेपालगन्ज भन्सारले जानकारी दिएको छ ।


नेपाल–भारत सीमाका भित्री नाकाको प्रयोगबाट पनि भन्सार छली हुँदै आएको छ । त्यसैले भन्सार कडाईका बाबजुद प्रहरीले लाखौंको सामाग्री नेपालगन्ज क्षेत्रबाट जफत गर्दै आएको पछिल्लो तथ्याँक छ । यसले राजश्वमा नोक्सान गर्दै आएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले गत आ.व.मा ०७५÷०७६ मा मुस्किलले राजश्व भेटेको थियो । असार अन्तिम साता २४ करोड बढी राजश्व संकलन भएपछि भन्सारले राजश्व सीमा भन्दा ५० लाख बढी राजश्व संकलन भएको हो ।


नेपालगन्ज भन्सारले प्रत्येक बर्ष आ.व.को अन्तिम महिनाको सुरुवातमै बार्षिक लक्ष्य भेट्ने गरेको थियो । तर, गत आ.व.मा भने लक्ष्य भेटाउन भन्सारलाई हम्मेहम्मे परेको थियो । तस्करहरुले स–सानो परिणामा एकै दिन पटकौ सीमावर्ती बजार पुगी घरायसी प्रयोजन भन्दै समान भित्र्याउने गरेका छन् । अझै मुख्य नाकाबाट छिरेपछि सहायक बाटोको प्रयोग पनि भन्सार छल्नका लागि हुने गरेको पाइन्छ । नाकाको मुखमै चेकजाँच गर्दा भन्सार राजश्व संकलन वृद्धि हुने भन्सार कर्मचारीहरुको रहेको छ ।


बाँकेमा खुल्ला सिमाना भएको क्षेत्र हो । नेपालगन्ज नाका बाहेक अन्य पूरै सिमाना खुल्ला रहेकोले औपचारिक रुपमा भन्सार गराउने सामाग्री बाहेक वस्तुहरु गाउँ भएर नेपालगन्ज सम्म पुग्ने गरेको भन्सारको भनाई छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले चेकजाँचमा कुनै लापरवाही नभएको बताउँछन् । ‘चेकजाँचमा कुनै प्रकारको चुक हुँदैन’, दैनिक नेपालगन्ज संग उनले भने, ‘भन्सार कर्मचारी र प्रहरी टोलीले संयुक्त रुपमा तस्करी विरुद्ध चेकजाँच गरेका छन् ।’


नेपालगन्जमा रहेका ब्यवसायीले भन्सारमा छुट भएका कारण उपभोक्ता र सेवाग्राहीहरु भारतीय बजारमा आकर्षित भएको आरोप लगाउँदै आएका छन् । भारतीय बजारमा सस्तो पाउने विषयले उपभोक्ताको आकर्षण बढाएको हो ।


नेपालगन्ज रुपईडिहा खण्डमा तस्करी गर्ने महिला र पुरुषको संख्या करिब पाँच हजार रहेको अनुमान छ । उनीहरुले नेपालगन्जका ब्यवसायीका लागि भन्सार छलेर अवैध सामाग्री सप्लाई गर्ने काम गर्दै आएका छन् । तस्करीले ल्याएको सामाग्रीमा पसलेलाई बढि नाफा हुने भएकोले भन्सार भन्दा तस्करीलाई ब्यवसायीले प्राथमिकता दिँदै आएको पाइन्छ ।


‘व्यवसायी हुन् वा सर्वसाधारण कानुन बमोजिम सबैले भन्सार तिरेर मात्रै समान भित्र्याउने सुनिश्चित भन्सारले गर्नुपर्छ’, उद्योग वाणिज्य महासंघका सदस्य श्रेष्ठ भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया