नेपालगन्जमा सहकारी बैंक स्थापना पहल

सहकारी मार्फत निकै ठूलो रकम जनस्तरमा परिचालित हुन थालेपछि नेपालगन्जमा सहकारीहरुको आफ्नै बैंक, राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना पहल थालिएको छ । लामो समयदेखि सहकारीकर्मीहरुले माग गर्दै आएको सहकारी बैंकको शाखा स्थापनाका लागि पहल थालिएको हो ।


‘निकै पहिलेदेखि माग हुँदै आएपनि विभिन्न कारणले यो विषय प्राथमिकतामा पर्न सकेको थिएन’, यसै बर्ष राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिमा निर्वाचित सञ्चालक सदस्य विजया धितालले दैनिक नेपालगन्जसँग भनिन्, ‘अब हामी नेपालगन्जमा शाखा सञ्चालनका लागि पहल अगाडि बढाएका छौं ।’ त्यसका लागि अध्ययन सुरु गरिएको जानकारी दिंदै सहकारी बैंकका सञ्चालक धितालले भनिन्, ‘देशैभरीमा विभिन्न प्रकृतिका सहकारीहरुलाई अभिभावकत्व निर्वाह गर्दै आएको राष्ट्रिय सहकारी बैंकको शाखा नेपालगन्जमा निकै खट्किएको छ ।’


बुधबार मात्रै नेपालगन्ज क्षेत्रका सबै प्रकृतिका सहकारी संघहरुको नेतृत्वसँग सहकारी बैंकको स्थापना बारे छलफल भएको छ । ‘सबैको एउटै जोड हो छिटोभन्दा छिटो नेपालगन्जमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना हुनुपर्छ’, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘सहभागी सबैको एउटै जोड थियो नेपालगन्जमा सहकारी बैंकको शाखा स्थापना ढिलो गर्नु हुँदैन ।’


२०६८ साल बैशाखमा कोहलपुरमा सहकारी बैंकको शाखा स्थापना भैसकेको छ । शाखा सञ्चालनका लागि कम्तिमा १ सय वटा सहकारी संस्था आवश्यक पर्ने प्रावधान पूरा भैसकेको नेपालगन्जमा एक बर्षभित्रै सहकारी बैंक स्थापनाका लागि आफु लागि पर्ने सञ्चालक धितालले बताइन् । ‘सञ्चालक समितिले निर्णय पनि गरिसकेको छ’, धितालले नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाइसक्ने जानकारी दिंदै भनिन् ।


बाँकेमा झण्डै दुई अर्ब पूँजी सहकारीमा छ । ‘सहकारीको पैसा सहकारी बैंक भन्दा बाहिर जान नदिने प्रतिबद्धता जनाइएको छ’, सहकारीहरुको नेपालगन्ज नगर सञ्जालका संयोजक समेत रहेकी धितालले भनिन्, ‘अब हामी छिटो भन्दा छिटो सहकारी बैंकको शाखा स्थापना गर्छौ ।’
देशभरी ४४ शाखा बिस्तार भैसकेको राष्ट्रिय सहकारी बैंकमा १० हजार ७ सय सहकारी संस्था संगठित भैसकेका छन् । २० अर्ब निक्षेप, १६ अर्ब लगानी रहेको सहकारी बैंकमा १४ अर्ब ४३ करोड शेयर पूँजी रहेको सञ्चालक समिति सदस्य धितालले जानकारी दिइन् । बाँकेमा दुई अर्ब शेयर पूँजी रहेको सहकारी बैंकमा २९ अर्ब निक्षेप रहेकाले पनि सहकारीहरुको साझा बैंक नेपालगन्जमा नभई नहुने अवस्था आइसकेको जिल्ला सहकारी संघका अध्यक्ष सुवेदीको भनाइ छ । ‘सहकारी बैंक खुलेमा हामीहरुलाई कर्जा र तालिमको सहज उपलब्धता हुन्छ’, अध्यक्ष सुवेदीले भने ।


बुधबारको छलफलमा जिल्ला सहकारी संघका अध्यक्ष समेत रहेका कोहलपुर शाखा अध्यक्ष प्रेम सुवेदी, साना किसान कृषि सहकारी संघका केन्द्रीय सदस्य देब बहादुर बिसी, नेफ्सकुनका कार्यक्रम अधिकृत सन्दिप तिमिल्सिना, जिल्ला बचत संघका कार्यवाहक अध्यक्ष प्रकाश ज्ञवाली, पौरखी सहकारीका अध्यक्ष हरि प्रसाद तिमिल्सिना लगायतले सहकारी बैंकको आवश्यकता औंल्याएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया