प्रत्येक बर्ष जस्तो बाँकेमा लागुऔषधका मुद्दा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको विगत तीन बर्षको तथ्यांक हेर्ने हो भने लागुऔषध मुद्दामा पक्राउ पर्ने र मुद्दा दर्ताको संख्या ह्वात्तै बढेको देखिन्छ । लागुऔषध मुद्दा र पक्राउको संख्या जस्तै लागुऔषध बरामद पनि चालु आ.व.मा बढेको छ ।
आ.व. ०७३/०७४ मा जिल्ला प्रहरी कार्यालय बाँकेले १८० जनालाई पक्राउ गरेको थियो । उक्त आ.व.मा १ सय ३७ जना विरुद्ध लागुऔषधको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । सोही आ.व.मा ५ सय ३७ ग्राम ३१२ मिलिग्राम ब्राउन सुगर, ५३ ग्राम अफिम, ३७ किलो १ ग्राम गाँजा, ४ लिटर २ सय मिलिलिटर कोरेक्स र ९ सय ७५ ट्याब्लेट नाइट्रोजेपाम ट्याब्लेट बरामद भएको थियो ।
आ.व. ०७४÷०७५ मा मुद्दाको संख्या सामान्य बढे पनि पक्राउ पर्नेको संख्या ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक छ । उक्त आ.व.मा लागुऔषध सहित १ सय ४५ जना पक्राउ परेका थिए भने ३ सय १० जना पक्राउ परेका थिए । आ.व. ०७५/०७६ को असार ४ गतेसम्म २ सय २१ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन् भने ३ सय ३८ जना पक्राउ परिसकेका छन् । जसमा ९ महिला र ३२९ पुरुष रहेका छन् । पक्राउ पर्नेमा १४ जना भारतीय र १ जना बंगलादेशी नागरिक पनि रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
आ.व. ०७४/०७५ मा ३ सय ३४ ग्राम ४१६ ग्राम ब्राउन सुगर, ८६ केजी २५० ग्राम चरेश, ७ किलो ३ सय ग्राम अफिम, १ सय ग्राम गाँजा, २ हजार ६ सय ५० मिललिटिर कारेक्स र ३ हजार ५ सय १ ट्याब्लेट नियन्त्रणमा लिएको लिएको थियो । चालु आ.व.को असार ४ गतेसम्म ४ सय ६६ ग्राम १ सय २० मिलिग्राम ब्राउन सुगर, ४७ किलो ८ सय २४ ग्राम चरेश, १८ किलो ५ सय ग्राम अफिम, २ किलो ७ सय २० ग्राम गाँजा, ७ लिटर ८ सय मिलिलिटर कोरेक्स, ७ हजार ७८ ट्याब्लेट नाइट्रोजेपाम ट्याब्लेट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक छ ।
प्रहरी उपरीक्षक पौडेलले लागुऔषधको कारोबार बढेको भन्दा पनि प्रहरी चनोखो हुँदै जाँदा पक्राउ पर्ने र मुद्दाको संख्या बढ्दै गएको बताउँछन् । ‘बाँकेमा लागुऔषधको ठूलो समस्या छ’, प्रहरी उपरीक्षक पौडेले भन्छन्, ‘त्यसैले प्रहरी सक्रियता बढ्दै जाँदा पक्राउ पर्नेहरुको संख्या पनि बढ्दै गएको हो ।’ पछिल्लो समय प्रहरीले सीमामा कुकुरको प्रयोग गरेर लागुऔषधको निगरानी गरिरहेको छ । लागुऔषध विरुद्ध प्रभावकारी कारवाहीका लागि प्रहरीले छुट्टै ब्यूरो नै सञ्चालन गरेको छ ।











