सभापति कोइराला घाइते प्रकरण
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेपालगन्जमा आएर बाँकेका प्रजिअ र एसपी विरुद्ध आक्रोश व्यक्त गरिरहँदा शनिवार ठिक त्यही समयमा राजधानी काठमाडौं स्थित माइतीघर मण्डलामा जम्मा भएका काँग्रेस कार्यकताहरुले प्ले कार्ड प्रदर्शन गर्दै थिए, ‘प्रधानमन्त्रीज्यु यहाँको राज्यमा को सुरक्षित छ ?’

बाँकेको खजुरा गाउँपालिका– २ सितापुरमा नेपाली काँग्रेस बाँकेका सभापति श्रीमति किरण कोइराला घाइते भएको घटना उक्त पार्टीको ‘राष्ट्रिय मुद्दा’ बनेको छ । माइतीघर मण्डलामा ‘प्रधानमन्त्रीज्यु यहाँको राज्यमा को सुरक्षित छ’ भनेर प्रश्न गर्ने प्रदर्शनकारीहरुले सभापति कोइरालाको हात प्लाष्टर गरेको पछिल्लो तस्वीर सहितको प्ले कार्ड बोकेका थिए ।
त्यतिबेला अर्थात् दिउसो साढे ३ बजेतिर नेपालगन्जको विपी चोकमा कार्यकर्ताहरुबीच सभापति देउवा घाइते जिल्ला सभापति कोइरालासँगै मैनबत्ती बाल्दै थिए । काँग्रेसका युवा नेता सुधाँशु कोइलालाले दैनिक नेपालगन्जसँग भने, ‘यो दिउसै मैनबत्ती बालेर न्यायको खोजी हो ।’ बत्ती बालेर गरिएको सांकेतिक विरोध प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले सरकार विरुद्ध जमेर नाराबाजी गरे, उनीहरुले सितापुर घटनाका दोषीलाई कारबाहीको माग गरे । शुक्रवार पनि त्यही ठाउँमा एक घण्टा चक्काजाम गरेका काँग्रेस कार्यकर्ताहरुले टायर बालेर सरकार विरुद्ध चर्का नाराबाजी सहित प्रदर्शन गरेका थिए ।

राष्ट्रिय जागरण अभियानका क्रममा दाङ पुगेका सभापति देउवा एकाएक नेपालगन्ज आइपुगे । उनले मैनबत्ती बालेर विरोधको शुभारम्भ गरेपछि सोझै पार्टी कार्यालय पुगेर कार्यकर्तालाई सम्बोधन गरे । जिल्ला सभापति घाइते भएकै घटनाको सेरोफेरोमा रहेका देउवाले बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख एसपीप्रति आक्रोशमात्र पोखेनन्, ‘प्रहरी प्रशासन पार्टीको इशारामा चलेको’ आरोप लगाए । पूर्व प्रधनमन्त्री समेत रहेका देउवा आक्रोशित हुनुमा घटनाबारे उनलाई गरिएको ‘ब्रिफिङ’ थियो । कार्यकर्ताहरुमाथि आक्रमण गर्नेहरुलाई कारबाही नगरेसम्म कांग्रेसको आन्दोलन नरोकिने चेतावनी सभापति देउवाले दिएका छन् । पूर्व प्रधानमन्त्री देउवाले सरकारले घटनाका दोषीहरुलाई कानुनी दायरामा नल्याए संसदमा हंगामा गर्ने चेतावनी दिए ।
कार्यकर्ता भेटघाटमा केन्द्रीय सदस्य किशोरसिंह राठोरले कांग्रेसले यो घटनाको डटेर सामना गर्ने धारणा राखे । घटनालाई सरकाले गम्भीरतापूर्वक नलिए देशैभर आन्दोलन गर्ने चेतावनी राठौरले दिए ।

जिल्ला सभापति कोइरालाले जिल्ला प्रहरी प्रमुखको तुरुन्त सरुवा हुनुपर्ने माग अघि सार्दै भनिन्, ‘निरीह र लाचार अवस्थामा रहेको प्रहरीले गुण्डाहरुलाई सहयोग गरे ।’ जागरण अभियानका केन्द्रीय प्रनिनिधि विद्या खनाल, पूर्व जिल्ला पार्टी सभापति युवराज शर्मा, पूर्व सांसद् राजु खनाल, क्षेत्रीय सभापति नक्की खाँ लगायतले भ्रष्टाचारको विरोध गर्दा आक्रमण भएको गुनासो पार्टी केन्द्रीय सभापति देउवा समक्ष राखे ।
शनिवारनै सभापति देउवाले दाङमा बोल्दै नेपाली कांग्रेसको जनजागरण अभियानको सफलता देखेर आत्तिएकाहरू कम्युनिष्टहरूले बाँकेमा काँग्रेसको कार्यक्रममा आक्रमण गरेर आफ्नो चरित्र उदांगो पारेको बताए । ‘अधिकानायवादी सोच भएका कम्युनिष्टहरू जागरण कार्यक्रममा जनताको आकर्षण देखेर आत्तिएका छन् । आफूहरूको भ्रष्टाचारको पोल खुल्ने डरले आत्तिएकै कारण आक्रमण गरेका छन्,’ देउवाले भने ‘दोषीलाई कारबाही नहुँदासम्म कांग्रेस चुप लागेर बस्दैन ।’
गृहमन्त्रीलाई ज्ञापन
शनिवारनै नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिहरुले गृहमन्त्री रामबहादुर थापालाई बाँकेकी पार्टी सभापति किरण कोइराला माथि ‘सांघातिक आक्रमण’ भएको भन्दै ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाका दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । ‘हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारबाही गर्न सरकार गम्भीर छ,’ गृहमन्त्री थापाले बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउँदै भने । गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारबाही हुने प्रष्ट पार्दै केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारबाही गर्ने बताएपछि सभापतिहरु सन्तुष्ट भएर फर्किएका थिए ।
आन्दोलनको स्वरुप फेर्ने
पार्टी केन्द्रीय सभापतिनै आएर सान्त्वना दिएपछि बाँके काँग्रेसले आन्दोलनको स्वरुप फेर्ने भएको छ । घटनापछिको दुई दिनसम्म सडकमैं रहेको बाँके काँग्रेसले पार्टी केन्द्रीय सभापति शेर बहादुर देउवासँगको भेटपछि विरोधको स्वरुप फेर्ने भएको हो । ‘अब बस्ने बैठकले कसरी अगाडी बढ्ने भन्ने निर्णय गर्छ,’ पार्टी सभापति श्रीमति किरण कोइरालाले दैनिक नेपालगन्जसँग भनिन् ।
सभापति देउवा शनिवार साँझनै काठमाडौं फर्किएका छन् । त्यसअघि पूर्व प्रधानमन्त्री समेत रहेका देउवासँग बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र जिल्ला प्रहरी प्रमुख बीर बहादुर ओलीले भेटघाट गरि घटनाबारे जानकारी दिएका थिए । ‘दुबै जनाले दोषीलाई कारबाहीको प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ भेटबारे कोइरालाले भनिन् ।











