माओवादी पोलिटब्यूरो सदस्य बम पक्राउ

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि सम्बन्धित दलका नेता तथा कार्यकर्ता माथि निगरानी बढाएको छ । पछिल्लो समय देशभर विप्लव निकट नेता तथा कार्यकर्ता समातिएका छन् भने केहीले प्रहरी, प्रशासन समक्ष पार्टी छोडेको घोषणा समेत गरेका छन् ।

बाँकेमा पनि प्रहरीले विप्लव निकट नेकपाका नेता कार्यकर्ताहरुमाथि निगरानी गरिरहेको छन् । त्यसक्रममा केहीलाई समातेर छाडेको प्रहरीले केहीमाथि भने पुराना मुद्दामा अदालती कारवाही समेत गरेको छ ।


सोही क्रममा इलाका प्रहरी कार्यालय कोहलपुरले विप्लव निकट नेकपामा एक केन्द्रीय नेता सहित दुई जनालाई बुधबार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले पोलिटब्यूरो सदस्य भरत बमलाई नियन्त्रणमा जानकारी दिएको छ । उनीसँग एक थान प्रेसर कुकर बम समेत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंहले जानकारी दिएका छन् ।


‘गनापुरबाट पोलिटब्यूरो सदस्य बम र कालिकोट जनपरिषद् प्रमुख बताउने सत्य बहादुर शाहीलाई नियन्त्रणमा लिएका हौं’, प्रहरी नायब उपरीक्षक सिंहले भने, ‘उनीहरुबारे थप अनुसन्धान गरिरहेको छ ।’ दुई महिना अघि सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि सयौं नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसकेको छ ।


यसअघि इलाका प्रहरी कार्यालय कोहलपुर जिल्ला प्रशासन कार्यालय बाँकेको परिसरबाटै विप्लव निकट नेकपाका नेता दान बहादुर फडेरालाई पक्राउ गरेको थियो । बाँके जिल्ला अदालतबाट विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा साधा तारेखमा छुटेका फडेरा पुनः पक्राउ पर्ने डरले दुई दिन मानवअधिकार आयोग नेपालगन्जमा समेत बसेका थिए । आयोगले जिल्ला प्रशासन कार्यालय र प्रशासनले परिवारलाई बुझाए लगत्तै प्रशासन परिसरबाट फडेरा पक्राउ परेका थिए । उनलाई कैलालीमा रहेको अर्को मुद्दामा अदालत हाजिर गराउनका लागि कोहलपुर प्रहरी नियन्त्रणमा लिइ पठाएको बताइएको थियो ।


जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सरकारले प्रतिबन्ध लगाएपछि बाँकेमा ५ जना विप्लव निकट नेकपामा नेता तथा कार्यकर्ताले आत्मसमर्पण गरिसकेका छन् भने ७ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया