१६ दिनमा बाँके प्रशासनबाटै आठ सय नागरिकता बाँडियो

गृह मन्त्रालयको पछिल्लो सर्कुलर पछि मात्रै १६ दिनमा जिल्ला प्रशासन कार्यालय बाँकेबाट झण्डै ८ सय नागरिकता वितरण गरिएको छ । इलाका प्रशासन कार्यालय नरैनापुर र कोहलपुरको तथ्यांक बाहेक अस्वाभाविक ढंगले भीड लागेको जिल्ला प्रशासन कार्यालयबाट मात्रै पछिल्लो १६ दिनमा ७ सय ९२ वटा नागरिकता वितरण भएको हो । सयौं निवेदन परेको प्रशासनमा छानबिनका आधारमा एक साता लगाएर नागरिकता बाँडिदै आएको छ ।


‘मंगलबार मात्रै १ सय १ वटा नागरिकता वितरण भएको छ’, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नरैनापुर र कोहलपुरको तथ्यांक बाहेक ७ सय ९२ वटा नयाँ नागरिकता वितरण भएको जानकारी दिंदै भने, ‘सकेसम्म प्रमाणका आधारमा मात्र नागरिकता वितरण गरिएको हो ।’

गत चैत २० गतेदेखि बैशाख २० गते सम्मको अवधीमा जिल्ला प्रशासन कार्यालय बाँकेबाट मात्रै ७ सय ९२ जनाले वंशजको नागरिकता पाएका हुन् । गत चैत १९ गते गृहमन्त्रालयले जन्मसिद्ध नागरिकता पाएका बुबा आमाका सन्तानलाई नागरिकता वितरण गर्न परिपत्र गरेपछि चैत २० गतेबाट सुरु भएको थियो । तर सर्वोच्च अदालतको आदेश पछि ८ दिन (चैत २६ गतेदेखि वैशाख ३ गते सम्म) नागरिकता वितरण रोकिएको थियो ।

वैशाख ३ गते सर्वोच्चकै आदेशबाट नागरिकता वितरण खुला भएपछि वैशाख ४ गतेदेखि नागरिकता वितरण सुरु भयो । ‘चैत्र २० गतेदेखि त्यसखालको नागरिकता खुला गरिएको थियो’, प्रजिअ भुजेलले भने, ‘अर्को निर्णय नआउँदासम्म त्यसखालको नागरिकता वितरण कार्य बन्द गरिएको छ ।’


चैत २० गतेदेखि वैशाख २० गते सम्म ६ दिन सार्वजनिक विदा र सर्वाेच्चको आदेशले रोकिएको ८ दिन कटौती गर्दा १६ दिन मात्र नागरिकता वितरण भएको थियो । जिल्ला प्रशासन कार्यालयबाट १६ दिनको अवधीमा ७ सय ९२ जनाले नागरिकता लिएका हुन् । ‘सरदर ३० जनाले दैनिक नागरिकता लिने कार्य यसअघि पनि हुने गरेको छ’, प्रजिअ भुजेलले भने, ‘बन्द भैहाल्छ कि भन्ने आशंकाले होला यसबीच निकै भीड लाग्यो ।’

प्रजिअ भुजेलका अनुसार, प्राप्त निवेदनका आधारमा नागरिकताका लागि टोकन वितरण भइसकेको छ । नागरिकता बनाउन आउनेको भीडलाई व्यवस्थापन गर्न प्रशासनले टोकन सिस्टम लागु गरेको हो । ‘अब कसरी जाने भन्ने प्राप्त आदेशका आधारमा टुङ्गो लाग्छ’, प्रजिअ भुजेलले भने ।

गृह मन्त्रालयको पछिल्लो सर्कुलरले निकै विवाद चर्चा बटुलेको थियो । गृहको निर्देशनले भारतीयलाई नागरिकता वितरण भयो भन्दै सामाजिक सञ्जालमा आलोचना पनि भैरहेको छ । यद्यपि, प्रमाणका आधारमा नेपाली नागरिकलाई मात्र नागरिकता दिने कुरामा आफुहरु प्रतिबद्ध रहेको प्रजिअ भुजेलको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया