धानको बियाड राखेका किसानहरु राम्रोसँग नउम्रेपछि चिन्तित बनेका छन् । त्यसै त बर्षात् नहुँदा ढिलो बियाड राखेका किसानहरु अपेक्षित रुपमा बियाड नउम्रिएपछि चिन्तित बनेका छन् ।
खजुरा–७ कलङसङ गाउँका ३२ बर्षिय किसान जियाउल हक धानको बियाडमा ४० प्रतिशत भन्दा कम बिउँ मात्रै उम्रिए पछि निकै चिन्तित भएका छन् । राम्रो उत्पादन हुने आशमा उनले हाइब्रेट जातको ६४४४ गोल्ड नामक धानको बिउँ नेपालगन्ज स्थित एक एग्रोभेटबाट १८ केजी किनेका थिए । तर, रोप्नका लागि तयार हुने बेलामा बियाडमा राम्रो बिउँ नउम्रिए पछि उनी बिउँ किनेको एग्रोभेट पसलमा पटक पटक धाए । एग्रोभेट सञ्चालकले कम्पनीले पठाउँछ हामीले के गर्ने भनी दिएको जवाफले उनी झनै निराश भएका छन् ।
जियाउल हक मात्रै होइन खजुरा सोनपुरका मलिक मोहम्मद खाँ, जवाहिर खाँ, जमाल खाँ, करिम खाँ महेताव खाँ मोहम्मद खाँ लगायतका किसानको अवस्था पनि उस्तै छ । उनीहरुले लगाएको ६४४४ गोल्ड नामक हाइब्रेट जातको धानको बिउँ पनि पचास प्रतिशत भन्दा कम उम्रिएको छ । उम्रिएको बिरुवा पनि राम्रो छैन ।
धानको बियाडमा राम्रो बिउँ नउम्रिएका कारण समयमा धान रोप्न नपाइएको किसानहरु बताउँछन् । ‘धेरै जमिनलाई पुग्ने धानको ब्याड राखिएकोमा कम उम्रिएका कारण पुनः बियाड राख्नु पर्दा श्रम र खर्च बढेको किसानहरुको गुनासो छ । बिउँको मुल्य, हाम्रो श्रम त्यसै खेरा गयो, बिक्रेताले त्यसको उचित क्षतिपूर्ति दिनु पर्छ,’ पीडित किसानले भने ।
रोपाई ढिला हुँदा उत्पादन घट्ने उत्पादन मुल्य बढ्ने किसानहरु बताउँछन् । धानको बिउँ नउम्रिएका कारण किसानलाई परेको मर्का बारे बुझन फियान नेपालका नेपालगन्ज प्रमुख सुरेश कुमार गौतम र खाद्य अधिकार सञ्जालका सदस्य समेत रहेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमको टोली मंगलबार सोनपुर पुगेको थियो ।
अनुगमनका क्रममा झण्डै आधा दर्जन किसानहरुको धानको ब्याडमा निकै कम बिउँ उम्रिएको पाइएको अनुगमनमा संलग्न फियान नेपालका नेपालगन्ज प्रमुख सुरेश कुमार गौतमले जानकारी दिए । धानको ब्याडमा आधा भन्दा कम बिउँ उम्रिदा त्यसको प्रत्यक्ष मर्का किसानलाई परेका गौतमले बताए । बिउँ कम उम्रने समस्याले उत्पादनमा कमी भै त्यसले किसानको खाद्य अधिकारमा असर पार्ने गौतमको भनाइ छ । किसानलाई परेको मर्का बिक्रेता र स्थानीय सरकारले सुन्नु पर्ने गौतमले बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले गुणस्तरिय बस्तु तथा सेवा पाउने उपभोक्ताको अधिकार भएको बताए । गुणस्तर हिन बिउँ बिक्री बितरण गरेका कारण किसानलाई परेको भन्दै गौतमले बिक्रेताले किसानलाई उचित क्षतिपूर्ति दिनु पर्नेमा जोड दिए ।
६४४४ गोल्ड नामको धानको बिउँ राम्रो नउम्रिए पछि पीडित किसानहरु नेपालगन्ज स्थित बिउँ किनेको एग्रोभेटमा त्यसको गुनासो लिएर गए पनि उक्त एग्रोभेटले गुनासो नसुनेको किसानहरुको आरोप छ । प्रतिकेजी ४६५ रुपैयाँका दरले महङ्गो धानको बिउँ खरिद गरे पनि बिउँ राम्रो नपरेको, बिउँ किन्ने पैसा, ब्याड लगाउने श्रम र समयको त्यसै खेर गयो मर्का पार्नेलाई कारवाही होस् । पीडित किसान मलिक मोहम्मद खाँले भने ।