नेपालगन्ज, २ जेठ । बाँकेको सबैभन्दा दुर्गम र पिछिडिएको राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ७ का बिपन्न २० परिवारलाई आयआर्जनका लागि साढे नौ लाख रुपैयाँको बाख्रा र कुखुराका चल्ला बितरण गरिएको छ ।
बिपन्न परिवारलाई आर्थिक रुपमा बलियो बनाउने उदेश्यले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ‘जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना’ अन्तर्गत कुखुरापालन र बाख्रापालनका लागि सो सहयोग प्रदान गरिएको हो ।
१२ विपन्न परिवारलाई कुखुरापालन सहायता अन्तर्गत प्रति परिवार सय वटा कुखुराका चल्ला, खोर निर्माणका लागि ५ थान जस्ता पाता, एक बण्डल जाली र पानी खानका लागि २ ड्रम र ५ बोरा दाना वितरण गरियो भने ८ परिवारलाई बाख्रापालनका लागि ५ वटा बाख्रा र २ थान जस्तापाता वितरण गरियो ।

कुखुरापालनका प्रति परिवार ४० हजार र बाख्रापालनका लागि प्रतिपरिवार ५५ हजार रुपैयाँ बराबरको कुखुराका चल्ला, बाख्रा, जस्तापाता र दानाको सहयोग प्रदान गरिएको हो ।
२० परिवारलाई सो बापत करिब साढे नौ लाख रुपैयाँको सहयोग प्रदान गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ७ मा विहिबार आयोजित एक कार्यक्रमका विच वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु, कतार च्यारेटीका प्रबन्धक ईर्शाद शेष र बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले विपन्न परिवारका सदस्यहरुलाई बाख्रा र कुखुराका चल्ला बितरण गर्नु भयो ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष थारुले गाउँका अति विपन्न परिवारलाई छनोट गरेर कुखुरापालन र बाख्रापालनका लागि यो सहयोग उपलब्ध गराईएको जनाउँदै यसबाट आर्थिक रुपमा बलियो हुने अवसर आएको बताउनु भयो ।
उहाँले यो सहयोगलाई सदुपयोग गरेर राम्ररी कुखुरापालन र बाख्रापालन गर्न सक्ने हो भने बिपन्नको आर्थिक अवस्था सुदृढ हुने विस्वास ब्यक्त गर्नुभयो । सोही अवसरमा बोल्दै कतार च्यारेटीका प्रबन्धक ईर्शाद शेषले कतार च्यारेटीले गत ६ महिनादेखि बाँके युनेस्को क्लबसंग सहकार्य गरेर जिल्लाका बिपन्न, अनाथ र अपांगता भएकाहरुलाई विभिन्न प्रकारले सहयोग गर्दै आएको बताउनु भयो ।

उहाँले कतार च्यारेटीको सानो सहयोगले शुरु गरेर आर्थिक रुपमा बलिया हुने संभावना रहेकोले गम्भीर भएर सहयोगलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।
सोही अवसरमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रुद्र सुवेदी, बाँके युनेस्को क्लबका वरिष्ठ कार्यक्रम संयोजक साजिद अली सिद्दिकी, क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान लगायतले सहयोगलाई सदुपयोग गरेर आर्थिक रुपमा सबल बन्नु पर्नेमा जोड दिएका थिए ।
कुखुरापालन र बाख्रापालनका लागि सहयोग पाउने अधिकांशले आफुहरुले यो सहयोगलाई सदुपयोग गरेर बढाउँदै लैजाने र आर्थिक रुपमा सक्षम हुने प्रतिक्रिया दिएका छन् ।
तस्विर पनि संलग्न छन् ।

