औद्योगिक क्षेत्र व्यवस्थापन र नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेका उद्योगपतिहरु बीच छलफल
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नेपालगन्ज औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगका सञ्चालकहरुसँग छलफल अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा सुधारको प्रतिबद्धता जनाएको छ । बिहीबार नेपालगन्ज औद्योगिक क्षेत्र विकास संघका पदाधिकारीहरुसँगको अन्तरक्रियात्मक भेटघाटमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, महाप्रबन्धक सुभाषा सिटौला, सचिव तुल बहादुर राणा लगायतले नेपालगन्ज औद्योगिक क्षेत्र भित्र सुधारको प्रतिबद्धता जनाएका हुन् ।
‘उद्योगीहरुलाई सहजताका लागि आवश्यक गुनासाहरु सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त भएको छ’, संघका सचिव दिला कुमारी शाहले दैनिक नेपालगन्जसँग भनिन्, ‘उद्योगीहरुलाई औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनमा कुनै समस्या हुनु हुँदैन भन्ने मान्यतामा व्यवस्थापनले मान्यता राखेको धारणा व्यक्त भएको छ ।’
संघका अध्यक्ष राजेश मास्केको नेतृत्वमा उपाध्यक्ष अब्दुल वाहिद अन्सारी, कोषाध्यक्ष तेज कुमार जयसवाल, सहकोषाध्यक्ष विवेक थापा, सदस्य चम्पालाल बोथरा, रिद्धकरण जैन, किरण कार्की, होमनाथ ज्ञवाली, जगदीश उप्रेति लगायतले व्यवस्थापनका पदाधिकारीहरुसँग अन्तरक्रिया गरेका हुन् । उनीहरुको स्वागत, सम्मानमा रात्रीभोज समेत दिएको संघले जनाएको छ ।
कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतले देशभरीका दशवटै औद्योगिक क्षेत्रको पछिल्लो अवस्थाबारे अध्ययन गर्ने र उद्योगीहरुसँग समसामयिक छलफल सुरु गरिएको जानकारी दिए । ‘नेपालगन्ज औद्योगिक क्षेत्र पहिलो प्राथमिकतामा छ’, अध्यक्ष बस्नेतले उद्योगपतिहरुसँग भने । त्यसक्रममा उद्योग सञ्चालकहरुले विविध समस्याहरु राख्दै खासगरी औद्योगिक क्षेत्रको ढल, बाटो, सडक बत्ती, सरसफाई, उद्योगहरुको संरक्षण लगायतका सवाललाई उठान गरेको संघका सचिव शाहले जानकारी दिइन् ।
सार्वजनिक सुनुवाई गरिंदै
प्रदेश ५ स्तरीय औद्योगिक क्षेत्र निर्माणका लागि जुटेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजु काठमाडौंले आज शुक्रबार नौबस्ता प्रस्तावित औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाई गर्ने भएको छ ।
नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख, कृष्ण पुनका अनुसार, बाँकेको बैजनाथ गाउँपालिका–२ र ३ मा पर्ने नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन तयार भैसकेकाले सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई गर्न लागिएको हो ।
‘आयोजनाको मस्र्यौदा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार हुने क्रममा रहेकाले त्यसक्रममा वातावरणीय सवालबारे राय सुझाव संकलन गर्न स्थानीय जनता संघ, संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरु र प्रस्तावक संस्थाका प्रतिनिधिहरु बीच वातावरणीय प्रभाव मूल्यांकनबारे सार्वजनिक सुनुवाई गर्न लागिएको हो’, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भनेको छ ।