कोहलपुर : कुखुराको खोरमा बेकरी उद्योग

कुखुराको खोरमा बेकरी उद्योग संचालन गरिएको सुन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ । कोहलपुर नगरपालिकाले बुधबारदेखि सुरु गरेको बजार अनुगमनका क्रममा कुखुराको खोरमै अब्यवस्थित रुपमा बेकरी उद्योग संचालन गरेको पाईएको छ भने कतिपय उद्योगहरुले न्यूनतम मापदण्ड समेत पुरा नगरेको भेटियो ।


कोहलपुर नगरपालिकाको नेतृत्वमा बुधबार कोहलपुर नगर क्षेत्रभित्रका ६ वटा डेरी उद्योगमा अनुगमन गरिएको हो । अनुगमनकै क्रममा वडा नं. ११ स्थित पिपलचौतारा नजिकै रहेको विन्दवासिनी डेरी उद्योगले अब्यवस्थित रुपमै बेकरी उद्योग संचालन गर्दैै आएको भेटिएको हो । दुधजन्य पदार्थका अलावा बेकरी सामग्रीहरु समेत उत्पादन गर्दै आएको विन्दवासिनीले कुखुरा पाल्ने खोरलाई नै उद्योगमा रुपान्तरण गरेको अनुगमनले देखाएको छ । विन्दवासिनिका अलावा अधिकाशं डेरी उद्योगले न्यूनतम मापदण्ड पुरा नगरेको र एउटै काउण्टरबाट अन्य ब्यवसाय समेत संचालन गर्दै आएको अनुगमन समितिका संयोजक तथा कोहलपुर नगरपालिका आर्थिक विकाश शाखाका प्रमुख धन बहादुर खत्रीले जानकारी दिए । डेरी संचालकहरुलाई दुध तथा दुधजन्य सामग्रीको स्वच्छतामा विशेष ध्यान दिन अनुगमन टोलीले निर्देशन समेत दिएको खत्रीले बताए ।


अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिईने कोहलपुर नगरपालिका प्रशासन शाखा प्रमुख कर्ण बहादुर थापाले जानकारी दिए । दैनिक प्रयोगमा आउने खाद्य सामग्रीहरु र त्यसको अवस्थाका बारेमा क्रमशः अनुगमन गर्ने गरी तालिका तयार पारिएकाले हरेक दिन अनुगमनलाई निरन्तरता दिईने थापाले बताए । अनुगमनको पहिलोदिन केही डेरी उद्योगबाट अखाद्य तथा प्रतिवन्धित सामग्रीहरु समेत बरामत गरिएको थापाले जानकारी दिए ।


अनुगमनका क्रममा डेरी उद्योग संचालकहरुलाई ब्यक्तिगत सरसफाई तथा फ्रिजीङमा विशेष ध्यान दिनुका साथै दुधजन्य सामग्रीकालागि प्लाष्टिक क्यानको प्रयोग नगर्न समेत सुझाव दिईएको थियो ।


कोहलपुर नगरपालिकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, उद्योग वाणिज्य संघ, ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय, नगर पशु कार्यालय तथा पत्रकार महासंघ लगायत विधिन्न संघसंस्थाका प्रतिनिधि सहितको संयुक्त टोलीले बुधबारदेखि बजार अनुगमन सुरु गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया