निर्वाचन आयोगले व्यवहारिक र स्वभाविक हुने गरी खर्च निर्धारण गर्नुपर्ने धारणा राखिएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोक) प्रदेश नं ५ को आयोजनामा नेपालगन्जमा भएको निर्वाचन जोखिम ब्यवस्थापन सम्बन्धि प्रदेश स्तरीय अन्तरसंवाद कार्यक्रमका वक्ताहरुले हाल आयोगले तोकेको खर्च व्यवहारिक नभएको भन्दै त्यसको समीक्षा गरिनुपर्ने धारणा राखेका हुन् ।
‘चुनावी तडकभडकले आयोगले तोके भन्दा बढी खर्च उम्मेदवारले गरिरहेका छन् भन्ने देखिन्छ’, वक्ताहरुले भने, ‘त्यसैले हालको खर्च सीमालाई बढाउनु पर्छ र त्यस भन्दा बढी खर्च नहोस् भन्नेमा कडाईका साथ लागु गरिनुपर्छ ।’ कतिपय वक्ताहरुले निर्धारित सीमा भन्दा कयौं गुण खर्च गरिंदा पैसा नहुनेले चुनाव लड्नै नसक्ने अवस्था आइसकेको बताएका थिए ।
निर्वाचनको शुद्धता र बिश्वसनियताका लागि सम्भावित जोखिम न्यूनीकरणको पहल आवश्यक रहेको कार्यक्रमका वक्ताहरुले बताएका थिए । वक्ताहरुले निर्वाचनका सबै चरणमा निर्वाचनको शुद्धता र बिश्वसनियतालाई प्रभावित पार्ने सम्पूर्ण बिषय बस्तुहरुको आंकलन र बिश्लेषण गरि जोखिम न्यूनिकरणको लागि समयमै आवश्यक पहलकदमी गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले यसको स्वच्छता र निश्पक्षताका लागी आवश्यक कदम चाल्नु पर्नेमा जोड दिइन् । समानुपातिक निर्वाचन पद्धतीको दुरुपयोग रोक्नु पर्नेमा बताउँदै सभासद केसीले पैसाको कारणले उम्मेदवार हुनबाट बन्चित हुनु पर्ने अवस्थाको अन्त्य गरिनु पर्नेमा जोड दिइन् । राजनैतिक पार्टीहरुमा रुपान्तरण आवश्यक रहेको भन्दै सासंद केसीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि पहिले देखि नै तयारी हुनु पर्नेमा जोड दिएकी थिइन् ।
कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले मतदाता शिक्षालाई प्रभावकारी बनाउनु पर्ने बताउँदै निर्वाचन मिति घोषणामा ढिलाई गर्ने प्रवृत्तिको अन्त्य हनु पर्नेमा जोड दिए । आचारसंहितामा समयानुकुल सुधार हुनु पर्ने भन्दै प्रजिअ भुजेलले चरण चरणमा निर्वाचन भए सुरक्षा प्रबन्ध मिलाउन सजिलो हुने बताए । कर्मचारीलाई मतदानको अधिकार दिईनु पर्ने भन्दै प्रजिअ भुजेलले निर्वाचन जोखिमको पूर्व आँकलन गरि ब्यवस्थापन गरिनु पर्ने बताए ।
राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय नेपालगन्जकी निमित्त प्रमुख द्वारिका कुमारी अधिकारीले निर्वाचनको सबै चरणमा सबैको मानव अधिकारको आधारभुत कुरामा ध्यान पु¥याउनु पर्ने बताइन् । पायक पर्ने स्थानमा अपाङ्ग, लैगिक मैत्री, र जेष्ठ नागरिकलाई सहज हुने गरि मतदान केन्द्रको स्थापना गरिनु पर्नेमा अधिकारीले जोड दिइन् ।
नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य इन्द्रा शाहीले पैसाका कारण एउटा गरिव इमान्दार ब्यक्ति निर्वाचनमा उम्मेदवार बन्नबाट बञ्चित हुने अवस्थाको अन्त्य गरिनु पर्नेमा जोड दिदै महिला भएकै कारण प्रमुख पदमा उम्मेवार हुनबाट बन्चित गराउने कार्य रोक्नुु पर्ने बताइन् । मतगणना शिघ्र हुने ब्यवस्था मिलाउनु पर्ने भन्दै शाहीले उम्मेदवारको शैक्षिक योग्यता तोक्नु पर्ने बताइन् ।
प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भड्किलो निर्वाचन पद्धतीमा सुधार आवश्यक भएको भन्दै पैसा हुने र गुण्डा परिचालन गर्न सक्नेले निर्वाचनमा टिकट पाउदा सुरक्षा चुनौती थपिने गरेको बताए । वर्तमान निर्वाचन पद्धतीमा सुधारको आवश्यकता देखिएको बताउँदै प्रहरी नायव उपरिक्षक सापकोटाले पैसाको आधारमा निर्माण ब्यवसायी, ब्यापारी र ठेकेदार उम्मेदार बनेको देख्दा आफुलाई दिक्क लाग्ने गरेको बताए । जनगणनाको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न उपयुक्त हुने सापकोटाले सुझाव दिए ।
राजपाका नेता एवं वरिष्ठ अधिवक्ता बिजय कुमार गुप्ताले निर्वाचन धेरै खर्चिलो भइरहेकोमा चिन्ता प्रकट गर्दै निर्वाचन पद्धतीमा सुधार आवश्यक रहेको बताए । नेपाल बार एशोर्सिसनका केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले निर्वाचनमा हारजितको इगो लिने प्रबत्ति र निर्वाचनको प्रक्रियमा हुने कमी कमजोरीले जोखिम निन्त्याउने भएकोले यसको निराकरणका लागी समयमै कारण खोजी समाधान खोजिनु पर्नेमा जोड दिए ।
अधिकारर्मी प्रकाश उपाध्यायले निर्वाचन आयोग लगायतका हाम्रा संस्थाहरु ब्यवशायीक हुन नसकेकोमा राजनैतिक नियन्त्रणमा रहेको भन्दै सबैले जवाफदेहिता बहन गर्ने परिपाटीको बिकाश गरिनु पर्नेमा जोड दिए ।
सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी, नेपालगन्ज उच्च बारका अध्यक्ष बिकाश आचार्य, सचिव चित्र बहादु शाही, जिल्ला अध्यक्ष मोहम्मद अयुव सिद्धिकी, जियोकका पदम पाण्डे, स्थानीय शान्ति समिति बाँकेका पूर्व संयोजक तेज बिक्रम शाह लगायतका वक्ताले निर्वाचन क्षेत्र निर्धारण प्रक्रिया, निर्वाचन शिक्षा, मतदाता नामावली, राजनैतिक बित्तिय प्रणाली, आचारसंहिता, निर्वाचन प्रचार प्रशार र खर्च, निर्वाचन ब्यवस्थापन, निर्वाचन कानून र निर्वाचन सुरक्षा प्रणालीमा समय सापेक्ष सुधारको आवश्यकता औल्याउदै निर्वाचनमा जोखिम ब्यवस्थापनका सम्बन्धमा समयै उचित ध्यान पु¥याउनु पर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का केन्द्रीय प्रतिनिधि डा. समिर श्रेष्ठले निर्वाचनको शुद्धता र बिश्वसनियताका लागि निर्वाचनको सबै चरणमा उत्पन्न सक्ने जोखिमको आँकलन गरि यसको ब्यवस्थापन हुन उपयुक्त हुने बताए । नियोकले निर्वाचन जोखिम ब्यवस्थापनका लागि सबै प्रदेशमा सम्बाद कार्यक्रम गरेको जानकारी गराउदै निर्वाचनको समयमा मात्रै नभएर निर्वाचनलाई स्वतन्त्र निष्पक्ष, मर्यादित र बिश्वसनिय बनाउनका लागि सधै भरि लागिरहनु पर्नेमा जोड दिए ।
नियोकका प्रदेश कोषाध्यक्ष वसन्त गौतमले सञ्चालन र सदस्य सुनिता शर्माले स्वागत गरेको सम्बाद कार्यक्रममा नियोक प्रदेश संयोजक सुरेश कुमार गौतमले आधारपत्र प्रस्तुत गरेका थिए । नियोकले निर्वाचनको शुद्धता र विश्वनियताका लागि काम गरिरहेको भन्दै प्रदेश संयोजक गौतमले निर्वाचन जोखिम ब्यवस्थापनमा जोड दिए ।











