दुर्घटनापछि खुल्यो चेत ,सहरमा सिसि क्यामेरा थपिने

मर्मतका लागि पठाइएका सिसिक्यामेरा केही दिनमै पुनः राखिंदै

नेपालगन्ज – नेपालगन्ज स्थित नर्सिङ्ग होम अगाडि शनिबार विहान एउटा दुर्घटना भयो । दुर्घटनामा मोटरसाइकलको ठक्करबाट दाङ्गकी सिता चौधरीको ज्यान गयो । तर, प्रहरीले ठक्कर दिने मोटरसाइकल फेला पार्न सकेन । दुर्घटना देखेका कसैले पनि मोटरसाइकलको नम्बर टिप्न भ्याएनन् । प्रहरीले फरार मोटरसाइकल खोजतलास गर्यो तर, फेला पार्न भने सकेन । विडम्वना, अनुसन्धानलाई सघाउनका लागि त्यहाँ सिसि क्यामेरा पनि थिएन ।

नगरको सुरक्षा चुस्त बनाउन मात्रै नभई चोरी, डकैती, दुर्घटना जस्ता घटनाको अनुसन्धानमा समेत सिसि क्यामेराले सघाउन सक्छ । त्यसैले नेपालगन्जका विभिन्न चोकहरुमा ५६ वटा क्यामेरा जडान गरिएको थियो । तर, तीन मध्ये कुनैले पनि अहिले सही ढंगले काम गर्दैनन् । २५ बढी बिग्रेका सिसिक्यामेरा मर्मतका लागि काठमाडौं पठाइएको भएपनि फिर्ता भएका छैनन् ।

शनिबार भएको दुर्घटनापछि सहरमा थप सिसि क्यामरा जडान तथा यसअघिका सिसि क्यामरा दुरुस्त राख्नु पर्ने महसुस गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले सिसि क्यामेरा व्यवस्थापन समितिको बैठक आइतबार बोलायो । ‘बिग्रेका क्यामेरा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने र सहरका विभिन्न ठाउँमा थप सिसिक्यामेरा जडानका लागि व्यवस्थापन समितिमा प्रस्ताव गरेका छौं’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले भने । ‘सहर प्राविधिक रुपमा क्यामेराको निगरानीमा भए सुरक्षा अवस्था दुरुस्त राख्न मद्दत पुग्छ’, प्रहरी उपरीक्षक वलीले भने, ‘धर्ना, प्रदर्शन, सडक दुर्घटना, ट्राफिक व्यवस्थापन, चोरी र अन्य अपराधलाई निगरानी सहज बनाउन सहरका थप स्थानहरुमा क्यामरा जडानको प्रस्ताव गरेका हौं ।’

नेपालगन्जमा सिसि क्यामेराको व्यवस्थापनका लागि नन्दलाल वैश्यको अध्यक्षतामा समिति रहेको छ । सिसि क्यामेराको सिसिटिभी मोनिटरिङ्गको जिम्मा जिल्ला प्रहरी कार्यालय बाँकेलाई दिइएको छ । क्यामेराहरु बिग्रदा तत्काल मर्मत हुने गरेको छैन, न त रेखदेख नै । जसले गर्दा बिग्रेका क्यामेरा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने र निरन्तर रेखदेखको काम हुनसकेको छैन । आगलागी, चट्याङ, धुलोका कारण क्यामेरा बिग्रने गरेका छन् । नियमित रेखदेखले मात्रै राखिएका सिसि क्यामेराले उद्देश्य अनुसारको काम गर्न सक्ने बताउँछन् प्रहरी प्रमुख वली ।

त्यसैले सिसिटिभी व्यवस्थापन समितिको आइतबार बसेको बैठकले अब सिसि क्यामेराका मर्मत, सम्भारका लागि एक जना प्राविधिक राख्ने निर्णय गरेको छ । प्राविधिकका लागि लाग्ने खर्च व्यहोर्नका लागि नेपालगन्ज उपमहानगरपालिकासँग गर्ने आग्रह गर्ने निर्णय भएको समितिका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिएका छन् ।
‘मर्मतका लागि काठमाडौं पठाइएका क्यामेरा दुई दिनभित्र बनेर आउँदैछ’, अध्यक्ष वैश्यले भने, ‘सहरका अन्य आवश्यक ठाउँको पहिचान गरी थप सिसि क्यामेरा पनि जडान गरिनेछ ।’ बाँके प्रहरी प्रमुख वली, पहिले जडान भएका सबै क्यामेराहरुको अनुगमन गरी आवश्यकता अनुसार मर्मतको काम गरिने बताएका छन् ।

चाडपर्व नजिकिंदैछ । पर्वका बेला चोरीका घटना बढी हुने गरेका छन् । अपराध गरेर उम्किने, लुक्ने वा प्रमाण मेटाउन सक्ने अवस्थालाई सिसि क्यामेरा दुरुस्त हुँदा विराम लगाउन सहज प्रहरी प्रहरी अधिकारी बताउँछन् । ‘सुरक्षाका दृष्टिकोणले क्यामरा निकै महत्वपूर्ण थियो, क्यामेरा जडानले अपराध गर्ने ब्यक्तिहरु पनि सतर्क हुने र अपराधका घटना समेत निन्त्रणमा आउने छ’, प्रहरी प्रमुख वलीले भने । भारतीय सिमाना संग जोडिएको जिल्ला भएकोले विदेशी आवागमन र त्यसमा हुन सक्ने सुरक्षा जोखिमलाई ब्यवस्थित गर्न क्यामेरा महत्वपूर्ण हुने प्रहरी ठम्याई छ । ट्राफिक ब्यवास्थापन, शान्ति सुरक्षा कायम राख्न र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसिटिभी क्यामराले महत्वपूर्ण सहयोग गर्ने प्रहरी विश्वास छ ।

निजी क्षेत्रले प्रयोग गर्नुपर्ने सिसि क्यामेराको अनुमति जिल्ला प्रशासन कार्यालय बाँकेबाट अनुमति लिनुपर्ने व्यवस्था छ । प्रशासनबाट हालसम्म ६५ वटा व्यवसायिक प्रतिष्ठानहरुले अनुमति लिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया