नेपालगन्ज विमानस्थललाई सुरक्षा मापदण्ड सहित ‘एरोड्रोम सर्टिफिकेट’

नेपालगन्ज विमानस्थल स्थापनाको झण्डै ४० बर्षपछि सुरक्षा सुनिश्चितता सहितको ‘एरोड्रोम सर्टिफिकेट’ प्रदान गरिएको छ । सोमबार औपचारिक कार्यक्रम बीच नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।


यसरी ‘एरोड्रोम सर्टिफिकेट’ प्राप्त गर्ने डोमेस्टिक एयरपोर्टमा नेपालगन्ज दोस्रो हो । अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि अपरिहार्य रहेको उक्त सर्टिफिकेट काठमाडौं बाहिर दुई बर्ष अघि विराटनगर विमानस्थललाई प्रदान गरिएको थियो ।
दुई बर्षभित्र एक सय २५ वटा मापदण्ड पुरा गरी अन्तर्राष्ट्रिय मापदण्डको सुरक्षा सुनिश्चितताको विमानस्थल सूचिमा पर्ने शुभकामना सहित महानिर्देशक गौतमले प्रमाणपत्र प्रदान गरे । ‘मापदण्ड अनुसारका सुरक्षा बाधकहरुलाई पूरा गर्न नसके प्रमाणपत्र खोसिन सक्छ’, महानिर्देशक गौतमले दिनेले खोस्न पनि सक्ने चेतावनी दिंदै भने, ‘विमानस्थलको स्तरोन्नतीका दृष्टिले यो महत्वपूर्ण कदम हो ।’


नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन गुरुयोजना बनाइरहँदा ‘एरोड्रोम सर्टिफिकेट’ महत्वपूर्ण खुड्किलो भएको नेपाल नागरिक उड्डयन प्राधिकरण एरोडम सेफ्टी स्टयाण्डर्ड डिपार्टमेन्टका डाइरेक्टर सुनिल भट्टराईको भनाइ छ । ‘आइकाओले निर्धारण गरेको १९ वटा निर्देशन मध्ये १४ औं नम्बरको प्रावधानबाट हामी नेपालगन्ज विमानस्थललाई निर्देशित गरेका हौं’, भट्टराईले भने, ‘यसबाट नेपालगन्ज विमानस्थलको विश्वसनियता विश्वव्यापी रुपमा सुनिश्चित हुन्छ ।’


वि.सं. २०३७ सालमा स्थापना भएको नेपालगन्ज विमानस्थलका कतिपय पूर्वाधारहरु सुधार गर्ने निर्देशन उक्त प्रमाणपत्रले निर्देशित गरेको छ । ‘१ सय २५ मध्ये २५ वटा सुधार त हाम्रो उपस्थितिमा भैसकेका छन्’, पुरानै सुविधा र सुरक्षा प्रणालीमा सञ्चालित नेपालगन्ज विमानस्थललाई युग सुहाउँदो प्रविधि र पूर्वाधारसँग जोड्दै अगाडि बढ्न खोजिएको विमानस्थल प्रमुख ठाकुरको भनाइ छ ।


‘सय वटा मध्ये पनि प्रत्येक ६ महिनामा हुने प्राधिकरणको अडिटमा प्रगति हुनेगरी काम अगाडि बढाउँछौं’, विमानस्थल प्रमुख ठाकुरले एक बर्ष अघि नै प्रमाणपत्रका लागि योग्यता पुगेको निवेदनका आधारमा निरन्तरको अध्ययन अवलोकनपछि प्राधिकरणले प्रमाणपत्र प्रदान गरेकोमा खुशी व्यक्त गर्दै भने । ‘अबका सय वटा बाधक पनि हटाउँदै दुई बर्षभित्र आइकाओको सुरक्षा मापदण्डभित्र पुग्छौं’, ठाकुरले भने ।


कतिपय पूर्वाधारहरुका लागि भने नेपालगन्ज विमानस्थलले पाँच बर्षको समय माग गरेको छ । खासगरी रनवे बाहिरको ठाउँ सुरक्षाका लागि विमानस्थल बिस्तार योजना सँगै काम अगाडि बढाउने योजना रहेकाले समयमा गरिएको हो । ‘जग्गा अधिग्रहण कार्य अगाडि बढेसँगै कतिपय कामहरु हुन्छन्’, नेपालगन्ज विमानस्थल प्रमुख ठाकुरले भने ।


नेपालगन्ज विमानस्थलबाट राजधानी काठमाडौं ओहोरदोहोर बाहेक मुलुकमै सबैभन्दा बढी आन्तरिक उडान हुने गर्छ । बझाङ, बाजुरा, हुम्ला, डोल्पा, जुम्ला, रुकुम, मुगु लगायतका ठाउँमा दैनिक उडान भरिने नेपालगन्जबाट दैनिक ४० वटासम्म जहाज ओहोरोहोर हुने गरेको छ । ‘दैनिक ३० वटा नियमित जस्तै उडान हुने गर्दछ’, विमानस्थल प्रमुख ठाकुरले विमानस्थलको स्तरोन्नतीका लागि निरन्तर काम भैरहेको जानकारी दिंदै भने, ‘तोकिएका मापदण्डहरु दुई बर्षभित्रै पूरा गर्न हामी सफल हुन्छौं ।’


कार्यक्रममा उपस्थित प्राधिकरणका उच्च अधिकारीहरुले अन्तर्राष्ट्रिय विमानस्थलका लागि पछिल्लो प्राधिकरणबाट प्राप्त एरोड्रोम सर्टिफिकेटले सकारात्मक सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

पर्यटक स्वागतको तयारी

नेपालगन्ज विमानस्थलमा यस बर्षको पर्यटकीय मौसम नजिकिंदै गर्दा विभिन्न पूर्वाधारहरुको तयारी अगाडि बढाइएको छ । नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल प्रमुख प्रेम नाथ ठाकुरले खासगरी मानसरोवरका यात्रुहरुलाई लक्षित गर्दै विभिन्न तयारीहरु गरिएको जानकारी दिए ।


‘एयरलाइन्सहरुलाई बोलाएर जहाज थप्न भनेको छु’, विमानस्थल प्रमुख ठाकुरले यात्रु बढ्ने, जहाज घट्ने अवस्थाले चाप बढेको जानकारी दिंदै भने, ‘यात्रुहरुलाई उडानको तम्तयार अवस्थामा मात्रै विमानस्थल ल्याउन पनि आग्रह गरिएको छ ।’


आगामी दुई साताभित्रै मानसरोवरका लागि धार्मिक पर्यटकहरुको चाप बढ्ने सम्भावना औंल्याउँदै सुविधा सम्पन्न यात्रु प्रतिक्षालय निर्माण कार्य भैरहेको प्राधिकरणले जनाएको छ । ‘ठेकेदारको बदमासीले समयमा काम हुन सकेको छैन’, विमानस्थल प्रमुख ठाकुरले भने, ‘तर असार भित्रै काम सक्नलाई आवश्यक निर्देशन दिइएको छ ।’


मानसरोवरका लागि नेपालगन्जमा जहाज र हिल्सामा हेलिकप्टर व्यवस्थापन गर्ने काममा एयरलाइन्स कम्पनीहरु तम्तयार भैसकेको नेपालगन्ज विमानस्थल प्रमुख ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया