तरकारीबाटै लाखौं कमाइ

निशु जोशी


सोमवार दिउसो २ बजे चर्को घाममा नेपालगन्ज – १ धम्बोझीमा महिलाहरु आफ्ना उत्पादन बेच्दै गरेको अवस्थामा भेटिए । कुरा गर्दै जाँदा थाह भयो, उनीहरु एक दिन बिराएर बर्दियाबाट नेपालगन्ज तरकारी बेच्न आउँछन् । बजारका भित्रि टोलका घरमा पुगेर तरकारी बेच्छन् । उनीहरु बिहान सबेरै घरबाट निस्कन्छन् । समुहमा निस्केका उनीहरु सबै तरकारी बेचेर साँझ मात्र घरतर्फ फर्कन्छन् । उनीहरुले बिहान घरबाट निस्कँदा रोटी र भात बोकेरै ल्याउने गरेका छन् ।


भोक लाग्दा कतै बसेर आफैंले ल्याएको खाना खान्छन् । खाना नबोकेको दिन होटेलमा खाजा नास्ता खान्छन् । दिनभरी घरघरमा पुगेर तरकारी बेच्छन् र साँझ मात्र घर फर्किन्छन् । यसरी उनीहरु टाउकोमा साग, सब्जी, फर्सी, आलु लौका लगायतका तरकारी नेपालगन्ज, खजुरा, कोहलपुर लगायतका बजारमा पुगेर बेच्छन् । उनीहरुले विगत ४–५ वर्षदेखि व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेका हुन् ।


रोजगारी नभएको भन्दै पछिल्लो समय थुप्रै युवाहरु विदेश पलायन भइरहेका छन् । तर बर्दियाका थारु समुदायका कतिपय महिलाहरुले घरमैं रोजगारीको सृजना गरेका छन् । घरमैं बार्षिक लाखौं कमाइरहेका उनीहरु तरकारीमैं लाखौं कमाउन सकिन्छ भन्ने उदाहरण बनेका हुन् ।


बर्दिया बढैयाताल वडा नं ६ भदैयाका थारु महिलाहरु घरमै व्यवसायिक रुपमा तरकारी उत्पादन गरी आत्मनिर्भरको बाटोमा छन् । परिवारको खर्च धान्ने देखि मासिक ३० देखि ३५ हजार रुपैयासम्म उनीहरुले कमाउने गरेका छन् ।


भदैयाकी मनरानी थारु करीब १ दशकसम्म कमैया थिइन् । मुक्त घोषित गरेर सरकार दिएको जग्गामा व्यवसायिक रुपले विगत ५ वर्षदेिख तरकारी खेती गरिरहेकी छिन् । ८ कट्ठा जग्गामा तरकारी खेती गरेर नै उनले ५ जनाको परिवार पालेकी छन् भने मासिक ३० देखि मासिक ३५ हजारसम्म कमाई हुने बताइन् । पहिला सानो सानो आवश्यक्तामा पनि ऋण लिनुपर्ने अवस्था रहेको सम्झँदै उनले भनिन्, ‘अहिले परिस्थिति बद्लिएको छ । छोराछोरीलाई पढाउने, घरखर्च चलाउने काम आफ्नै परिश्रमबाट पुरा भएको छ ।’


यतिमात्रै होइन उनले तरकारी बेचेरै गाउँमंै ४ कट्ठा जग्गा पनि किनिसकेको बताइन् । आजभोली उनको बारीमा धनीया, भिन्डी वोडी, आलु, लौका फलेका छन् । उनी आफ्नो बारीमा फलेका तरकारी र भएको कमाईबाट दंग छिन् । गत फागुनमा मात्र ६० क्विन्टल आलु उत्पादन गरेको उनले जानकारी दिइन् । ठुलो आलु विक्रीका लागी कोहलपुर पठाउने गरेको र सानो आलु घर घरमा पुगेर विक्री गर्ने गरेको उनको भनाइ छ । आफ्ना उत्पादन विक्री गर्न समुहमा बाँकेको कोहलपुर, खजुरा नेपालगन्ज लगायतका ठाँउमा जाने गरेको उनको भनाइ छ ।


थारु समुदायको लोकप्रिय आलु थारु आलु अहिले पछिल्लो समय कम पाइन थालेको छ । थारु आलु कम र सानो फल्ने भएकाले लोप हुँदै गएको उनको भनाइ छ । ‘कमैया बस्दा धेरै दुःख भोग्नुप¥यो तर आजभोली आफ्नै बारीमा काम गर्न थालेपछि धेरै खुसी छु,’ उनले भनिन् ।
साइकलमा गाँउबाट तरकारी बोकेर एक घण्टा पैदल हिडेर बाटोमा ल्याउने र गाडी चढेर नेपालगन्ज आउने गरेको उनीहरु बताउँछन् । उनीहरुले बसवालालाई एक थैला तरकारीको ५ देखि १० रुपैया भाडा तिर्ने गरेका छन् । आवतजावतमा एक सय रुपैया खर्च हुने भएपनि तरकारी बेचेर एक जनाले दैनिक १ हजार देखि २ हजार रुपैयासम्म कमाउने गरेका छन् ।
मनरानी जस्तै, अर्की ज्ञानी थारुले पनि ५ कट्ठामा तरकारी रोपेकी छिन् ।

वैशाखको सिजन भएकाले अहिले उनको बारीमा करेला, आलु, वोेडी, काक्रा, लौका भिन्डी रोपिएको छ । उनले पनि तरकारी खेती गरेरै ६ जनाको परिवार पालेको बताइन् । श्रीमानले पनि यस व्यवसायमा साथ दिएका छन् । श्रीमानले घरको काम हेर्ने र आफुहरु गाउँगाउँसम्मका घरघरमा पुगेर तरकारी विक्री गर्ने गरेको उनले बताइन् । बारीबाटै बेच्नु भन्दा यसरी घरघरमा तरकारी बेच्दा धेरै नाफा हुने उनको भनाइ छ ।


थारु महिलाहरुले अहिले फागुनमा उत्पादन गरेको आलु विक्री गरिरहेका छन् । लोप हँुदै गएको थारु आलु, विकासे आलुसंगै लौका, धनिया, करेला लगायतका तरकारी यो सिजनमा उत्पादन गरिरहेका छन् । थारु महिलाहरु तरकारी लिएर घरघरमा पुगेर बेच्ने गर्छन् भने उनीहरुका श्रीमानहरुले खेतवारी चार्ने, गोडमेल गर्ने काम गर्ने गरेका छन् । आफ्नो घरमा तरकारी नभएपछि बेच्न जाने मान्छे नभएको घरबाट तरकारी खरीद गरेर समेत विक्री गर्ने गरेको उनिहरु बताउँछन् । स्थानीयले थारुले उत्पादन गर्ने गरेका तरकारी अर्गानिक हुने भएकाले मन पराउने गरेको बताएका छन् । विषादिरहित तरकारी उत्पादन गर्ने गरेकाले आफ्नो तरकारी सहजै विक्री हुने गरेको उनीहरु बताउछन् ।


रामपति थारुले पनि ५ कट्ठामा तरकारी खेती गरेकी छिन् । सिजनमा बेसिजन गरि दुबै समयमा व्यवसायिक रुपले तरकारी खेती गरिरहेको उनको भनाइ छ । यो वर्ष मात्रै उनले ३० क्वीन्टल आलु उत्पादन गरिन् । गाउँमा ५ देखि १० रुपैयामा आलु बेच्नुपर्नेमा घरघरमा पुग्दा २० रुपैया देखि २५ रुपैयासम्म विक्री गर्ने गरिएको उनले बताइन् । उनले पनि तरकारी खेती गरेरै ४ जनाको परिवार पालेको बताइन् । यसअघि खाली बस्ने उनि आजभोली तरकारी बारीमै व्यस्त हुने गर्छिन् । काम गर्न थालेपछि पैसा पनि आउन थालेको र जीवन चलाउन सहज भएकोमा उनि पनि दंग छिन् । घरखर्च सहज रुपमा चल्नुका साथै छोराछोरीलाई पढाउन सहज भएको उनले बताइन् ।


अहिले बर्दियाको बढैयाताल वडा नं ६ मा करीव ३० जना महिलाहरुले समुहमा आवद्ध भएर तरकारी खेती गरिरहेका छन् । उनीहरुले तरकारी बेचेरै एकजनाले मात्र मासिक ३० हजारदेखि ३५ हजार रुपैयासम्म आम्दानी गर्ने गरेका छन् । घरको हेरचाह, तरकारी गोडमेलको काम श्रीमानले गर्छन् । महिलाहरुले तरकारी बेच्न घरघर जान्छन् । आफ्नो घरमा तरकारी नभएको समयमा छिमेकीको घरबाट खरीद गरेर विक्री गर्ने गरेको उनिहरुले बताए । उनिहरुले सस्तोमा खरीद गर्ने र बजारसम्म ल्याएर बेच्ने गरेको पनि बताए ।

प्रतिक्रिया

प्रतिक्रिया